विदेशबाट नेपाली ल्याउन सहज छैन : प्रधानमन्त्री ओली


प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका सबै नेपालीलाई तत्कालै ल्याउन सम्भव नहुने बताएका छन् ।सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफपछि प्रधानमन्त्री ओलीले पुरक प्रश्नको जवाफ दिने क्रममा विदेशमा रहेका ४०/४५ लाख नेपालीलाई तत्काल ल्याउन सम्भव नहुने बताएका हुन् ।

उनले नेपाल श्रमशक्ति निर्यात गर्ने मुलुकजस्तो अवस्थामा रहँदै आएको र सोही कारण लाखौं युवा विदेशमा रहेको प्रष्ट्याए । कोरोना महामारीका कारण विश्वका विभिन्न मुलुकमा श्रम बजार बन्द हुनुअघि विदेशमा रहेका युवा जनशक्ति फर्कने अवस्था नरहेको र संक्रमण फैलिसकेको अवस्थामा लकडाउन, विमानसेवा बन्द लगायतका समस्याका कारण उनीहरु आउन सम्भव नभएको प्रधानमन्त्री ओलीले बताए ।

उनले हिसाबमा आफू कमजोर रहेको जनाउँदै ‘विदेशमा रहेका ४०/४५ लाख युवालाई ल्याउन कति समय लाग्छ ? देशभित्र भएका सबै जहाजलाई निरन्तर प्रयोग गर्दा पनि कति समयमा उनीहरुलाई ल्याउन सकिन्छ ?’ भन्ने हिसाब गर्न सांसदहरुलाई नै आग्रह गरे ।

नेपालबाट अमेरिकाले डेढ सय नागरिक लगेजस्तो, अस्ट्रेलियाले अढाइ सय नागरिक लगेजस्तो, कतारले डेढ सय नागरिक लगेजस्तो नेपाललाई विदेशबाट आफ्ना नागरिकलाई ल्याउन सहज नहुने उनको भनाइ थियो ।

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी भइरहेको र प्राथमिकताका आधारमा ल्याउन थाल्ने प्रधानमन्त्री ओलीले प्रष्ट पारे । देशभित्रका नागरिकको सुरक्षाको अवस्थालाई पनि सम्बोधन गरेर आवश्यक तयारीका साथ सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने उनले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com