ट्रम्प राष्ट्रपति भएपछि अमेरिकामा १११ नेपालीबिरुद्ध मुद्दा, ८ नेपाली डिपोर्ट


प्रकाशित मिति : चैत्र १५, २०७३ मंगलबार

-किशोर पन्थी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता अमेरिकामा रहेका १ सय ११ जना नेपालीहरुबिरुद्ध देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा मुद्दा दायर गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । बराक ओबामाको कार्यकालका पछिल्ला ४ महिनामा जम्मा २१८ जना नेपालीहरुबिरुद्ध देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा मुद्दा दायर गरिएको थियो । यसरी हेर्दा ट्रम्पको कार्यकालका दुई महिनामा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा मुद्दा दायर गरेका नेपालीहरुको संख्या ओबामा कार्यकालमा भन्दा संख्या र प्रतिशत दुबैले बढेको छ ।

ओबामा कार्यकालमा प्रायजसो गैरकानुनी रुपमा सिमा पार गरेर आउनेहरुलाई देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा मुद्दा दायर गरिएको प्रतिशत धेरै थियो भने अन्य अध्यागमन उल्लंघनका कारण देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा मुद्दा दायर गरिएको प्रतिशत कम थियो । तर ट्रम्प कार्यकालमा भने अन्य अध्यागमन उल्लंघनका कारण देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा मुद्दा दायर गरिएको प्रतिशत धेरै रहेको छ ।

ट्रम्पको कार्यकालमा ५१ दशमलव ३ प्रतिशतलाई अन्य अध्यागमन उल्लंघनका कारण देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा मुद्दा दायर गरिएको छ । त्यस्तै ४० दशमलव २ प्रतिशतलाई गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिरेका कारण देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा मुद्दा दायर गरिएको छ । अन्य आपराधिक कृयाकलापमा संलग्न भएका कारण देशनिकालाका लागि अदालतमा मुद्दा दायर गरिएकाहरु ६ दशमलव १ प्रतिशत रहेका छन् । जघन्य अपराध गरेका कारण देशनिकालाका लागि अदालतमा मुद्दा दायर गरिएकाहरु २ दशमलव ३ प्रतिशत छन् भने अन्य कारणले शुन्य दशमलव १ प्रतिशतलाईमात्र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी मार्फत देशनिकालाका लागि अदालतमा मुद्दा दायर गरिएको छ ।

ओबामा कार्यकालमा नेपालीबिरुद्धका मुद्दा

राष्ट्रपति बराक ओबामाको कार्यकालमा आर्थिक बर्ष सन् २०१२ मा ७७० जना नेपालीबिरुद्ध देशनिकालाका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी मार्फत अध्यागमन अदालतमा मुद्दा दायर गरिएको थियो । त्यस्तै आर्थिक बर्ष सन् २०१३ मा ८२२ जना नेपालीबिरुद्ध देशनिकालाका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी मार्फत अध्यागमन अदालतमा मुद्दा दायर गरिएको थियो भने सन् २०१४ मा १०८२ जना नेपालीबिरुद्ध देशनिकालाका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी मार्फत अध्यागमन अदालतमा मुद्दा दायर गरिएको थियो ।

आर्थिक बर्ष सन् २०१५ मा १०८६ जना नेपालीबिरुद्ध देशनिकालाका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी मार्फत अध्यागमन अदालतमा मुद्दा दायर गरिएको थियो । त्यस्तै आर्थिक बर्ष सन् २०१६ मा १०८२ जना नेपालीबिरुद्ध देशनिकालाका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी मार्फत अध्यागमन अदालतमा मुद्दा दायर गरिएको थियो । आर्थिक बर्ष सन् २०१७ को ६ महिनामा ३२९ जना नेपालीबिरुद्ध देशनिकालाका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी मार्फत अध्यागमन अदालतमा मुद्दा दायर गरिएको छ । यो अनुपात हेर्दा सन् २०१७ मा देशनिकालाका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी मार्फत अध्यागमन अदालतमा मुद्दा दायर गरिने नेपालीहरुको संख्या केही कम हुने देखिन्छ ।

८ जना नेपालीले पाए देशनिकालाको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएयता अमेरिकी अध्यागमन अदालतबाट ८ जना नेपालीहरुले देशनिकालाको आदेश पाइसकेका छन् । आर्थिक बर्ष सन् २०१७ कै ओबामा कार्यकालमा चारमहिनामा २३ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए । आर्थिक बर्ष सन् २०१६ मा भने १२१ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए, जुन १२ बर्ष यताकै सबैभन्दा कम थियो ।

नेपालमा गएको विनाशकारी भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई टेम्पोरेरी प्रोटेक्टेड स्टेटस प्रदान गरेपछि अमेरिकी अदालतले देशनिकालाको आदेश दिएका नेपालीहरुको संख्या सन् २०१५ देखि ह्वात्तै घटेको हो । जुन सन् २०१६ मा अझ घट्यो । टीपीएस प्रदान गरेको आर्थिक वर्ष २०१५ मा अमेरिकी अदालतले जम्मा १ सय ४० जना नेपालीहरुलाई देश निकालाको आदेश दिएको थियो, जुन विगत ८ बर्षकै सबैभन्दा कम थियो ।

अमेरिकामा शरणार्थीका लागि आवेदन दिएपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगत युएससीआईएसले त्यस्तो शरणार्थी आवेदनका पक्षमा फैसला नगरेको खण्डमा डिपार्टमेन्ट अफ जस्टिस अन्तरगत ईओआईआरमार्फत देश निकालाको प्रकृयामा राख्ने कानुनी व्यवस्था रहेको छ । यसरी देश निकालाको प्रकृयामा राखिएका व्यक्तिले आफू शरणार्थी हुन योग्य रहेको थप प्रमाण अदालतसमक्ष पेश गर्न सकेको खण्डमा उसलाई अमेरिकामा बस्ने अनुमति प्राप्त हुनसक्छ । र शरणार्थी भई अमेरिकामा बस्ने अनुमति प्राप्त गरेको व्यक्तिले ग्रिनकार्डका लागि आवेदन दिन सक्छ ।

देश निकालाको प्रकृयामा राखिएका व्यक्तिले आफू शरणार्थी हुन योग्य रहेको प्रमाण पेश गरेर अध्यागमन न्यायाधिसलाई सन्तुष्ट पार्न नसकेको खण्डमा त्यस्ता व्यक्तिविरुद्ध अध्यागमन अदालतले देश निकालाको फैसला सुनाउने गर्छ । यसरी देश निकालाको फैसला पाउने अधिकांश नेपालीहरु डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगत शरणार्थीको मान्यता पाउन नसकेपछि होमल्याण्ड सेक्युरिटीले देश निकालाको प्रकृयासहित अदालतमा पठाएका व्यक्ति हुन् । त्यो बाहेक आइसले पक्राउ गरेका तर कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिएका र अपराधका कारण पक्राउ परेकाहरुलाईपनि डिपोर्टेशनको प्रकृयामा लगिन्छ ।

फैसला पाउनेहरु सबै डिपोर्ट हुँदैनन्

अमेरिकाको अध्यागमन अदालतबाट डिपोर्टको फैसला पाउनेहरु सबै डिपोर्ट हुँदैनन् । उनीहरुलाई त्यो फैसलाबिरुद्ध त्यो भन्दा उच्च अदालतमा जानसक्ने व्यवस्था पनि रहेको छ । त्यसैले अधिकांश नेपालीहरु अध्यागमन अदालतबाट डिपोर्टको फैसला पाइसकेपछि त्यो भन्दा उच्च अदालतमा जाने गरेका छन् । उच्च अदालतबाट उनीहरुको पक्षमा फैसला भएमा उनीहरु अमेरिकाबाट देशनिकाला हुनबाट बच्ने गरेका छन् । अर्कातर्फ स्वेच्छिक रुपमा देश निकालाको आदेश पाउने कैयन नेपालीहरु अमेरिकाभित्रै एउटा राज्यबाट अर्को राज्यमा गएर लुकेर बस्ने गरेका कारण पनि डिपोर्टको फैसला पाउने र वास्तविक रुपमा नै डिपोर्ट हुनेहरुको संख्यामा ठूलो अन्तर रहेको छ । अध्यागमन कानुनको उल्लंघनबाहेक अन्य अपराधमा परेकाहरुभने प्राय अनिवार्य डिपोर्टमा पर्ने गरेका छन् ।

सन् २०११ ऋगाडि नेपालीबिरुद्ध दायर देशनिकालाका मुद्दा

आर्थिक बर्ष सन् २०११ मा होमल्याण्ड सेक्युरिटीले ८४५ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । त्यसको अघिल्लो वर्ष सन् २०१० मा होमल्याण्ड सेक्युरिटीले ९१० जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । जसमध्ये जघन्य अपराधमा संलग्न २ जना रहेका थिए भने अन्य अपराधमा संलग्नहरु ५ जना रहेका थिए । सीमाबाट सीमा सुरक्षा अधिकारीलाई छलेर छिरेकाहरु १०१ जना र इमिग्रेशनको मामलामा ७७९ जना विरुद्ध मुद्दा हालिएका थियो । त्यो बाहेक अन्य मामलामा २३ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । जसमध्ये न्युयोर्कको इमिग्रेशन अदालतमा ३६८ जना विरुद्ध, टेक्सासमा १७२ र क्यालिफोर्नियामा १८२ जना विरुद्ध मुद्दा दायर गरिएको थियो ।

त्यसैगरी सन् २००९ मा होमल्याण्ड सेक्युरिटीले ८४८ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । सन् २००८ मा होमल्याण्ड सेक्युरिटीले ५२३ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । त्यस्तै सन् २००७ मा होमल्याण्ड सेक्युरिटीले ३९५ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । जसमध्ये जघन्य अपराधमा संलग्न २ जना रहेका थिए । सन् २००६ मा होमल्याण्ड सेक्युरिटीले ३३० जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । सन् २००५ मा होमल्याण्ड सेक्युरिटीले २८८ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेकोमा जघन्य अपराधमा संलग्न एकजना, अन्य अपराधमा संलग्न २ जना , सीमाबाट छिरेका १२ जना र इमिग्रेशनको मामलामा २७३ जना रहेका थिए ।

सन् २००४ मा २९३ जना, सन् २००३ मा २४२ जना, सन् २००२ मा १२३ जना, सन् २००१ म ७४ जना , सन् २००० मा ६९ जना, सन् १९९९ मा १४७ जना, सन् १९९८ मा १७५ जना र सन् १९९७ मा ३४ जना नेपालीविरुद्ध होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । त्यस्तै सन् १९९६ मा २२ जना, सन् १९९५ मा ५२ जना, सन् १९९४ मा १८ जना नेपालीविरुद्ध होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । सन् १९९४ मा मुद्दा दायर गरिएका १८ जनामध्ये सबै इमिग्रेशनसँग सम्बन्धित थिए भने सन् १९९३ मा मुद्दा दायर गरिएका ९ मध्ये ३ अपराध र ६ इमिग्रेशन रहेका थिए । त्यस्तै सन् १९९२ मा ८ जना नेपालीविरुद्ध होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो ।

(रिपोर्टमा प्रस्तुत तथ्यांकहरु अमेरिकी सरकारबाट लिइएका हुन् । )

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com