असाध्यै कडा दुई गैरआप्रवासी नियमको तयारीमा अमेरिका


प्रकाशित मिति : चैत्र २२, २०७३ मंगलबार

छोटो समयका लागि अमेरिका भ्रमण गर्न चाहने विदेशीहरुलाई समेत अब उनीहरुका मोबाइल सेटमा भएका सम्पर्क नम्बरहरु, सामाजिक सञ्जालका पासवर्डहरु र आर्थिक रेकर्डहरु समेत सार्वजनिक गर्न बाध्य पारिने गरी नियम ल्याउन लागिएको छ । अमेरिका प्रवेश गर्न चाहनेहरुमाथि गरिएको परिक्षण प्रकृयाको पुनरावलोकन गरिरहेका ट्रम्प प्रशासनका अधिकारीहरुले अमेरिका प्रवेश गर्न चाहनेहरुलाई उनीहरुको सिद्धान्त र विचारबारे पनि प्रश्न सोध्न सकिने नियम ल्याउन लागिएको जानकारी दिएका छन् ।

हरेक आवेकहरुलाई दूतावाहरुले भिसा अन्तरवार्ताका क्रममा थप प्रश्नहरु सोध्नुपर्ने र आवेदकको बारेमा थप अनुसन्धान गर्नुपर्ने ट्रम्प प्रशासनको चाहना रहेको छ । यो परिवर्तन फ्रान्स, जर्मनी जस्ता मुलुकहरु लगायत संसारभरका भिसा आवेदकका हकमा लागु हुने जनाइएको छ ।

मोबाइल सेटमा भएका सम्पर्क नम्बरहरु, सामाजिक सञ्जालका पासवर्डहरु र आर्थिक रेकर्डहरु समेत सार्वजनिक गर्न बाध्य पारिने

नयाँ नियमका बारेमा अहिलेसम्म सबै कुराहरु सार्वजनिक गरिएको छैन । तर यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिज्ञा गरे अनुशारको कडा छानविनको एउटा अंशका रुपमा हेरिएको छ । हुन लागेको यो परिवर्तनले अमेरिका र अमेरिकाबाहिर समेत ठूलो विवाद सृजना हुने देखिएको छ ।

ट्रम्प प्रशासनका अधिकारीहरुले आतंकवादबिरुद्ध लड्नु अहिलेको अत्यावश्यक कार्य रहेकाले हरेक कडा नियमले यसलाई पुष्टी गर्ने बताएका छन् । अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीका अधिकारीहरुले भिजिटर, शरणार्थी वा अन्य भिसा आवेदकबाट थप जानकारीहरु माग्नेगरी नियम ल्याउने तयारी भइरहेको जनाएका छन् ।

यो नयाँ नियम अमेरिकी भिसा वेभर कार्यक्रममा सहभागी ३८ देशका हकमा समेत लागु हुनसक्ने जनाइएको छ । अमेरिकासँग नजिकको सम्बन्ध रहेका बेलायत, जापान र अष्ट्रेलिया जस्ता देशका सन्दर्भमा समेत नयाँ नियम लागुहुनसक्ने बताइएको छ ।

अधिकारीहरुले मोबाइलमा राखिएका सम्पर्क नम्बरहरु समेत परिक्षण गर्न सक्ने गरी भिसा आवेदकका सम्पर्क फोननम्बरहरु समेत माग्ने आगामी परिवर्तनलाई अमेरिकी नीतिमा ठूलो परिवर्तनका रुपमा हेरिएको छ । आवेदकलाई आवेदन दिने क्रममा नियमितरुपमा फोन नम्बर माग्ने नभई अमेरिका छिर्ने क्रममा विमानस्थल लगायत अमेरिका छिर्ने नाकामा माग्न सकिने जनाइएको छ ।

अमेरिका छिर्ने व्यक्तिले कोसँग सम्पर्क गरिरहेको छ भन्ने जान्नका लागि यस्तो नियम ल्याउन लागिएको अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीका एक उच्च अधिकारीले बताएका छन् ।

हुन लागेको दोश्रो परिवर्तन भिसा वाहक वा आवेदकको सामाजिक सञ्जालमा खोलिएका एकाउन्टका सन्दर्भमा रहेको छ । जसअन्तरगत अधिकारीहरुले व्यक्तिका सामाजिक सञ्जालका पासवर्डहरु माग्न सक्नेछन् । जसबाट उनीहरुले सार्वजनिक रुपमा पोष्ट गरिएका बाहेकका गोप्यकुरापनि हेर्नसक्ने छन् । यदि कोही व्यक्तिले पासवर्ड लगायतका सुचनाहरु दिन इन्कार गर्छ भने त्यस्ता व्यक्तिलाई अमेरिका छिर्न नदिइने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जोन केलीले बताएका छन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका एक पूर्व उच्च अधिकारी लियोन रोडरिगेजले साँच्चीकै खराब व्यक्तिले फोनका सबै डेटाहरु सफा गरेर खाली फोन देखाउने भएकाले यस्तो खालको अभ्यासको उपादेयता हराउदै जाने बताएका छन् । रोडरिगेजले गत जनवरीसम्म युएससीआईएसका प्रमुखका रुपमा काम गरेका थिए ।

यस अगाडि नै अमेरिकी विदेशमन्त्रालयले भिसा आवेदकका सन्दर्भमा कडाईको प्रकृया सुरु गरिसकेको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले यस अगाडि नै विश्वभरका अमेरिकी दूतावासहरुका नाममा निर्देशन जारी गरेका थिए । जस अन्तरगत भिसा आवेदकलाई इमेल ठेगानाहरु, विगत पाँच बर्षमा प्रयोग गरेका सबै सामाजिक सञ्जालहरु, १५ बर्षदेखिको यात्रा, ठेगाना र रोजगारको इतिहास माग्न सकिने प्रावधान रहेको थियो ।

कम्युनिष्ट विचार भएका, धर्मनिरपेक्षतामा विश्वास गर्ने र अराजकतावादमा विश्वास गर्नेहरुलाई अमेरिका छिर्नमा कडाई गर्ने तयारी

ट्रम्प प्रशासनले डोनाल्ड ट्रम्पले चुनावी अभियानका बेलामा उठाएको वैचारिक परिक्षणलाई समेत कार्यान्वयनको तयारी गरिरहेको छ । अराजकतावादी विचार भएका र कम्युनिष्ट पार्टीका सदस्यहरुलाई जाँच्नका लागि त्यस्तो वैचारिक परिक्षणको विधी अपनाइने छ । यसअघि अमेरिकी संविधानमा विश्वास नगर्ने र घृणा तथा धर्मनिरपेक्षतालाई समर्थन गर्नेहरुलाई अमेरिका प्रवेश गर्न नदिइने ट्रम्पले बताएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com