प्रवासी नेपाली एकता मञ्च : न्युयोर्क र टेक्सासमा रक्तदान, रौतहटमा आइसोलेसनमा सहयोग


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

प्रवासी नेपाली एकता मञ्च अमेरिकाले रौतहट जिल्लाको आइसोलेसन वा क्वारेन्टीनका लागि दुइ हजार डलर दिने भएको छ । त्यहाँको स्थानीय जनप्रतिनिधिहरुसँगको समन्वयमा खर्च हुने गरेर उक्त रकम दिने निर्णय गरिएको हो ।

कोरोनाको महामारीमा अमेरिकामा रहेका नेपालीलाई उल्लेख्य सहयोग गरिरहेको मञ्चले अहिलेका लागि नेपालका बढी प्रभावित स्थानमा सहयोग गर्ने भएको छ । यसका लागि मञ्चको बैठकले संगठनका कोषाध्यक्ष युवराज खनाललाई संयोजकत्वमा सोमेद्र रञ्‍जित र सरिता चौलागाईं रहेको कमिटि बनाएको छ ।

यसैबीच महामारीको दौरान हुनसक्ने रगत अभाव र त्यसको प्रभाव समेतलाइ विचार गरेर मञ्चले जुन २८ तारिख न्युयोर्क र टेक्सासमा एकै दिन रक्तदान कार्यक्रम आयोजना गर्दैछ । न्युयोर्कमा संस्थाका केन्द्रिय सदस्य कृष्ण आचार्यको संयोजकत्वमा र टेक्सासमा संस्थाका केन्द्रिय सदस्य सुशील क्षेत्रीको संयोजकत्वमा रक्तदान गरिने भएको छ ।

त्यस दिन रक्तदान गरेर थुप्रैलाइ जीवनदान दिने काममा सहभागी हुन संस्थाले आव्हान गरेको छ । ४ महिना अगाडिमात्र औपचारिक रुपमा समिति बनाएको प्रवासी नेपाली एकता मञ्च अमेरिकाले कोरोनाको महामारीका बेला अमेरिकामा रहेका नेपाली विद्यार्थीहरुलाई खाद्यान्न प्रदान गर्ने लगायत उल्लेख्य सहयोग गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com