नेपालमा रहेका अमेरिकनलाई लिएर दोश्रो चार्टड विमान आइतबार आउने


प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार

नेपालमा रहेका अमेरिकनलाई लिएर अर्को चार्टड विमान काठमाडौंबाट आइतबार दिउसो १२ बजेर १५ मिनेटजाँदा काठमाडौंबाट अमेरिकाका लागि प्रस्थान गर्ने भएको छ । नेपालमा रहेका अमेरिकनलाई अमेरिका ल्याउनका लागि अमेरिकी सरकारले दोश्रो चार्टड विमानका लागि पनि स्वीकृति प्रदान गरेको र अप्रिल ५ मा उक्त विमान काठमाडौंबाट अमेरिका आउने काठमाडौंमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।

कतार एयरवेजको विमानमार्फत उनीहरुलाई अमेरिका ल्याउन लागिएको हो । यसपटक बाँकी रहेका र अमेरिका फर्कन इच्छुक रहेका सबै अमेरिकनहरुलाई ल्याउन सकिने अमेरिकी दूतावासले अपेक्षा गरेको छ । तत्कालका लागि तेश्रो चार्टड विमानको कुनै योजना नरहेको र आइतबारको उडानमा नजाने अमेरिकनहरुलाई व्यवसायिक उडानहरु सुचारु नहुन्जेल नेपालमै घरभित्र बस्न दूतावासले आग्रह गरेको छ ।

काठमाडौंबाहिर रहेका कैयन अमेरिकन नागरिकहरुलाई दूतावासको सहयोगमा हिजोमात्र काठमाडौं ल्याइएको छ । शुक्रबारसम्म काठमाडौं आउन नसकेका अमेरिकनहरुलाई जो जहाँ छ त्यही सुरक्षित तरिकाले रहन दूतावासले आग्रह गरेको छ । शुक्रबार बेलुकादेखि नेपाल सरकारले लकडाउनमा अझ कडाई गरेको र कुनै पनि प्रकारका स्थलमार्गबाट आउने यात्रुहरुलाई नेपाल सरकारले सम्पूर्ण रुपमा रोक लगाएकाले शुक्रबारपछि काठमाडौं आउन सम्भव नभएको दूतावासले जनाएको छ ।

यस अगाडि ३०२ जना अमेरिकन बोकेर कतार एयरवेजको पहिलो चार्टड विमान काठमाडौंबाट अमेरिकाका आइसकेको छ । अमेरिकी दूतावास काठमाडौंको पहलमा अमेरिकी विदेशमन्त्रालयले कतार एयरवेजको विमान चार्टड गरेर उनीहरुलाई अमेरिका ल्याएको हो ।  काठमाडौंबाट दोहा हुँदै उक्त विमान अमेरिकाको वासिंटन डिसीमा आएको हो ।

पहिलो प्राथमिकता ६५ बर्ष काटेका र स्वास्थ्य समस्या भएकाहरुलाई दिइएको थियो । दोश्रो प्राथमिकता बालबालिकाहरुलाई दिइएको थियो भने तेश्रो प्राथमिकता मेडिकल आवश्यकता भएका अन्य अमेरिकीहरुलाई दिइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com