बेरोजगारी विमा प्रमाणिकरण साप्ताहिक गरिरहेको छु, तर किन छुटेको भनेर इमेल आयो ?


प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार

तपाईले न्युयोर्कमा बेरोजगारी विमा रकमका लागि हरेक हप्ता प्रमाणिकरण गरिरहनुभएको होला । तर पनि तपाईको साप्ताहिक प्रमाणिकरण छुटेको भन्दै तपाईको रकम आउन रोकिएको वा कुनै हप्ताको रकम प्राप्त नगरेको अवस्था हुनसक्छ ।

किन यस्तो भए होला ? तपाईलाई जिज्ञासा उत्पन्न हुनु स्वभाविक हो । यसबारे न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जवाफ दिएको छ ।

यदि तपाईले नियमित बेरोजगारी विमाका लागि आवेदन दिनुभएको थियो तर तपाईको बेरोजगारी विमा आवेदन महामारी बेरोजगारी सहायता पीयुएका लागि योग्य भयो भने बीचको हप्ताको साप्ताहिक प्रमाणिकरण डिपार्टमेन्ट अफ लेवरको प्रणालीमा रेकर्ड नहुनसक्छ । यस्तो अवस्थामा तपाईले विगतमा प्रमाणिकरण गरेका साताको पुन प्रमाणिकरण गर्नुपर्ने हुनसक्छ ।

तपाईको प्रणाणीकरण बेरोजगारी विमाबाट महामारी बेरोजगारी सुविधाका लागि स्थानान्तरणहुँदाको अवस्थामा बीचको हप्ताको पुन प्रमाणिकरण गर्नुपर्ने अवस्था आउनसक्ने जनाइएको छ । बीचको हप्ताको प्रमाणिकरण छुटेकाहरुका लागि डिपार्टमेन्ट अफ लेवरले इमेलमार्फत सुरक्षित फर्म पठाउन सुरु गरेको छ ।

यो फर्म डकुसाइनमार्फत प्राप्त हुन्छ । प्राप्त इमेलमा क्लिक गरेपछि तपाई डकुसाइनको वेवसाइटमा जानुहुनेछ । त्यहाँ तपाईले आफ्नो सामाजिक सुरक्षा नम्बर लगायतका विवरण हालेपछि छुटेका हप्ताको प्रमाणिकरण गर्न सक्नुहुनेछ ।

यदि तपाईले छुटेका हप्ताको प्रमाणिकरणका लागि इमेल प्राप्त गरिसक्नुभएको छैन भने नआत्तिन डिपार्टमेन्ट अफ लेवरले सुझाव दिएको छ । आफूहरुले क्रमश छुटेकाहरुको पहिचान गरेर इमेल पठाउँदै जाने डिपार्टमेन्ट अफ लेवरको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com