आइआरएसको गल्तीले १२ सय डलर पाएका तीनप्रकारका व्यक्तिले रकम फिर्ता गर्नुपर्ने


प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार

अमेरिकी सरकारले कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अमेरिकामा रहेका करदाता तथा कम आम्दानी भएका कारण कर तिर्न नपर्ने ग्रिनकार्डवाहक र नागरिकलाई १२ सय डलर पठाएको छ । तर आइआरएसको गल्तीले १२ सय डलर पाएका तीनप्रकारका व्यक्तिले रकम फिर्ता गर्नुपर्ने आईआरएसले जनाएको छ ।

यदि तपाईले तपाईको परिवारको मृत व्यक्तिको नाममा समेत रकम पाउनुभएको छ भने उक्त रकम तपाईले फिर्ता गर्नुपर्ने आईआरएसले जनाएको छ । मृत व्यक्तिको खातामा नभई घरको ठेगानामा उक्त चेक प्राप्त भएको छ भने उक्त चेक फिर्ता गर्न आईआरएसले सुझाव दिएको छ । खातामा रकम आएको भएमा पनि त्यस्तो रकम फिर्ता गर्नुपर्ने जनाइएको छ ।

त्यस्तै यदि कोही व्यक्तिले सन् २०१८ वा २०१९ को ज्वाइन्ट ट्याक्स फाइल गर्दा उल्लेख गरेको दम्पत्तिको देहान्त भइसकेको छ भने उक्त व्यक्तिलाई समेत जोडेर आईआरएसले रकम पठाएको हुनसक्छ । त्यस्तै यदि कोही व्यक्तिले सन् २०१८ वा २०१९ को ट्याक्स फाइल गर्दा उल्लेख गरेको १७ बर्षभन्दा कम उमेरको बच्चाबच्चीको मृत्यु भइसकेको छ तर उनीहरुलाई जोडेर थप ५ सय प्राप्त भएको हुनसक्छ । उक्त रकम फिर्ता गर्नुपर्ने आईआरएसले जनाएको छ ।

उदाहरणका लागि ज्वाइन्ट ट्याक्स फाइल गरेका दम्पत्तिमध्ये एकजनाको निधन भएको छ र २४ सय डलर प्राप्त भएको छ भने मृतकको भागको १२ सय डलरमात्र फिर्ता गर्नुपर्ने आईआरएसले जनाएको छ । त्यस्तै बच्चाबच्चीको सन्दर्भमा पनि मृत्यु भएकाको नाममा प्राप्त ५ सय डलरमात्र फिर्ता गर्नुपर्नेछ ।

यदि कोही व्यक्ति अमेरिकाको आवासीय व्यक्ति होइन तर उसले रकम प्राप्त गरेको छ भने पनि फिर्ता गर्नुपर्ने आईआरएसले जनाएको छ । आईआरएसको आवासीयको परिभाषामा पर्नका लागि निश्चित मापदण्ड पूरा गरेको हुनुपर्छ । यदि कुनै व्यक्ति ग्रिनकार्डवाहक होइन भने उक्त व्यक्ति आवासीयको परिभाषामा पर्नका लागि चालुबर्षमा ३१ दिन अमेरिकामा भौतिक रुपमा बसोबास गरेको र विगत ३ बर्षको अवधिमा कम्तीमा १८३ दिन अमेरिकामा बसेको हुनुपर्छ ।

१८३ दिनको बसाई गणना गर्दा चालुबर्षको सबै बसाई, अघिल्लोबर्षको ३ भागको एकभाग बसाई र अझ अघिल्लोबर्षको ६ भागको एकभाग बसाई गणना गरिन्छ । तर ए, जी, जे, क्यु, एफ र एम लगायतका भिसामा रहेका व्यक्ति प्रयाप्त समय बसेको भएपनि आवासीयको परिभाषामा पर्दैनन् । यदि आवासीयको परिभाषामा नपर्ने व्यक्तिले राहत रकम प्राप्त गरेको छ भने फिर्ता गर्नुपर्ने आईआरएसले जनाएको छ ।

यदि कोही व्यक्ति जेल परिसकेको छ र त्यस्तो व्यक्तिले रकम प्राप्त गरेको छ भने पनि त्यो रकम फिर्ता गर्नुपर्ने आईआरएसले जनाएको छ । यदि ज्वाइन्ट फाइल गरेको सन्दर्भमा दम्पत्तिमध्ये एकजनामात्र जेल परेको छ भने उसको भागको १२ सय डलरमात्र फिर्ता गर्नुपर्छ ।

यदि चेक प्राप्त भएको छ र रकम फिर्ता गर्नुपर्ने छ भने चेकको इन्डोर्स गर्ने सेक्सनमा भोइड लेख्नुपर्छ । त्यसपछि उक्त चेक आईआरएसको उपयुक्त ठेगानामा फिर्ता पठाउनुपर्छ । चेकमा स्टीच नलगाउन र नपट्याउन सुझाव दिइएको छ । साथै सानो नोट बनाएर चेक फिर्ता गर्नुपर्नाको कारण उल्लेख गर्न सुझाव दिइएको छ ।

यदि प्राप्त चेक साटिसकिएको छ वा डाइरेक्ट डिपोजिट प्राप्त भएको थियो भने फिर्ता गर्नुपरेमा पर्सनल चेक वा मनि अर्डर आईआरएसको उपयुक्त ठेगानामा पठाउनुपर्छ । चेक वा मनी अर्डर युएस ट्रेजरीका नाममा बनाउनुपर्छ । त्यस्तै २०२० ईआईपी लेखेर चेकप्राप्त गर्ने व्यक्तिको ट्याक्स आईडी वा सोसल सेक्युरिटी नम्बरसमेत उल्लेख गर्नुपर्छ । त्यस्तै रकम फिर्ता गर्नुपर्नाको कारण सहित एउटा नोटसमेत लेखेर पठाउन आईआरएसले सुझाव दिएको छ ।

रकम कसरी फिर्ता गर्ने वा कुन ठेगानामा गर्ने थाहा पाउन यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com