न्युयोर्कमा कोरोना प्रभावितको सहयोगमा बेतलबी फ्रन्टलाइनर आनन्द बिष्ट


प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार

कोरोनाको महामारीका कारण अहिले धेरैजना घरभित्रै बसिरहेका छन् । घरभित्रै फुर्सदको समय कसरी विताउने भन्नेमा लागिरहेका छन् । तर न्युयोर्क निवासी आनन्द बिष्ट झण्डै डेढ महिनादेखि हरेक दिन बेफुर्सदी छन् । उनलाई दिनभरको समय पनि अपुग अनुभव हुन्छ ।

विहान उठ्ने बित्तिकै उनको फोनको मेसेज बक्स विभिन्न मेसेजहरुले भरिएको हुन्छ । कोरोनाको महामारीबाट प्रभावित नेपालीहरुले सहयोगको आग्रह गर्दै विभिन्न मेसेजहरु पठाएका हुन्छन् । विहानैदेखि उनको फोनको घण्टी बज्न थाल्छ, त्यहाँ पनि कोरोना प्रभावित नेपालीहरुले सहयोगको आग्रह गरिरहेका हुन्छन् ।

अनि दिनभर कोरोनाको महामारी प्रभावितहरुका लागि सहयोग जुटाउँदैमा बित्छ । उनी दिनभर सहयोग आवश्यक परेकाहरुलाई सहयोग उपलब्ध गराउनका लागि समन्वय गरिरहेका हुन्छन् । कसैले औषधी आवश्यक भएको बताउँछन्, कसैले थर्मामिटर, मास्क, ग्लोभ्स वा सेनिटाइजर आवश्यक भएको बताउँछन्, कसैले बेरोजगारी विमाको फर्म भर्न नजानेको भन्दै फोन गर्छन् । उनी दिनभर सबैलाई सहयोगको प्रयास गरिरहन्छन् ।

आनन्द बिष्ट नेपाली जनसम्पर्क समिति अमेरिकामा सभापति हुन् भने नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हुन् । तर उनले अहिले भने राजनीतिभन्दा माथि उठेर कोरोनाबिरुद्ध सचेतना एवं सहयोग समुहको संयोजन गरिरहेका छन् । यो समुहमा विभिन्न राजनीति निकट भएका, नभएका, विभिन्न जिल्लाबाट अमेरिका आएकाहरुले गठन गरेका, विभिन्न जाती, धर्म, संस्कृति भएकाहरुले गठन गरेका झण्डै ३ दर्जन संघ संस्थाहरु संलग्न छन् ।

बिष्ट भन्छन् – ‘मार्चको तेश्रोसातापछि न्युयोर्कको अवस्था अत्यन्तै भयाभह बन्यो । धेरै नेपालीहरु प्रभावित भए । हामीले एउटै संस्था वा व्यक्तिले होइन, सामुहिक रुपमा सहयोगमा जुट्नुपर्ने आवश्यकता महसुस गरेर कोरोनाबिरुद्ध सचेतना एवं सहयोग समुह बनायौं । यसमा विभिन्न नेपाली संघ संस्था र ती संस्था सम्बद्ध साथीहरु हुनुहुन्छ । हामीले मार्चको तेश्रो सातादेखि यही समुहमार्फत प्रभावित नेपालीहरुलाई सहयोग गरिरहेका छौं ।’

मार्चको तेश्रो साता न्युयोर्कका नेपालीहरु निकै आत्तिएको अवस्था थियो । खासगरी कोरोना संक्रमणबाट नेपालीहरुको मृत्यु हुन थालेपछि र कैयन नेपालीहरु भेन्टिलेटरमा पुगेपछि स्थीति तनावग्रस्त बन्दै गएको हो । सुरुका दिनहरुमा फार्मेसीहरुमा पनि सेनिटाइजर, मास्क, ग्लोभ्स, टाइलोनोल, थर्मामिटर लगायतको अभाव थियो । यो अवस्थामा बिष्टको समुहले ती सामाग्रीहरु जुटाएर आवश्यक पर्ने नेपालीहरुलाई उपलब्ध गराउन सुरु गरेको थियो ।

बिष्ट भन्छन् – ‘मैले यो समुहको संयोजन गरेपनि एकदर्जन स्वयंसेवक साथीहरु फिल्डमा नै खटिरहनुभएको छ । कुनै राजनीतिक वा अन्य पूर्वाग्रह नराखी हामी सबै एकजुट भएर अति प्रभावितहरुको सहयोगमा जुट्यौं ।’

बिष्टले श्रोत संयोजन गरिरहेका थिए । पछि न्युयोर्कमा सेनिटाइजर, मास्क, ग्लोभ्स, टाइलोनोल, थर्मामिटर पाउन निकै समस्या हुन थालेपछि न्युयोर्क बाहिरका नेपालीहरुलाई पनि सम्पर्क गरेर ती सामाग्रीहरु पठाउन आब्हान गरियो । न्युयोर्कबाहिरका नेपालीहरुले पनि दिल खोलेर सहयोग गरे । आवश्यक सामाग्रीहरु किनेर न्युयोर्क पठाए ।

बिष्ट भन्छन् – ‘हामीसँग सामाग्री उपलब्ध हुनासाथ हामीले प्रभावितहरुलाई बाँड्न थाल्यौं । हामीले न्युयोर्कमा १४ वटा लोकेशन बनाएर प्रभावितहरुलाई पायक पर्ने क्षेत्रमा वितरण गर्यौं । कतिपयले ती लोकेशनहरुमा आएर सहयोग लिएर जानुभयौं । आउन नसक्नेहरुलाई हामीले घरघरमा पुर्यायौं ।’

खासगरी आफूलाई कोरोना संक्रमण भएका कारण वा परिवारका कुनै सदस्यलाई कोरोना संक्रमण भएका कारण बाहिर निस्कदा अरुलाई संक्रमण हुनसक्ने खतरा भएकाहरुलाई घरघरमा नै सामाग्रीहरु पुर्याइयो । त्यस्तै बृद्धबृद्धा, स्वास्थ्य समस्या भएका वा जोखिमपूर्ण अवस्थामा रहेकाहरुलाई पनि स्वयम्सेवकहरुले घरघरमा नै सामाग्रीहरु पुर्याए ।

पहिलो चरणमा औषधी, मास्क, सेनिटाइजर, ग्लोभ्स र थर्मामिटरको माग निकै चर्को रहेको थियो । यो अवस्थामा न्युयोर्क र न्युयोर्कबाहिरका विभिन्न व्यक्ति र संस्थाहरुले यी सामाग्रीहरु कोरोनाबिरुद्ध सचेतना एवं सहयोग समुहलाई उपलब्ध गराए । समुहले आवश्यक हुने व्यक्तिहरुलाई हस्तान्तरण गरिदियो ।

दोश्रो चरणमा खाद्यान्नको माग बढ्यो । खाद्य सामाग्री बाहिर किन्न जाँदा अरुलाई सर्ने भएकाले संक्रमित र संक्रमित भएको परिवारलाई खाद्य सामाग्रीहरु उपलब्ध गराइयो । अस्पतालले डिस्चार्ज गरेर घरमा पठाएकाहरु र जोखिमपूर्ण अवस्थामा रहेका बुढाबुढी तथा स्वास्थ्यसमस्या भएकाहरुलाई विशेष प्राथमिकताका साथ खाद्य सामाग्री उपलब्ध गराएको बताउँछन् बिष्ट ।

यो समुहले तेश्रो चरणमा न्युयोर्कमा एफवान स्टाटसमा रहेका विद्यार्थीहरुलाई सहयोग गरिरहेको छ । अहिलेसम्म एकसयजना भन्दा बढी विद्यार्थीहरुलाई सहयोग गरिसकिएको बिष्टले जानकारी दिए । बिष्ट भन्छन् – ‘हामीले सम्पर्कमा आएकाहरुलाई विदार्थीको आईडीमात्र हेरेर सहयोग उपलब्ध गराएका छौं । जे भएपनि उहाँहरु आवश्यक नपरी सहयोग लिन आउनुभएन होला । त्यसैले हामीले एफवान भिसामा रहेको वा नरहेको समेत नहेरी विद्यार्थी आईडीका आधारमा सहयोग गरेका छौं ।’

अहिलेसम्म बिष्ट संयोजक रहेको यो समुहले न्युयोर्कका झण्डै १ हजार नेपालीलाई विभिन्न प्रकारको सहयोग उपलब्ध गराइसकेको छ । विगत दुईहप्तादेखि भने औषधीको माग गर्नेहरुको चाप कम भएको बताउँछन् बिष्ट । अहिले बिरामी र संक्रमित नेपालीहरुको संख्या पहिलेजस्तो उच्चदरमा नभएको अनुभव भएको बताउँछन् उनी ।

न्युयोर्कबाटमात्र होइन, अन्य राज्यबाट पनि सहयोगको आग्रह गर्दै फोन आउने गरेको बताउँछन् बिष्ट । न्युयोर्कमा कुनै सामाग्री आवश्यक भएको भन्दै फोन गर्नेहरुलाई नजिक भएकाहरुलाई घरमा नै बोलाएर सामाग्री उपलब्ध गराउदै आएको र नजिक नहुनेलाई अरु १४ लोकेशनमा रहेका स्वयंसेवकसँग सम्पर्क गराइदिने गरेको बिष्टले बताए ।

कानुन व्यवसायीको सहयोग चाहिनेलाई कानुन व्यवसायीसँग र डाक्टरको सहयोग चाहिनेहरुलाई डाक्टरसँग सम्पर्क गराइदिने गरेको उनी बताउँछन् । उनी भन्छन् – ‘संक्रमितहरुले अस्पताल कसरी जाने भनेर फोन गर्नुहुन्छ । डिस्चार्ज हुनेहरुले आइसोलेसनमा कहाँ र कसरी बस्ने भनेर फोन गर्नुहुन्छ । उहाँहरुलाई सक्दो सहयोग गर्दै आएका छौं । दिनभर यस्तैमा बित्छ । महामारीको बेलामा कतिपयलाई फुर्सदको समय कसरी विताउने भन्ने भएको छ । तर मलाई भने समय अपुग भएको अनभुव हुन्छ ।’

सहयोगमा खट्ने क्रममा कैयन विर्सन नसकिने घटनाहरु समेत छन् बिष्टसँग । केहीदिन अगाडि एकजना नेपाली युवा कोरोना संक्रमण भएपछि घरमा एक्लै बसेका रहेछन् । सबै रुममेटहरु उनलाई छाडेर गइसकेका रहेछन् । उनी राती २ बजे अस्पतालमा भर्ना भएपछि बिष्टलाई फोन गरे । बिष्ट सम्झन्छन् – ‘ती भाई निकै आत्तिएका थिए । आफूलाई स्वास फेर्न गाह्रो भएको भन्दै बुबाआमालाई खबर गरिदिनुहोस् भन्दै रुदै थिए । मैले उनलाई केहीबेर सान्त्वना दिएँ । आधाघण्टापछि उनको कुराले म आफै ब्रेकडाउन भएँ । भोलिपल्ट फोन गर्दा राम्रो भएको रहेछ ।’

त्यस्तै अर्का एकजना नेपाली युवाको मृत्यु भएको स्थानमा पुग्दा मृत शरिर कोठाभित्र रहेको थियो । पाँच छ घण्टासम्मपनि प्रहरी आएको थिएन । प्रहरी कहिले आउला र मृत शरिर लैजाला भनेर कुरेर बस्नुपरेको क्षण अत्यन्तै दुखद रहेको बताउँछन् उनी ।

कोरोनाबिरुद्ध सचेतना एवं सहयोग समुहमा दिनरात खट्ने स्वयंसेवकहरु, आवश्यक सामाग्री उपलब्ध गराउने दाताहरु लगायत सबैलाई धन्यवाद दिन्छन् बिष्ट । उनी भन्छन् – ‘यो समुहमा कतिपय साथीहरु सुरुदेखि खट्नुभएको छ । कतिपय पछि जोडिएर खटिरहनुभएको छ । उहाँहरु परिवारको समेत परवाह नगरी खटिरहनुभएको छ ।’

त्यस्तै कोरोनाको महामारीका कारण अमेरिकामा कुनै नेपालीलाई समस्या भएमा आफूहरुलाई सम्पर्क गर्न उनले आग्रह गरेका छन् । उनी भन्छन् – ‘कुनै समस्या भएको छ भने वा निकै अप्ठ्यारो छ भने हामीलाई सम्झनुहोला । संघसंस्था चाहिने यस्तै अप्ठयारोका लागि हो । मानसम्मानका लागि संस्था चाहिदैन ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com