‘रिक्सा नचलाए अब परिवार भोकै मर्छ’


प्रकाशित मिति : जेष्ठ २०, २०७७ मंगलबार

नेपालगञ्ज-९ बाँकेगाउँका घनश्याम कोरीले आफ्नो तीनपाङ्ग्रे इरिक्सा नचलाएको दुई महिना भयो । इरिक्सा चलाएर पाँच जना परिवारको पेट पाल्दै आएका कोरीको परिवारलाई लामो समयको बन्दाबन्दीले अहिले बिहानबेलुकाको हातमुख जोर्न नसक्ने अवस्थामा पुर्याएको छ ।भाडाको घरमा बसेर रिक्सा चलाउने पेशा अंँगालेका कोरीसँग आम्दानीको कुनै स्रोत नभएपछि तीन लालाबाला सन्तान र आफ्नो पेटको भोक मेटाउन उनकी धर्मपत्नी लक्ष्मी अहिले अरुका घरमा भाँडा माझ्न बाध्य भएकी छिन् । बन्दाबन्दीका कारण इरिक्सा चलाएर आफ्नो दिनचर्या चलाउने सो दम्पती प्रतिनिधिमूलक पात्र मात्र हो ।

उनीहरु जस्तै करीब १० हजार परिवारको दैनिक जीवन इरिक्साको कमाइले धानेको छ । बाँके जिल्लामा झण्डै १० हजार इरिक्सा सञ्चालनमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर बताउँछिन् । लामो समयको बन्दाबन्दीले अहिले यिनै रिक्सा चालकको दैनिक कमाइ गुमेको छ । आम्दानीको वैकल्पिक व्यवस्था भएका केही रिक्सा चालकलाई परिवार पाल्न ठूलै समस्या नपरे पनि रिक्सा चलाएरै बिहानबेलुकाको हातमुख जोर्ने रिक्सा चालकका परिवारलाई भने लामो समयको बन्दाबन्दीले पेटमाा भोक र मानसिक तनाव दिएको छ । झण्डै दुई महिनासम्म घरमै लकडाउनको पालना गरेर बसेका यहाँका केही रिक्सा चालक अहिले सडकमा रिक्सा लिएर निस्कन थालेका छन् । उनीहरुको यस्तो प्रयासले भने निरन्तरता पाउन सकेको छैन । स्थानीय प्रशासनले कडाइ गरेका दिन घर फिर्ता जानुको उनीहरुसंँग अरु कुनै विकल्प रहँदैन । ‘अलिअलि जोगाएको पैसा पनि सकियो, साथीभाइ, आफन्तसंँग ऋण लिएको रकम पनि भ्याइसकियो । रिक्सा नचलाए अब त हाम्रो परिवार भोकभोकै मर्छ’, बन्दाबन्दीमा रिक्सा चलाउने भनेर निस्किएका नेपालगञ्ज-१३ का मोहम्मद हमिद इद्रिसीले दुःख पोखे ।

बन्दाबन्दीमा ठूलै आँट गरेर रिक्सा सडकमा लिएर निस्कनेलाई सुरक्षाकर्मीले ठाउँठाउँमा रोक्ने तथा पैदल हिँड्नेहरु पनि कोरोना संक्रमणको डरले रिक्सामा बस्न नरुचाउने कारणले रिक्सा चालकले सोचे जस्तो भएको छैन । ‘रिक्सा चलाउन त दिनै मिल्दैन । समस्या सबैलाई परेको अवस्था हो, रिक्सा चालक त्यसवाट अछुतो रहने सवाल नै रहँदैन’, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गको भनाइ छ ।बन्दाबन्दीको शुरुवाती चरणमा स्थानीय तहका वडा कार्यालयले केही मात्रामा चामल, दाल र नूनतेल राहत उपलब्ध गराए पनि अहिले त्यस्तो सहयोग पनि नपाएको रिक्सा चालकको गुनासो छ । ‘बन्दाबन्दीभरि हामीले छाक टार्ने राहत पाएमा रिक्सा चलाउन जानै पर्दैन नि’, रिक्सा चालक इद्रिसीले भने । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com