बेरोजगारी विमा साप्ताहिक प्रमाणिकरण गर्दा झुक्किनु त भएन ? सहि तरिका यस्तो


प्रकाशित मिति : जेष्ठ ४, २०७७ आईतबार

न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले बेरोजगारी विमा साप्ताहिक प्रमाणिकरण गर्दा दुई प्रकारका प्रश्नावलीहरु तयार पारेको छ ।

यदि तपाईको प्रारम्भिक बेरोजगारी विमा आवेदन पेन्डिङ अवस्थामा छ भने तपाइले ७ वटा वटा प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । त्यस्तै तपाईको नियमित बेरोजगारी विमा आवेदन स्वीकृत भइसकेको छ भने पनि तपाईले ७ वटा प्रश्नको जवाफ दिनुपर्ने हुन्छ ।

तर तपाई नियमित बेरोजगारी विमा रकमका लागि योग्य नभई महामारी बेरोजगारी सहायता पीयुएका लागि योग्य हुनुभएको छ भने तपाईले ५ वटा प्रश्नको जवाफ दिनुपर्ने हुन्छ ।

नियमित बेरोजगारी विमाको साप्ताहिक प्रमाणिकरण गर्दा तपाईलाई पहिलो प्रश्न कतै तपाईले गएको साता कुनै जागिरको अफर वा रिफरल अस्वीकार गर्नुभएको थियो कि भनेर सोधिएको हुन्छ । तपाई बेरोजगारी विमा रकमका लागि योग्य हुन जागिरको अफर वा रिफरल अस्वीकार गरेको हुनुहुँदैन ।

त्यस्तै तपाईले सेल्फ इम्प्लोयमेन्ट सहित गएको साता कति दिन काम गर्नुभयो भनेर सोधिएको हुन्छ । तपाईले यदि ४ वा त्योभन्दा बढी दिन काम गर्नुभएको छ भने तपाई बेरोजगारी विमा रकमका लागि योग्य हुनुहुनेछैन । काम गर्नुभएको छैन भने तपाईले शुन्य छनौट गर्नुहोला । यदि एक, दुई वा तीन दिन काम गर्नुभएको छ भने त्यो दिनको संख्या लेख्नुहोला ।

अर्को प्रश्नमा तपाईले गतसाता ५०४ डलरभन्दा बढी आम्दानी गर्नुभयो कि भएन भनेर सोधिन्छ । यदि तपाईले ५०४ डलरभन्दा बढी आम्दानी गर्नुभएको थिएन भनेमात्र तपाई विमा रकमका लागि योग्य हुनुहुनेछ । यदि तपाई एक, दुई वा तीन दिन काम गर्नुभएको थियो तर ५०४ डलरभन्दा कम आम्दानी थियो भने तपाई विमा रकमका लागि योग्य हुनुहुनेछ ।

त्यस्तै तपाई गत साता काम गर्न तयार, इच्छुक र सक्षम हुनुहुन्थ्यो कि भनेर सोधिन्छ । तपाई वेराजगारी विमा रकमका लागि योग्य हुन काम गर्न तयार, इच्छुक र सक्षम भएको हुनुपर्छ । अर्को प्रश्नमा तपाईले विदाको रकम पाउनुभयो कि भनेर सोधिन्छ । विदाको रकम प्राप्त नगरेको खण्डमामात्र तपाई विमा रकमका लागि योग्य हुनुहुनेछ ।

त्यस्तै तपाईले चाडपर्वविदाको रकम पाउनुभयो कि भनेर सोधिएको हुन्छ । तपाईले त्यस्तो रकम पाउनुभएको थियो भने उल्लेख गर्नुहोला । तर तपाईले पाएको रकम मापदण्डभन्दा धेरै नै छ भने तपाई उक्त साताको विमा रकमका लागि अयोग्य समेत हुनसक्नुहुनेछ ।

र, अन्त्यमा तपाई काममा फर्कनुभयो भनेर सोधिन्छ । यो प्रश्नको जवाफमा विशेष सावधानी अपनाउनुहोला । यदि तपाई ४ दिनभन्दा कमको पार्टटाइम काममा फर्कनुभएको हो भने पनि तपाईले छैनमा टिक लगाउनुपर्छ । त्यस्तै तपाईले अहिले गरिरहेको काम पनि ४ दिनभन्दा कमको पार्टटाइम काम हो भने काममा फर्केको छैन मा टिक लगाउनुपर्छ । तर तपाईले पूर्णकालिन काममा फर्कनुभएको हो भने छ मा टिक लगाउनुपर्छ ।

यदि तपाई पार्टटाइम पनि काम गर्नुभएको छैन र काममा फर्कनुभएको छैन भने विमा रकम प्राप्त गर्नका लागि तपाईको जवाफ यस्तो हुनुपर्छ । सब्मिट गर्नुअगाडि एकपटक स्क्रीन चेक गर्न नबिर्सनुहोला ।

उदाहरणका लागि तपाईले ३ दिन पार्टटाइम काम गर्नुभएको छ तर पूर्णरुपमा काममा फर्कनुभएको छैन भने तपाईले साप्ताहिक प्रमाणिकरणमा क्लिक गर्नुअगाडि प्रश्नावलीको जवाफ दिइसकेपछि यस्तो स्क्रीन देखापर्छ । यदि यो स्क्रीनमा उल्लेख भएको विवरण सच्याउनुपरेमा तपाईले सम्पादन बटनमा क्लिक गरेर सच्याउनुहोला ।

याद गर्नुहोस्, यदि तपाईले सब्मिट गरिसक्नुभएको छ भने यो स्क्रीनमार्फत सच्याउन सक्नुहुनेछैन । सब्मिट गरिसकेको साप्ताहिक प्रमाणिकरण सच्याउन तपाईले अनलाइन एकाउन्टको इनबक्समा गएर उपयुक्त शीर्षक छानेर इमेल पठाउनुपर्ने हुन्छ ।

यदि तपाई नियमित बेरोजगारी विमा रकमका लागि अयोग्य हुनुभएको छ तर महामारी बेरोजगारी सहायता पीयुएका लागि योग्य हुनुभएको छ भने तपाईले विभिन्न ५ प्रश्नहरुको जवाफ दिनुपर्छ ।

पहिलो प्रश्नमा सेल्फ इम्प्लोयमेन्टसहित तपाई गतसाता कति दिन काम गर्नुभयो भनेर सोधिन्छ । यदि काम गर्नुभएको छैन भने शुन्य उल्लेख गर्नुहोला । काम गर्नुभएको छ भने जति दिन काम गर्नुभएको छ त्यो उल्लेख गर्नुहोला । यदि ४ दिन वा त्योभन्दा बढी काम गर्नुभएको भएमा तपाई महामारी बेरोजगारी सहायताका लागि अयोग्य हुनसक्नुहुनेछ ।

त्यस्तै तपाईले गतसाता गरेको कामबाट ५०४ डलरभन्दा बढी आम्दानी गर्नुभएको थियो कि भनेर अर्को प्रश्न सोधिएको हुन्छ । यो रकम तपाईले ट्याक्स काटेर पाएको कुल रकम ट्याक्सहितको रकम हो । यदि तपाईले ५०४ डलरभन्दा बढी आम्दानी गर्नुभएको थियो भने महामारी बेरोजगारी सहायताका लागि अयोग्य हुनसक्नुहुनेछ ।

पीयुएमा २ नम्बरको प्रश्नले तपाईले कन्फ्युज बनाउन सक्छ । त्यसमा गतसाता तपाईले कोरोना सम्बन्धित विभिन्न ८ शर्तहरु उल्लेख गरेर जागिर अस्वीकार गर्नुभएको थियो कि भनेर सोधिएको हुन्छ । पीयुए सहायता प्राप्त गर्नका लागि तपाईको जवाफ नो हुनुपर्छ । यदि तपाईले एसमा टिक लगाउनुभएमा तपाई कोरोनाबाट प्रभावित नभएको अवस्थामा जागिरको अफर अस्वीकार गरेको ठहर्छ । जसबाट तपाई महामारी बेरोजगारी सहायताका लागि अयोग्य हुनुहुनेछ ।

त्यस्तै तेश्रो प्रश्नमा कोरोनाको कारणबाहेक अन्य कारणबाट तपाई कतिदिन काममा जान अनिच्छुक वा अक्षम हुनुहुन्थ्यो भनेर सोधिएको हुन्छ । तपाई काममा जान इच्छुक, सक्षम वा तयार हुनुहुन्थेन भने महामारी बेरोजगारी सहायताका लागि अयोग्य हुनुहुनेछ ।

त्यस्तै अन्तिम प्रश्नमा तपाईले कति दिन तलबी बिरामी विदा वा तलबी विदा लिनुभयो भनेर सोधिएको हुन्छ । तपाई महामारी बेरोजगारी सहायताका लागि योग्य हुनका लागि तपाईले तलबी बिरामी विदा वा अन्य तलबी विदा लिनुहुँदैन ।

प्रश्नको जवाफ दिइसकेपछि तपाई अर्काे पेजमा जानुहुनेछ । उक्त पेजमा तपाईले आफुले दिएको जवाफ पुनरावलोकन गर्न सक्नुहुनेछ । उदाहरणका लागि तपाईको जवाफ यस्तो छ भने तपाई पीयुएका लागि योग्य हुनुहुनेछ । छैन भने अन्तिम सब्मिट गर्नुअगाडि सम्पादन गर्न वा सच्याउन सक्नुहुनेछ ।

याद गर्नुहोस्, यदि तपाईले गलत विवरण दिएर बेरोजगारी विमा रकम वा महामारी बेरोजगारी सहायता लिनुभएको छ भने तपाईले उक्त रकम फिर्ता गर्नुपर्ने र अन्य कारवाही समेत भोग्नुपर्ने हुनसक्छ ।

यदि तपाइले काम गुमाउनुभएको छ तर बेरोजगारी विमाका लागि आवेदन दिनुभएको छैन भने यहाँ क्लिक गर्नुहोला ।

यदि तपाइ न्युयोर्कबाहिर हुनुहुन्छ, काम गुमाउनुभएको छ तर बेरोजगारी विमाका लागि आवेदन दिनुभएको छैन भने यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com