भिसा बुलेटिन : जुन र जुलाईका लागि डिभी विजेता नेपालीको १३ हजार ५ सय सम्म केसनम्बर करेन्ट


प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहीबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जुन महिनाका लागि भिसा बुलेटिन सार्वजनिक गरेको छ । भिसा बुलेटिन अनुशार जुन र जुलाई महिनाका लागि नेपाली डिभी विजेताहरुको केस नम्बर १३ हजार ५ सयसम्म तोकिएको छ ।

तर मार्चको तेश्रो सातादेखि भने नेपाली डिभी विजेताहरुले अमेरिकाको भिसा प्राप्त गर्न सकेका छैनन् । मार्चको तेश्रो सातादेखि काठमाडौंमा रहेको अमेरिकी दूतावासले अधिकांश भिसा जारी गर्न रोकेको छ ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलको अन्तिम सातादेखि जुनको अन्तिम सातासम्मका लागि आप्रवासी भिसा जारी गर्नमा रोक लगाएका छन् । जसका कारण विश्वका अन्य कुनै देशका नागरिकका लागि पनि आप्रवासी भिसा जारी हुन सकेको छैन । ट्रम्पको आप्रवासन रोकको अवधि थप हुने नहुनेबारे जुनको १० तारिखपछिमात्र टुंगा लाग्नेछ ।

भिसा बुलेटिन अनुशार जुन र जुलाईका लागि नेपाली र इजिप्टका लागिमात्र सिमाबन्दी तोकिएको हो । जुन महिनाका लागि इजिप्टका लागि ४२ हजारसम्म केस नम्बर हुनेहरुको र नेपालका लागि १३ हजार ५ सयसम्म केस नम्बर हुनेहरुको भिसा करेन्ट बनाइपनि जुलाईका लागि समेत सोही नम्बर नै कायम गरिएको छ ।

अप्रिलमा ८ जना नेपाली डिभी विजेतालाई अमेरिकाको भिसा, नयाँ नतिजा जुन ६ मा

अप्रिलमा ८ जना डिभी विजेता नेपालीले अमेरिकाको भिसा पाएका छन् । कोरोनाको महामारीका कारण काठमाडौंमा रहेको अमेरिकी दूतावास बन्द रहेपनि अप्रिलमा ८ जना प्राथमिक नेपाली डिभी विजेताले अमेरिकाको भिसा पाएको अमेरिकी विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

प्राथमिक डिभी विजेता बाहेक उनीहरुका दम्पत्ति ३ जना र छोराछोरी ३ जनाले पनि डाइभर्सिटी भिसा पाएका छन् । ८ जना प्राथमिक डिभी विजेताहरुमध्ये ६ जनाले भने काठमाडौंमा रहेको दूतावासबाटै भिसा पाएको जनाइएको छ । त्यस्तै दम्पत्ति र छोराछोरीहरुले पनि काठमाडौंबाटै भिसा पाएका हुन् । अरु २ जनाले कहाँबाट पाएभन्नेबारे केही खुलाइएको छैन ।

डिभी लोटरीको नतिजा जुन ६ मा  सार्वजनिक हुने भएको छ ।गत अक्टोबरमा भरेको डिभी लोटरीको नतिजा जुन ६ मा सार्वजनिक हुने तय भएको हो ।  सन् २०२१ का लागि गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी खुलेको थियो । उक्त डिभी लोटरीको नतिजा मे ५ मा सार्वजनिक हुने तय भएकोमा एकमहिना पछाडि सारिएको हो ।

अमेरिकी विदेशमन्त्रालयले गरेको घोषणा यहाँ पढ्नुहोला ।

अमेरिकी विदेशमन्त्रालयको श्रोतसाधन अहिले अमेरिकाबाहिर रहेका अमेरिकी नागरिकका लागि परिचालन गरिएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाको महामारीका सन्दर्भ उत्पन्न समस्या समाधानमा लागेकाले डिभी लोटरीको नतिजा स्थगित गरिएको अमेरिकी विदेशमन्त्रालको भनाई छ ।

डिभी लोटरीको नतिजा ढिलो भएपनि आगामी आर्थिक बर्षका लागि अन्तरवार्ता तय हुनमा भने कुनै असर नपर्ने जनाइएको छ । सन् २०२१ का लागि डिभी पारेकाहरुको अन्तरवार्ता आगामी अक्टोबर १ देखि सुरु गरिनेछ । अमेरिकी कानुन अनुशार डिभी कार्यक्रमका लागि अमेरिकी विदेशमन्त्रालयले आफ्नो भूमिका गम्भिरतापूर्वक लिने जनाएको छ ।

जुन ६ पछि डिभी लोटरीको नतिजा चेक गर्न यहाँ क्लिक गर्नुहोला ।

चालु आर्थिक बर्षका लागि डिभी पारेकाहरुको पनि अन्तरवार्ताहरु अहिले स्थगित गरिएको छ । मार्चको दोश्रोसातादेखि कन्सुलेटहरुले डिभी लोटरीका अन्तरवार्ताहरु स्थगित गरेका थिए । यसैसातादेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि ६० दिनका लागि डिभी लोटरीका अन्तरवार्ताहरु विश्वब्यापी रुपमा नै स्थगित भएका छन् ।

भिसा पाइसकेका सयौं डिभी विजेता नेपालमै अड्कीए

अमेरिकाको आप्रवासी भिसा पाइसकेका सयौं डिभी विजेता नेपालीहरु कोरोनाको महामारीका कारण नेपालमा नै अड्कीएका छन् । कोरोनाको महामारीका कारण नेपालमा लकडाउन सुरु भएका कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदा उनीहरु अमेरिका आउन नपाएका हुन् ।

मार्च महिनाको झण्डै दुईसाताको अवधिमा १८८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । मार्च १७ पछि भने अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसा र गैर आप्रवासी भिसाका अन्तरवार्ताहरु स्थगित गरेको थियो । तर अन्तरवार्ता स्थगित हुनु अगाडि मार्चमहिनामा प्राथमिक डिभी विजेता ११२ जना, उनीहरुका दम्पत्ति ४२ जना र २१ बर्ष नपुगेका छोराछोरीहरु ३४ जना नेपालीले भिसा प्राप्त गरेका थिए ।

फरबरीमा भने डिभी विजेता, उनीहरुका दम्पत्ति र छोराछोरीगरी ३०३ जना नेपालीहरुले भिसा पाएका थिए । उनीहरुमध्येका कैयन कोरोनाको महामारीका कारण अमेरिका आउन पाएका छैनन् । त्यस्तै जनवरीमा ४१२ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए । भिसाको अवधि ६ महिनाको हुने भएकाले मार्च वा अप्रिलमा अमेरिका आउने योजना बनाएका उनीहरुमध्येका पनि नेपालमै रोकिएका छन् ।

डिसेम्बरमा ४६०, नोभेम्बरमा ३२५ र अक्टोबरमा ८० नेपालीले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । तीमध्येका केहीले समेत मार्चको दोश्रोसातापछि वा अप्रिलमा अमेरिका आउने योजना बनाएका थिए । तर उनीहरु पनि नेपालमा नै रोकिएका छन् ।

२६ सय बढीको भिसा अनिश्चित

अप्रिल २३ को मध्यरातपछि अमेरिकी सरकारले अधिकांश आप्रवासी भिसा जारी गर्न ६० दिनका लागि स्थगित गरेको छ । त्यसैले अब जुनको अन्तिम सातासम्म डिभी लोटरी विजेताहरुलाई भिसा जारी नगरिने भएका कारण यो अवधिमा भिसा पाउने अपेक्षा गरेका झण्डै १२ सय देखि १५ सय डिभी विजेता नेपालीहरु अन्यौलमा परेका छन् ।

चालु आर्थिक बर्षका लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये जम्मा १०६९ जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गरिसकेका छन् । बाँकी २६ सय भन्दा बढी नेपाली डिभी विजेताहरु अमेरिका आउन पाउने वा नपाउने अनिश्चयमा रहेका छन् ।

किनभने राष्ट्रपति ट्रम्पले आप्रवासनमा जुनपछिपनि आप्रवासमा रोक लगाएभने उनीहरु अमेरिका आउन पाउने छैनन् । किनभने चालु आर्थिक बर्षमा डिभी विजेताहरुले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसकेको हुनुपर्छ । अन्यथा उनीहरु अमेरिका आउन पाउनेछैनन् । राष्ट्रपति ट्रम्पको आप्रवासन रोक नलम्बिएपनि त्यसपछि बाँकी रहने तीनमहिनाको अवधिमा दूतावासले धेरैको भिसा प्रकृया गर्न सम्भव देखिन्न ।

दूतावासको अहिलेसम्मको क्षमता अनुशार महिनामा अधिकतम २८३ जना प्राथमिक डिभी विजेताको भिसामात्र प्रकृयामा लगेको देखिन्छ । अर्कोतर्फ डाइभर्सिटी भिसा पाइसकेका अन्य कैयन नेपालीहरु ६ महिनामा अमेरिका आउन नसक्दा उनीहरुको भिसा नथपिने हो कि भन्ने चिन्ता समेत बढेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com