ट्याक्स फाइल गर्दाको ठेगानाबाट सरें, बैंक एकाउन्ट दिन पाइन, राहत चेक कता जान्छ ?


प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहीबार

के तपाई विगतमा ट्याक्स फाइल गरेको ठेगानाबाट सरिसक्नुभएको छ ? वा तपाईले त्यहाँबाट सरिसकेपछि सन् २०१९ को ट्याक्स फाइल गर्नुभएको छैन ?

यस्तो अवस्थामा तपाईले कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अमेरिकी सरकारले प्रदान गर्ने १२ सय डलरको चेक कता जाला भनेर चिन्ता गरिरहनुभएको होला । तपाईले अनलाइनमार्फत बैंक एकाउन्ट दिन खोज्दा सफल नहुनुभएको पनि हुनसक्छ ।

यस्तो अवस्थामा तपाईले युएसपीएसमा आफ्नो ठेगाना अपडेट गराउनुभएको छ भने आईआरएसले तपाईको चेक तपाईको अपडेट गरिएको नयाँ ठेगानामा नै पठाउनेछ । युएसपीएसमा तपाईले ठेगाना परिवर्तन गरेरपछि युएसपीएसले त्यो आइआरएसलाई जानकारी गराउने भएकाले तपाईको चेक नयाँ ठेगानामा नै आउने सम्भावना रहन्छ ।

तर तपाईले युएसपीएसमा पनि ठेगाना अपडेट गर्नुभएको छैन र ट्याक्स फाइल गर्दा आईआरएसलाई दिएको ठेगानाबाट पनि बसाई सर्नुभएको छ भने चेक तपाईको पूरानो ठेगानामा नै जानेछ, जुन ठेगाना तपाईले आफ्नो ट्याक्स फाइल गर्दा आईआरएसलाई उपलब्ध गराउनुभएको थियो ।

यदि उक्त ठेगानामा तपाईको पहुच छैन भने चेक आईआरएसलाई नै फिर्ता जानसक्छ । यदि तपाईले आईआरएसलाई बैंक एकाउन्ट दिनुभएको थियो तर तपाईको बैंकले डाइरेक्ट डिपोजिट अस्वीकार गरेको खण्डमा पनि आईआरएसले आफ्नो फाइलमा भएको तपाईको ठेगानामा चेक पठाउँछ ।

यदि तपाईले विगतमा ट्याक्स फाइल गर्दा आईआरएसलाई रकम तिर्नुपर्ने थियो र रकम तिर्नका लागि आफ्नो बैंक एकाउन्ट प्रयोग गर्नुभएको थियो भने आर्थिक राहतको चेक पठाउन आईआरएसले उक्त बैंक एकाउन्ट प्रयोग गर्दैन । यस्तो अवस्थामा पनि तपाईको राहत चेक हुलाकमार्फत नै पठाउँछ ।

यदि तपाई योग्य हुँदा हुँदै पनि कुनै कारणवश राहत रकम पाउन सक्नुभएन भने वा कम रकम पाउनुभयो भने तपाईले आगामी बर्ष सन् २०२० को ट्याक्स फाइल गर्दा अतिरिक्त रकम दावी गर्न सक्नुहुनेछ । अहिले भएको कमजोरी सच्याउन आईआरएस सक्षम नभएको र आगामी दिनका त्यसबारे जानकारी दिइने आईआरएसले जनाएको छ ।

श्रोत  : आईआरएस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com