नेपालमा रहेका अमेरिकनलाई सरकार विरोधी प्रदर्शनमा सहभागी नहुन अमेरिकी दूतावासको सुचना


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

नेपालमा रहेका अमेरिकनहरुलाई सरकारविरोधी प्रदर्शनमा सहभागी नहुन अमेरिकी दूतवास काठमाडौंले सुचना जारी गरेको छ । सरकारबिरुद्ध काठमाडौंमा भएको प्रदर्शनमा अमेरिकी नागरिकसमेत पक्राउ परेपछि अमेरिकी दूतावास काठमाडौंले यस्तो अलर्ट जारी गरेको हो ।

नेपाल सरकारको नीतिबिरुद्ध विदेशी नागरिक प्रदर्शनमा उत्रनु असंवैधानिक र गैरकानुनी रहेकाले त्यस्ता प्रदर्शनमा सहभागी नहुन अमेरिकी नागरिकहरुलाई स्मरण गराइएको छ । यदि त्यस्तो प्रदर्शनमा सहभागी भएमा पक्राउ पर्नेदेखि जरिवाना र देशनिकाला समेत हुनसक्ने भएकाले अमेरिकी नागरिकहरुलाई प्रदर्शनस्थल आसपासमा नजान सुझाव दिइएको छ ।

यसैबीच सरकारविरुद्ध प्रदर्शनमा उत्रेका पाँच विदेशी नागरिकलाई अध्यागमन विभागले २ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासनको निर्णय गरेको छ। लकडाउन खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिएर २ वर्षका लागि नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन गरिने भएको छ ।

माइतीघरबाट पक्राउ परेका ६ जना विदेशीमध्ये एकजना नेपाली नागरिकसँग विवाह गरी वैवाहिक भिसा लिएका कारण उनलाई भने पाँच हजार जरिवाना मात्र गरिएको छ ।

‘ईई–१७६४४१०’ राहदानी बाहक ४० वर्षीय महिला क्वीन लि, ‘ई–र०६३६१०३६’ राहदानी बाहक २६ वर्षीय लिउ सु र ‘ई–१७३५४८९३’राहदानी बाहक ३० वर्षीय यानन जिया गरी तीन चिनियाँ नागरिक पक्राउ परेका थिए।

यस्तै अस्ट्रेलियन नागरिक ‘सी–४–एन–१२१–जेडजेएम’ राहदानी बाहक २४ वर्षीय कलानी गाकोन, ‘५६१२७२२२२’ राहदानी बाहक ३२ वर्षीय अमेरिकी नागरिक स्टेफनी एन्थम्सन र ‘३४१३४०१४’ राहदानी बाहक ३१ वर्षीय नर्वेजियन महिला मरिता लेभरोद पक्राउ परेका थिए।

नर्वेजियन नागरिक मरिता लेभरोदलाई ५ हजार जरिवाना मात्रै गराइएको छ। बाँकी ५ जनामध्ये तीन चिनियाँ र एक अमेरिकी नागरिकलाई १० हजार जरिवाना र २ वर्ष नेपाल प्रवेशमा रोक लगाइएको छ।

अस्ट्रेलियन नागरिक कलानी गाकोनलाई भने २ वर्ष नेपाल प्रवेश गर्न रोक लगाउनुका साथै २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

सरकारविरुद्ध प्लाकार्डसहित प्रदर्शनमा सहभागी भएका उनीहरुलाई प्रहरीले पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com