‘अमेरिकाबाट नेपाली लैजाने मिति, भाडा र एयरलाइन्स टुंगो लागेको छैन’: दूतावास श्रोत


प्रकाशित मिति : जेष्ठ २९, २०७७ बिहीबार

कोरोनाको महामारीका कारण अमेरिकामा रोकिएका नेपालीहरु नेपाल लैजाने विषयमा मिति, भाडा र एयरलाइन्स टुंगो लागि नसकेको अमेरिकामा रहेको नेपाली दूतावास श्रोतले जानकारी दिएको छ । तर परराष्ट्र मन्त्रालयले दूतावास र कन्सुलेटहरुलाई पठाएको सुचीमा भने आगामी जुन २५ मा नेपाल एयरलाइन्सले अमेरिकाबाट उडान गर्ने उल्लेख गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बनाएको उक्त सुची परराष्ट्रमन्त्रालयले सम्बन्धित देशमा रहेका नेपाली कन्सुलेट र दूतावासहरुलाई पठाएको हो । उक्त सुचीमा जुन १७ मा विदेशी एयरलाइन्सले अमेरिकामा रोकिएका नेपालीहरुलाई नेपाल लैजाने मिति उल्लेख गरिएको छ ।

अमेरिकामा रहेको नेपाली दूतावास श्रोतले भने अहिलेसम्म अमेरिकामा रहेका नेपालीहरुलाई लैजाने बारे कुनै पनि एयरलाइन्स, मिति र भाडादर तय भइनसकेको जनाएको छ । त्यसबारेमा एकदुईदिन भित्र टुंगो लगाइने दूतावास श्रोतको भनाई छ ।

अहिलेसम्म अमेरिकामा रहेका ११ सय भन्दा बढी नेपालीहरुले नेपाल फर्कन अनुरोध सहित आवेदन दिइसकेको अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीले खसोखासलाई बताए ।

नेपाल एयरलाइन्स अमेरिका आउने बताइएपनि अहिलेको अवस्थामा नेपाली एयरलायन्स युरोपको आकाशहुँदै अमेरिका आउन सम्भव नभएको बताइएको छ । किनभने सन् २०१३ देखि युरोपियन युनियनले नेपाललाई हवाई सुरक्षा सुची अर्थात् कालो सुचीमा राख्दै आएको छ । जसका कारण नेपाली एयरलाइन्सहरु युरोपको आकाशमा उड्न प्रतिबन्धित छन् ।

यदि नेपाल एयरलाइन्स युरोपको आकाश प्रयोग नगरी प्यासेफिक रुटमार्फत अमेरिकामा आएको खण्डमा पनि त्यसका लागि अमेरिकाको अनुमति लिन जरुरी छ । कुन एयरलाइन्स अमेरिका आउने भन्ने विषयमा टुंगो लागेपछिमात्र अनुमतिका लागि प्रकृया अगाडि बढाइने वासिंटन डिसीमा रहेको नेपाली दूतावास श्रोतले बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com