अमेरिकाको कामदार भिसाको अनलाइन दर्ता समाप्त, छानिएकालाई मार्च ३१ मा सुचित गरिने


प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार

अमेरिकाको कामदार भिसा एचवान बीका लागि मार्च १ देखि सुरु भएको अनलाइन दर्ता प्रकृया आज समाप्त भएको छ । विगतका बर्षहरुमा कागजीरुपमा प्रारम्भिक दर्ता गर्नुपर्ने भएपनि योबर्षदेखि अनलाइन रजिस्ट्रेशन सुरु गरिएको हो । मार्च ३१ सम्म लोटरी प्रकृयामार्फत आवेदन छनैट गरेर छनौट हुनेहरुलाई सुचित गरिनेछ । छनौट भएका आवेदनहरुको बाँकी प्रकृया विगतका बर्षहरुको जस्तै हुनेछ ।

गतबर्ष अमेरिकाको कामदार भिसा एचवानबी जम्मा ६४१ जना नेपालीले प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जसमा कामदार भिसावाहक र उनीहरुका डिपेन्डेन्ट समेत गणना गरिएको छ ।

त्यस्तै सन् २०१८ मा ५७४ जना नेपालीले अमेरिकाको कामदार भिसा एचवान बी प्राप्त गरेका थिए । जसमा जसमा कामदार भिसावाहक र उनीहरुका डिपेन्डेन्ट समेत गणना गरिएको छ ।

अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐन सेक्सन १०१ (ए)(१५)(एच) अनुशार अमेरिकन रोजगारदाता कम्पनीले विशेष ज्ञान भएका विदेशी कामदारलाईमात्र यो भिसा अन्तरगत आवेदन दिनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो भिसामार्फत विश्वका विभिन्न देशबाट आइटी लगायतका क्षेत्रमा विशेष ज्ञान भएका कामदारहरु अमेरिका भित्रिने गर्छन्, जसमध्ये भारतीयहरुको संख्या सबैभन्दा धेरै रहेको छ । विशेष पेशाका लागि विशेष ज्ञान र कम्तीमा स्नातक तहको अध्ययन वा सो सरहको अनुभव हुन अनिवार्य छ ।

यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ । त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । यद्यपी अमेरिकामा सन् १९५२ को अध्यागमन तथा राष्ट्रियता ऐनले नै एच वान भिसाको श्रृजना गरेको थियो । तर पनि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी छुट्याइएको थियो ।

कामदार भिसाका लागि योग्यता

यो भिसाका लागि अमेरिका आउन चाहने व्यक्तिले आफै अनलाइनमा गएर सिधा आवेदन दिन सक्दैन । यदि उसलाई अमेरिकामा रहेको कम्पनीले रोजगारको अफर गरेको छ भनेमात्र उक्त रोजगारदाता कम्पनी वा उसको प्रतिनिधि वा उसको कानुन व्यवसायीलेमात्र अनलाइनमा गएर आवेदन दर्ता गर्नसक्छ ।

एचवानबी भिसामार्फत आउने पदका लागि लाभग्राहीको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।

कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।

कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।

त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।

लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।

वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।

वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।

वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।

सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् ।  यसरी दर्ता गराइएका आवेदनहरुलाई लोटरीमार्फत छनौट गरिन्छ । छनौटमा परेका आवेदनहरुकोमात्र प्रकृया अगाडि बढाइन्छ ।

गतबर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ । तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज बनाएको छ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।

पहिलेको नियम अनुशार ६५ हजार कामदारको कोटामा अमेरिकन डिग्री नभएकाहरुमात्र सहभागी हुन पाउथें । अमेरिकन डिग्री होल्डरहरु त्यसमा मिसिन पाउँदैनथे । तर  गतबर्षदेखिको नयाँ नियम अनुशार त्यो कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु सहभागी हुन पाउँछन् । यसो हुँदा ६५ हजारको कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु छानिन्छन् । त्यहाँ नछानिएका अमेरिकन डिग्री होल्डरहरुहरुले थप २० हजारको कोटामा पनि सहभागी हुन पाउँछन् ।

नयाँ नियमले अमेरिकन डिग्री नलिएकाहरुको एचवानबी कोटामा पनि अमेरिकन डिग्री होल्डरको अतिक्रमण बढाएको छ । अमेरिकाबाहिर पढ्नेहरुलाई भन्दा अमेरिकन डिग्री लिएकाहरुलाई मौका दिनका लागि नयाँ नियम ल्याइएको हो । अमेरिकामा डिग्री लिएर स्वेदश फर्किसकेको विद्यार्थीले पनि यो कार्यक्रमबाट लाभ लिन सक्छन् । उदाहरणका लागि कुनै नेपाली विद्यार्थी अमेरिकामा डिग्री लिएर नेपाल फर्किसकेको छ भने उसलाई नयाँ नियमले प्राथमिकतामा राख्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com