अमेरिकामा पहिलो नेपाली कानुन व्यवसायी खगेन्द्र क्षेत्री छैठौं बर्ष पनि सुपर लयर


प्रकाशित मिति : चैत्र २५, २०७६ मंगलबार

अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खगेन्द्र क्षेत्री लगातार छैटौं पटक सुपर लयरमा पर्न सफल हुनुभएको छ । सन् १९८७ देखी अमेरिकामा बार लाईसेन्स प्राप्त गरेका अधिवक्ता क्षेत्रीलाई वकिलहरुको रेटिंग गर्ने संस्था सुपर लयर्सले सन् २०१४ देखी लगातार यस बर्ष पनि सुपर लयरमा पारेको हो ।

न्यूयोर्कको म्यानहाटनमा मुख्य कार्यालय रहेको क्षेत्री एण्ड एशोसियट्सका प्रेसीडेण्ट रहेका अधिवक्ता क्षेत्रीले ईमिग्रेशन लगायतका बिषयमा कानुनी सेवा दिंदै आउनुभएको छ । फोर्डधाम युनिभर्सीटीबाट जेडि गर्नुभएका क्षेत्रीले अमेरिकामा रहेर पनि नेपालका लागि समेत बिभिन्न समयमा ठुला मुद्धाहरु जित्दै समेत आउनुभएको छ ।

लगातार छैटौ बर्षसम्म सुपर लयरमा पर्न सफल भए पश्चात क्षेत्रीले सबै शुभचिन्तक, स्टाफहरु र सेवाग्राही सबैलाई धन्यबाद दिनुभएको छ । अमेरिकामा आएर पनि नेपालीले यो तहको उपलब्धी हासिल गर्नु आफुहरु क्षेत्री एण्ड एशोसिएट्सको मात्र नभई सिंगो समुदायको उपलब्धी भएको अधिवक्ता क्षेत्रीसंगै लामो समयदेखी कार्यरत प्रशासक पिताम्बर भुुसालले बताउनुभयो ।

एनआरएन अभियानमा नागरिकता सम्बन्धी मुद्धामा लागिरहनुभएका सुपर लयर क्षेत्री एनआरएन अमेरिकाको पुर्व अध्यक्ष तथा जनसम्पर्क समिति अमेरिकाका पुर्व संयोजक समेत हुनुहुन्छ । गुल्मी जिल्लाको सिर्सेनिमा जन्मेका क्षेत्री हाल न्यूजर्सीमा बस्दै आउनुभएको छ ।

खगेन्द्र जीसी अमेरिकामा कानुनी पेशामा आवद्ध पहिलो नेपाली वकिल हुनुहुन्छ । सन् १९६० मा बुबा पदमबहादुर जीसी र आमा भगवती जिसीका पुत्रका रुपमा गुल्मीको सिर्सेनीमा जन्मिनुभएका सन् १९७४ मा एसएलसी पास गरेपछि अध्ययनका लागि काठमाठौं आउनुभयो ।

काठमाडौंको ल क्याम्पसबाट उहाँले बीएल गर्नुभयो । त्यसपछि भारतमा ल विषयमा नै मास्टर्स गरेपछि उहाँले काठमाडौंको ल क्याम्पसमा पढाउन थाल्नुभयो । यसै दौरान सन् १९८३ मा कोलम्बिया युनिभर्सिटीमा अध्ययनका लागि उहाँ अमेरिका आउनुभयो ।

कोलम्बिया युनिभर्सिटीबाट कानुन विषयमा मास्टर्स गरेपछि उहाँले फोर्डम युनिभर्सिटीबाट जुरिस डाक्टर गर्नभएको हो । सन् १९८६ मा नै न्युयोर्कको चर्चित लिगल डिफेन्स एण्ड एजुकेशन फण्डमा ल क्लर्कका रुपमा काम गर्दा उहाँले अमेरिकी विद्यालयमा हुने भेदभाव, रंगभेद, मतदानको अधिकार र मृत्युदण्डका विषयमा काम गर्ने अवशर पाउनुभयो ।

त्यसपछि उहाँ अमेरिकामा नै लाइसेन्स लिएर कानुनी पेशामा आवद्ध हुनुभयो । र अमेरिकामा वकालत गर्ने पहिलो नेपाली वकिल बन्नुभयो सन् १९८७ मा । त्यसपछि उनले म्यानहटनमा रहेको एउटा ल फर्ममा काम गर्न थालुभयो । यसै दौरान उहाँले २०४७ सालको संविधानको ड्राफ्ट बनाउदा अमेरिकाबाट प्रतिनिधी भएर काम पनि गर्नुभयो ।

सन् १९९१ देखि सन् १९९३सम्म न्युयोर्कको मानवअधिकार आयोगमा एसिस्टेन्ट जनरल काउन्सील भएर गर्नुभएका जीसीले सन् १९९३ मा न्युयोर्कको सिटी हल नेर आफ्नै ल फर्म खोल्नुभयो । पछि सन् १९९५ मा म्यानहटनको सेभेन्थ एभिन्युमा ल फर्म खोल्नुभएका क्षेत्री अमेरिकामा चर्चित कानुन व्यवसायी हुनुहुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com