Follow @khasokhasmag

नानीलाई कामको भारी


प्रकाशित मिति : चैत्र २९, २०७३ मंगलबार

जिल्लाका दुर्गम बस्तीमा बसोबास गर्ने अधिकांश विपन्न परिवारका बालबालिका विद्यालय जानुको साटो दिनहुँ घरधन्दा गर्ने र घाँस दाउरा काट्न वन जंगल धाउने गर्दछन् ।

राजेन्द्र बहादुर सिंह /बाबुआमा बुढा भइसकेका र घरका अन्य सदस्य रोजगारी गर्न भारत गएकाले उनलाई नै घरको हर्ताकर्ता हुनुपरेको छ । बिहान घाँस काट्ने, फर्केर आएपछि चुलोचौको र घरधन्दा गर्दै उनको दिन बित्छ । घरधन्दा सकिएपछि उनी प्रायः दाउरा बिक्री गर्न सदरमुकाम चैनपुर बजार झर्छिन्, अनि बेलुका फेरी चुलोचौको । सधैं कामकै चटारो हुँदा स्कुल भर्ना हुने समय जहिले पनि छुट्छ । कहिल्यै फुर्सद नभएपछि हिजोआज उनले पढ्ने आस नै मारेकी छिन् ।‘बिहान बेलुका घाँस काट्दै ठीक हुन्छ, कतिखेर विद्यालय जानु ?’ पिठिउँमा घाँसको भारी बोकेर घर फर्किरहेकी राम प्यारी कठाएत (१२) ले एकैसासमा भनिन् । त्यसो भनिरहँदा, स्कुल जान नपाएको पीडा उनको अनुहारमा प्रष्टै देखिन्थ्यो ।

स्कुल गइरहेकी सुनिता बोहरा (१३) पनि घरायसी कामकै व्यस्तताले पढाइ छोड्न बाध्य भइन् । स्थानीय देवस्थली निमाविमा कक्षा ७ मा पढ्ने सुनिता गत साउनदेखि घरकै काममा व्यस्त देखिन्छन् । पढाइ नियमित नभएपछि उनले यसपालीको वार्षिक परिक्षा पनि दिइनन् । ‘आफूसँगैका साथी कक्षा ८ मा जाने भए, आफूलाई भने काम नगरी खान पुग्दैन’, गहभरी आँशु पार्दै उनले सुनाइन्, ‘बाबा बिरामी हुनुहुन्छ, आमा काम गर्न जानुहुन्छ । बिहान–बेलुका घाँसपात र भान्साको काम नगरे घरधन्दा नै चल्दैन ।’

आर्थिक रुपले कमजोर परिवारमा अभिभावकहरु कामको खोजीमा हिँड्ने र छोराछोरीले घर, वस्तुभाउ सम्हाल्ने हुँदा उनीहरु स्कुल जानबाट वञ्चित भएका देखिन्छन् । परिवारको संख्या बढ्दै जाँदा स्कुल गएका बालबालिका समेत पढाइ छोडी घरधन्दा र भाइबहिनी स्याहार्दै बसिरहेका देखिन्छन् । जिल्लास्थित हलिया मुक्ति समाजले गत वर्ष गरेको एक अध्ययनमा जिल्लामा करिब ४८ सय गरिब घरपरिवार रहेका छन् । ती परिवारका झण्डै २१ सय बालबालिका विद्यालय नगई घरायसी काम गर्दै आएका छन् ।

जयपृथ्वी मार्गमा पर्ने झोता बजार नजिकै खाली जमिनमा त्रिपाल राखेर बस्दै आएका सुरेन्द्र नेपालीका ४ छोरी र २ छोरा पनि विद्यालय जाँदैनन् । सबै छोराछोरी विद्यालय जाने उमेरकै भएपनि आयस्रोत नभएपछि उनीहरु स्कुल जानुभन्दा बाबुआमालाई काममा सघाइरहेका भेटिन्छन् । ‘घरमा के खाउँ, के लाउँ भन्ने अवस्था छ, बालबच्चाका आङ समेत ढाक्न सकेको छैन, कसरी स्कुल पठाउनु ?’ भावुक हुँदै सरेन्द्रकी जहान राधाले दुःखेसो पोखिन् ।

उनीहरुकी सबैभन्दा ठूली छोरी सुमित्रालाई घरधन्दासँगै भाइबहिनी स्यार्हानुपर्ने जिम्मेवारी समेत छ । उमेरले १० वर्ष पुगेकी सुमित्राले हालसम्म विद्यालय प्रवेश गरेकी छैनन् । विद्यालय किन नगएको भन्ने प्रश्नमा सुमित्रा उल्टै प्रश्न गर्छिन्, ‘म स्कुल गएँ भने भाइबहिनीलाई कसले हेर्छ ?’

सुवेडा गाउँकी एकल महिला सिउरी देवी सिंहले पनि आफ्ना छोराछोरी पढाएकी छैनन् । उनका दुई सन्तानमध्ये जेठा छोरा सुरेश अहिले ११ वर्षका भएका छन् र छोरी प्रमिला ७ वर्षकी छिन् । श्रीमान् हंसबहादुरको निधन भएपछि उनको परिवार अहिले सिउरी देवीकै कमाइमा निर्भर छ । बिहान बेलुकाको हातमुख जोर्न सिउरीदेवी एकाबिहानैदेखि भारी बोक्न जान्छिन्, अनि छोरा सुरेश दिनभर बहिनीको हेरविचार गर्दै बस्छन् । ‘स्कुल जाने लुगा छैन, कापी कलम पनि छैन, त्यसैले स्कुल गइनँ’, सुरेश भन्छन् ।

जयपृथ्वी नगरपालिकास्थित श्री बालमन्दिर निमाविका सहायक प्रधानाध्यापक टेक बहादुर सिंह विपन्न परिवारका बालबालिकाको उपस्थिति न्यून रहेको बताउँछन् । उनका अनुसार ३३१ जना बालबालिका भर्ना भएकोमा ३०९ जना मात्र यस वर्षको अन्तिम परिक्षामा सहभागी भएका थिए । परिक्षामा सहभागी नभएका २२ जना विद्यार्थीमा १४ जना छात्रा र ७ जना छात्र विपन्न परिवारका रहेका छन् । यी बालबालिका बीचमै पढाइ छोडेर घरायसी काम गर्दै आएको उनको भनाइ छ ।

जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार बझाङ जिल्लामा ३४२ सामुदायिक प्राथमिक, ३८ सामुदायिक निम्न माध्यमिक, ७९ माध्यमिक र ६० निजी गरी जम्मा ५१९ वटा विद्यालय रहेका छन् । कार्यालयकै सूचना अनुसार अन्य परिवारका बालबालिकाको विद्यालय भर्नादर ७० प्रतिशत रहेको छ भने विपन्न परिवारका बालबालिकाहरुको विद्यालय भर्नादर २० प्रतिशत मात्र रहेको छ । यसबाहेक अन्य १० प्रतिशत बालबालिका विद्यालयमा भर्ना भएका छैनन् ।

विद्यार्थीहरुको भर्ना दर कम भएकोले कार्यालयले बालबालिका विद्यालयमा उपस्थित गराउन स्थानीय रेडियोबाट जनचेतना मुलक कार्यक्रम प्रसारण गर्ने, स्रोत केन्द्रमा अभिभावक भेला गराइ छलफल गर्ने र बालक्लव मार्फत गाउँमा अनिवार्य शिक्षाको कार्यक्रमबारे सचेत गराउँदै आएको छ । यसबाहेक, गरिब विद्यार्थीलाई छात्रवृतिको व्यवस्था, साक्षरता कक्षा संचालन तथा दिवा खाजा समेत सञ्चालनमा ल्याएको देखिन्छ । तर, यसले पनि खासगरि विपन्न परिवारका बालबालिकालाई नियमित विद्यालयमा आउन सहयोग गरेको छैन ।

कार्यक्रम गर्दै जाने तर विपन्न परिवारका विद्यार्थी नआउँदा समस्या समाधान हुन सकेको छैन । यहिकारण, कार्यालयले आगामी दिनमा अनिवार्य शिक्षा कार्यक्रमलाई निरन्तरता दिने र बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई सामाजिक बहिस्कार गर्ने तथा दण्डित गर्नेसम्मको योजना बनाएको जिल्ला शिक्षा अधिकारी सुरेन्द्र बहादुर कठायत बताउँछन् । ‘परिवारमा आर्थिक अभाव त छ नै अविभावकमा बालबालिका विद्यालयमा पठाउनुपर्छ भन्ने चेतना छैन, स्कुल गएर के हुने हो र ? भन्ने खालको सोच छ’, कठायत भन्छन् ।

केही अभिभावकले छोराछोरीलाई पढाउनुभन्दा तत्काल आयआर्जन हुने काममा लगाउने गरेका समेत देखिन्छ । यसले कतिपय बालबालिका सदरमुकामका होटलहरुमा भाँडा माझ्ने तथा भारी बोक्ने जस्ता कठिन श्रम गर्न बाध्य देखिन्छन् भने कतिपय कुलतमा समेत फस्ने गरेका देखिन्छन् । नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंह भने बालबालिका गरिबीकै कारण श्रम गर्न बाध्य भएको बताउँछन् । सरकारले यस्ता परिवार पहिचान गरी त्यहाँका बालबालिकालाई समयमै विद्यालयसम्म ल्याउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।(राजेन्द्र, बझाङका पत्रकार हुन्।) महिला खबर तस्वीरः रन्जना पाेखरेलकाे फेसबुकबाट साभार ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com