सेल्फ इम्प्लोयडलाई पीपीपी ऋण पूर्णरुपमा मिनाहा, ईआईडीएल ऋणका लागि पुन आवेदन


प्रकाशित मिति : असार ३, २०७७ बुधबार

अमेरिकामा कोरानाको महामारीका कारण सेल्फ इम्प्लोयड वा स्वन्तत्र कामदारहरुले लिएको पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको ऋण पूर्णरुपमा मिनाहा गरिने भएको छ । एसबीएले १९ औं अन्तरिम अन्तिम नियम फाइल गर्दै पीपीपी ऋणबारे थप स्पष्ट पारेको छ । यो नियम शुक्रबार प्रकाशित हुनेछ ।

सेल्फ इम्प्लोयड, फ्रिल्यानसर र स्वतन्त्र ठेकेदारहरुले आफ्नो सन् २०१९ को मासिक आम्दानीको साढेदुई गुणा पीपीपी रकम लिएको भएमा उक्त रकम सम्पूर्ण रुपमा मिनाहा गरिने भएको छ । जुन ५ मा ल्याइएको पीपीपी लचकता ऐनले गरेको व्यवस्था अनुरुप नियममा परिमार्जन गरिएको हो ।

जुन ५ मा ल्याइएको ऐन अन्तरगत  ऋणको परिपक्वता अपधि २ बर्षबाट बढाएर ५ बर्ष बनाइएको छ । ऋणदाता र ऋणलिनेबीच सहमति भएको खण्डमा जुन ५ भन्दा अगाडिको ऋणको पनि परिपक्वता अवधि बढाउन सकिनेछ ।

ऐनले ऋण मिनाहाका लागि ८ हप्ताभित्र रकम खर्च गरिसकेको हुनुपर्ने प्रावधानलाई बढाएर २४ हप्ता बनाएको छ । तर जुन ५ भन्दा अगाडि ऋण लिएकाहरुले आठ हप्ताको अवधि छनौट गर्नसमेत सक्नेछन् ।

त्यस्तै ६० प्रतिशत रकम पेरोलमा प्रयोग गरेमा ऋण मिनाहा हुने प्रावधान ऐनले ल्याएको छ । त्यसअगाडि ७५ प्रतिशत रकम पेरोलमा प्रयोग हुनुपर्ने प्रावधान रहेको थियो ।

एसबीएले ऋण आवेदनका लागि दुईप्रकारका आवेदनको समेत व्यवस्था गरेको छ । एउटा पूर्ण ऋण आवेदन र अर्को नयाँ ईजी भर्सन समेत सुरुवात गरिएको छ ।

कामदार नभएका सेल्फ इम्प्लोयडहरुका लागि ईजी भर्सन प्रयोग गर्नसकिनेछ । त्यस्तै कामदारको तलब २५ प्रतिशत भन्दा नघटाएका वा कामदारको कामको समय नघटाएकाहरुले पनि ईजी भर्सन प्रयोग गर्न सक्नेछन् । त्यस्तै कोरोनाका कारण ब्यापारिक गतिविधि घटेका तर कामदारको तलब २५ प्रतिशत भन्दा नघटाएकाले पनि यो भर्सन प्रयोग गर्न सक्छन् ।

यसैबीच एसबीएले सोमबारदेखि इकोनोमिक इन्जुरी डिसास्टर लोन ईआईडीएल आवेदन सबै प्रकारका विजनेशहरुका लागि पुन खोलेको छ । यदि तपाईले अझै पनि यो ऋण लिन चाहिरहनुभएको छ भने तपाईका लागि यो अर्को श्रोत हुनसक्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com