शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको  ८९ वर्षको उमेरमा निधन भएको छ । उनको काठमाडौँको महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । काठमाडौँका डिल्लीबजारमा विसं १९८८ असारको हरिशयनी एकादशीमा जन्मनुभएका जोशीको काठमाडौँस्थित पद्मकन्या क्याम्पस स्थापना गर्नमा प्रमुख योगदान रहेको छ ।

आणविक वैज्ञानिक डा.बलराम जोशीसँग विवाह गर्नुभएकी उनका दुई छोरी र एक छोरा रहेका छन् । जोशीले बनारसबाट राजनीति र संस्कृत शिक्षा तथा बेलायतबाट उच्च शिक्षा हासिल गरेकी थिइन् ।

जोशीको साहित्यमा समेत रुचि थियो । विसं २०३२ सालमा ‘कथासङ्ग्रह’ निस्किएको छ । उनको उत्कृष्ट प्रकाशन प्रालिले विसं २०७४ वैशाखमा ‘अक्षर साधना र गोँधुली साँझ’ भन्ने आत्मकथासमेत प्रकाशन गरेको त्यसका अध्यक्ष हरिप्रसाद रिमालले जानकारी दिए ।

जोशीको लगाम सामाजिक र शिक्षा क्षेत्रमा बढी रहेको थियो । आध्यात्मिक चिन्तक जोशीले युवराज्ञी हुँदा पूर्व रानी ऐश्वर्यलाई पढाउनुभएको रिमालले बताए । तारागाउँ विकास समिति खडा गर्नमा उनको महत्वपूर्ण योगदान छ । उनी पहिलो महिला क्याम्पस प्रमुख समेत हुन् ।

रिमालका अनुसार उनले नेपाली नारीलाई शिक्षाको उज्यालो छर्न अथक प्रयास गरेकी छिन् । विकृति–विसङ्गति हटाई आध्यात्मिक चेतना जगाउन उनले भूमिका खेलेकी छिन् । शनिबार उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com