‘प्रधानमन्त्रीज्यू महामारीलाई गम्भीरतापूर्वक लिनुस्’ : जनसम्पर्क समिति अमेरिका


प्रकाशित मिति : असार ३, २०७७ बुधबार

जनसम्पर्क समिति अमेरिकाले महावाणिज्यदूतावास न्युयोर्क मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । समितिका सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईलाई ज्ञापन पत्र हस्तान्तरण गरेको हो ।

नेपाल सरकार समक्ष कोरोना नियन्त्रणका लागि ठोस र प्रभावकारी कदम चाल्न आग्रह ज्ञापन पत्र पेश गरिएको हो । अमेरिकामा मात्र महामारीका कारण १८ जना नेपाली दाजुभाईले ज्यान गुमाउनु भएको उल्लेख गर्दै यस्तो अवस्थामा आफ्ना नागरिकप्रति संवेदनशील हुनुपर्ने र सकेको सहयोग गर्नुपर्ने नेपाल सरकारको प्रतिनिधित्व गर्ने नेपाली राजदूतावास र महावाणिज्य दूतावासको दायित्व रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ – ‘तर यी निकाय आम नेपालीले भोग्नुपरेको यस्तो गम्भीर समस्या र चुनौतीप्रति बेखबर रहे। यस अर्थमा प्रवासी नेपालीहरुले आफुहरु राज्यविहीन र सरकारविहीन भएको महसुस गर्नुपरेको छ। रेमिट्यान्स चल्ने,आर्थिक सहयोग चल्ने तर समस्यामा परेका आफुहरुलाई सहयोग गर्ने सरकारी निकाय चाहिं बेखबर हुने पीडा भोगेको तथ्यप्रति प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।’

यसका साथै निश्चित समयका लागि विदेशमा आएका नेपाली आमाबुवा र दाजुभाईहरु एवं भीसा र आवश्यक औषधी सकिएर स्वदेश फर्कन समेत नपाएका नेपालीहरुको समस्या सुन्ने निकाय कानमा तेल हालेर बसेको ज्ञापनपत्रमा आरोप लगाइएको छ । ज्ञापनपत्रमा भनिएको छ – ‘आफ्नो पैसा खर्च गरेर यो संकटको घडीमा आफ्नो मातृभूमि फर्कन्छौं,हामीलाई उद्धार गरिदेउ सरकार भनेर आग्रह गर्ने नेपालीहरुको आवाज र अनुनयलाई सरकारले तत्काल यथोचित प्रवन्ध गरेर उद्धार गर्नुपर्ने अवस्था छ।’

यसतर्फ सरकारबाट ठोस पहल नहुँदा हजारौं नेपाली विदेशी भूमिमा अलपत्र परेको अवस्थातर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै तत्काल उद्धार गरी विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जोडदार माग गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ – ‘प्रधानमन्त्रीज्यू, तपाईं नेतृत्वको सरकारको अभिव्यक्ति,कार्यशैली र कोरोना नियन्त्रणका लागि भैरहेको पहल हेर्दा लाग्छ, हामी जस्ता लाखौँ नेपालीहरु सरकारको भरोसा गर्न सक्ने स्थितिमा छैनन्। तपाईंहरु यो महामारीलाई गम्भीरतापूर्वक लिईरहनु भएको छैन जसले विश्वलाई तहसनहस बनाइसकेको अवस्था छ। यो स्थितिलाई एकपटक गम्भीरतापूर्वक सोच्न पनि हामी तपाईंको ध्यानाकर्षण गराउन चाहन्छौं।’

पूर्ण पाठ

मिति: जुन १६, २०२०

श्री सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार।

मार्फत: नेपाली महावाणिज्य दूतावासको कार्यालय,न्यूयोर्क,अमेरिका।

सम्माननीय प्रधानमन्त्रीज्यू, हाम्रो मातृपार्टी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०७७ जेठ २६ गते बसेको बैठकले नेपालमा कोभिड १९ को महामारी, त्यसबाट उत्पन्न परिस्थिति, तत्कालिन एवं दीर्घकालिन प्रभाव र नेपाल सरकारको भूमिका र तत्काल गर्नुपर्ने कार्य बारे गहन छलफल गरि महत्वपूर्ण निर्णयहरु गरेको छ । सोही बैठकको निर्णय अनुसार नेपाल सरकारको ध्यानाकर्षणका लागि पार्टीका सबै तह र तप्काबाट एक ज्ञापन पत्र पेश गर्ने निर्णय भए अनुसार नेपाल सरकार समक्ष कोरोना नियन्त्रणका लागि ठोस र प्रभावकारी कदम चाल्न आग्रह गर्दै यो ज्ञापन पत्र पेश गर्दछौं। अहिले विश्व नै कोरोना महामारीको चपेटामा छ। जसका कारण विश्वभर छरिएर रहेका हामी नेपालीहरु पनि उत्तिकै प्रताडित छौं। अमेरिकामा मात्र यो महामारीका कारण १८ जना नेपाली दाजुभाईले आफ्नो ज्यान गुमाउनु भएको छ।

धेरै नेपालीहरु कोरोना संक्रमणबाट पीडित भै सकुशल उपचारपछि घर फर्कनु भएको छ। हाम्रो नेपाली समुदायका हजारौं दाजुभाई तथा दिदीबहिनीहरुले रोजगारी गुमाउनु भएको छ। विद्यार्थी भीसामा रहेका भाईबहिनीहरुको दैनिक जीवन यापन कष्टप्रद बन्दै गएको छ। प्रवासी भूमिमा झेलिने सबैखाले समस्याले अहिले एकैपटक हामी नेपालीहरुलाई पीडित बनाएको छ। लकडाउनका कारण घरभित्रै बस्नुपर्ने र कोभिड-१९ बाट सुरक्षित रहनुपर्ने भएका कारण कतिपय नेपाली समुदायका सदस्यहरुलाई मानसिक समस्या समेत देखिएको छ।

यस्तो अवस्थामा आफ्ना नागरिकप्रति संवेदनशील हुनुपर्ने र सकेको सहयोग गर्नुपर्ने नेपाल सरकारको प्रतिनिधित्व गर्ने नेपाली राजदूतावास र महावाणिज्य दूतावासको दायित्व हो। तर यी निकाय आम नेपालीले भोग्नुपरेको यस्तो गम्भीर समस्या र चुनौतीप्रति बेखबर रहे। यस अर्थमा प्रवासी नेपालीहरुले आफुहरु राज्यविहीन/सरकारविहीन भएको महसुस गर्नुपरेको छ।

रेमिट्यान्स चल्ने,आर्थिक सहयोग चल्ने तर समस्यामा परेका आफुहरुलाई सहयोग गर्ने सरकारी निकाय चाहिं बेखबर हुने पीडा भोगेको तथ्यप्रति प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं। यसका साथै निश्चित समयका लागि विदेशमा आएका (पारिवारिक,व्यापारिक वा अन्य भ्रमण) नेपाली आमाबुवा र दाजुभाईहरु एवं भीसा र आवश्यक औषधी सकिएर स्वदेश फर्कन समेत नपाएका नेपालीहरुको समस्या सुन्ने निकाय कानमा तेल हालेर बसेको अवस्था छ। आफ्नो पैसा खर्च गरेर यो संकटको घडीमा आफ्नो मातृभूमि फर्कन्छौं,हामीलाई उद्धार गरिदेउ सरकार भनेर आग्रह गर्ने नेपालीहरुको आवाज र अनुनयलाई सरकारले तत्काल यथोचित प्रवन्ध गरेर उद्धार गर्नुपर्ने अवस्था छ। तर यसतर्फ तपाईं नेतृत्वको सरकारबाट ठोस पहल नहुँदा हजारौं नेपाली विदेशी भूमिमा अलपत्र परेको अवस्थातर्फ हामी प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउदै तत्काल उद्धार गरी विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जोडदार माग गर्दछौं।

प्रधानमन्त्रीज्यू,संकटमा परेका आफ्ना नागरिकलाई राज्य छ,राज्यले अभिभावकत्व ग्रहण गर्छ र हामीलाई संकटबाट पार लगाउँछ भन्ने विश्वास दिलाउनुपर्ने चुनौती तपाईं सामु छ। तर तपाईं र तपाईं नेतृत्वको सरकारको अभिव्यक्ति,कार्यशैली र कोरोना नियन्त्रणका लागि भैरहेको पहल हेर्दा लाग्छ, हामी जस्ता लाखौँ नेपालीहरु सरकारको भरोसा गर्न सक्ने स्थितिमा छैनन्। तपाईंहरु यो महामारीलाई गम्भीरतापूर्वक लिईरहनु भएको छैन जसले विश्वलाई तहसनहस बनाइसकेको अवस्था छ। यो स्थितिलाई एकपटक गम्भीरतापूर्वक सोच्न पनि हामी तपाईंको ध्यानाकर्षण गराउन चाहन्छौं।

तपाईंको अभिव्यक्ति हेर्दा र सुन्दा लाग्छ, यो संसारमा म जति जान्ने अर्को कुनै व्यक्ति छैन। म नै राज्य हुँ र मैले जे भनेको छु त्यही मात्र ठीक हो अरु सबै बेठीक भन्ने अहंकार र दम्भ सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिबिम्वित हुनु शोभनीय होइन। फ्रान्सका १६ औं शताब्दीका राजा लुई चौधौंको जस्तो अधिनायकवाद र निरङ्कुश प्रवृत्तिको अभिव्यक्तिले लोकतन्त्रको मर्यादा समेत बिर्सेको आभास हुन्छ। प्रधानमन्त्रीज्यू, हाम्रो मातृपार्टी नेपाली कांग्रेसले कोरोना संक्रमणको आजको विकराल परिस्थितिको आंकलन गर्दै सुरुका दिनदेखि नै सरकारको जिम्मेवारीपूर्ण व्यवहार र सोही अनुसारको कार्य योजना तय गर्न सुझाव दिएको स्मरण गराउन चाहन्छौं। तर सरकारले प्रतिपक्षी दल र अन्य विज्ञ एवं सरोकारवाला निकायको सुझाव र आग्रहलाई समयमा नै गम्भीरतापूर्वक नलिंदा आज यो महामारीको जोखिम अप्रत्याशीत रुपमा तीव्र रुपमा बढ्दै गएको छ र दैनिक रुपमा नेपालमा कोभिड-१९ का कारण संक्रमित र निधन हुनेहरुको संख्या बढ्दै गैरहेको छ।

सरकारले गरेका प्रयास र अवलम्बन गरेको नीति पूर्ण रुपमा असफल भैसकेको छ। क्वारेन्टाइनको व्यवस्था कोरोना संक्रमित उत्पादन गर्ने कारखाना जस्तो बनेको छ। विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको सूचीमा राखेको छ। हाम्रो स्वास्थ्य पूर्वाधार कोरोना नियन्त्रण गर्नका लागि प्रयाप्त छैन। क्वारेन्टाइनमा बसेकी चेली त्यहीं भित्रका स्वयम्सेवकबाट बलात्कृत हुनुपरेको दर्दनाक अवस्था छ। आरडिटी पध्दति होइन पिसीआर पध्दती अपनाएर यसको परीक्षण गर्नुपर्छ भन्दा सरकार नसुनेको व्यवहार गर्छ। चिकित्सकहरु स्वयम् आवश्यक सुरक्षा सामाग्रीको अभावमा मानसिक रुपमा त्रसित छन् भने केहीले आत्महत्या समेत गरेको पीडादायक अवस्था छ। रोगसँग लड्न प्रभावकारी उपाय अवलम्बन नगर्दा भोली भोकमरीको विकराल अवस्था आउने सम्भावनालाई सरकारले गम्भीरतापूर्वक लिएको देखिन्न।

कोरोनाबाट आक्रान्त आम नागरिकलाई विशेष राहत प्याकेज नल्याई सरकार बजेट सावर्जनिक गर्छ। कृषिमा आधारित हाम्रो अर्थतन्त्र अनि व्यापार व्यवसायलाई संरक्षण गर्ने सरकारको ठोस नीति र कार्यक्रम देखिएको छैन। मानवीय संवेदनशीलतालाई समेत सरकारले ख्याल गरेको देखिदैन। यस्तो विकराल परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गरी मातृभूमिमा उनीहरुलाई कसरी व्यवस्थापन गर्ने र स्वरोजगार सिर्जना गर्ने भन्नेतर्फ सरकारको ठोस कार्यक्रम पाइएको छैन।

श्रमिक, वेरोजगार, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, एकल महिला र गर्भवतीहरुलाई राहत एवं कुनै पनि विशेष कार्ययोजना ल्याउन नसक्नु, लकडाउनको कारण स्कूल कलेज बन्द भई विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौल भएको बेला गम्भीर रुपमा राष्ट्रिय विमर्शका साथ ठोस दृष्टिकोण र आवश्यक कार्ययोजना निर्माण गर्न सरकार असफल हुनु, देशको यस्तो विषम परिस्थितिमा पनि सरकार अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुब्नुले वर्तमान सरकार असक्षम र गैर जिम्मेवार बन्दै पूर्ण असफल भएको छ ।

अतः कोभिड १९ को महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका सम्बन्धमा नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन जेठ २६ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे बमोजिम पार्टीका नेता श्री रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डलले नेपाल सरकारका प्रधानमन्त्रीलाई गत जेठ २८ गते बुझाएको ध्यानाकर्षण पत्रलाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गर्नका लागि हामी प्रवासमा रहेका नेपालीहरुको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछौं।

धन्यवाद, जय नेपाल

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com