आजदेखि हिराशतमा रहेकाहरु बाहेकका सबै एसाइलमका सुनुवाई स्थगित, ११ अदालत बन्द


प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार

अमेरिकामा सबै अध्यागमन अदालतमा हिराशतमा रहेका बाहेक अन्य सबैका एसाइलम लगायतका सबै सुनुवाईहरु स्थगित गरिएको छ । अमेरिकाभरका अदालतमा सबै इन्डिभिजुअल हेयरिङदेखि मास्टर हेयरिङसम्म स्थगित गरिएका छन् ।

न्युयोर्कसिटीका ब्राडवे र फेडरल प्लाजामा रहेका अध्यागमन अदालतहरु बन्द गरिएका छन् । भेरिक स्ट्रीटमा रहेको अध्यागमन अदालत खुल्ला छ तर हिराशतमा रहेका बाहेक अन्य सबैका इन्डिभिजुअल हेयरिङदेखि मास्टर हेयरिङसम्म स्थगित गरिएको छ ।

एटलान्टा, शार्लोट, ह्युस्टन, लस एन्जलस अलिभ स्ट्रीट, लुईभिल, नेवार्क, शियाटल लगायतका अध्यागमन अदालतहरु बन्द भएका छन् ।

यसअगाडि अध्यामगन अदालतमा अप्रिल १० सम्मका लागि हिराशतमा रहेका बाहेकका अन्य आप्रवासीका मास्टर क्यालेण्डर सुनुवाई स्थगित गरिएको थियो । तर अहिले हिराशतमा रहेका बाहेकका अन्य आप्रवासीका सबै सुनुवाई स्थगित गरिएको छ । कहिलेसम्म स्थगित हुनेभन्नेबारे केही बताइएको छैन ।

अमेरिकाका अध्यागमन अदालतमा ३८४९ जना नेपालीका एसाइलमका केसहरु पेन्डिंग अवस्थामा रहेको डिपार्टमेन्ट अफ जस्टिस एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकमा उल्लेख छ । तीमध्ये सबैभन्दा धेरै न्युयोर्कको अदालतमा २ हजार ७२ जनाका केसहरु पेन्डिंग अवस्थामा रहेका छन् ।

अहिलेको स्थगनबाट कति नेपालीको मुद्दामा असर पर्ने भन्ने स्पष्ट छैन । तर नेपालीहरुको संख्या उल्लेख्य भएको देखिएको छ ।

युएससीआईएसका सबै अन्तरवार्ता र अप्वाइन्टमेन्ट स्थगित

युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतसबै अन्तरवार्ता र अप्वाइन्टमेन्ट स्थगित गरेको छ । युएससीआईएसले कम्तीमा अप्रिल १ सम्मका लागि एसाइलम अन्तरवार्ता, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ता, नागरिकता वितरण समारोहहरु, बायोमेट्रिक अप्वाइन्टमेन्ट लगायत सेवाग्राही उपस्थीत हुनुपर्ने सबै अप्वाइन्टमेन्ट स्थगित गरेको छ ।

युएससीआईएसका अधिकारीहरुले सेवाग्राहीलाई भेट्नु नपर्ने कामहरु भने निरन्तर जारी राख्ने जनाइएको छ । आपतकालिन अवस्थामा भने युएससीआईएसले आपतकालिन अप्वाइन्टमेन्ट कायम गर्न सक्ने र त्यसका लागि युएससीआईएसको सम्पर्क केन्द्रमा सम्पर्क गर्नुपर्ने जनाइएको छ ।

युएससीआईएसका फिल्ड अफिसहरुले सबै स्थगित अप्वाइन्टमेन्ट र नागरिकता समारोहका लागि आवेदक र सेवाग्राहीलाई सुचना पठाउने छन् । युएससीआईएसका एसाइलम अफिसहरुले पनि अन्तरवार्ता रद्द गरिएका सुचनाहरु पठाउनेछन् भने स्वत नयाँ अन्तरवार्ताको मिति तय गरिने भएको छ ।

एसाइलम अन्तरवार्ताको नयाँ मिति तय भइसकेपछि आवेदकले नयाँ मिति, स्थान र समयसहितको अन्तरवार्ताको सुचना प्राप्त गर्नेछन् । युएससीआईएसले साधारण कामकारवाही सुरु गरेपछि एप्लीकेशन सपोर्ट सेन्टरका बायोमेट्रिक लगायतका अप्वाइन्टमेन्टका लागि नयाँ मिति दिइनेछ ।

फिल्ड अफिसमा इन्फोपास वा अन्य कुनै अप्वाइन्टमेन्ट रहेकाहरुले युएससीआईएसको सम्पर्क केन्द्रमा सम्पर्क गरेर अप्वाइन्टमेन्टको नयाँ मिति लिनुपर्नेछ । भोलिदेखि नै युएससीआईएसले सेवाग्राहीसँग प्रत्यक्ष भेट्नुपर्ने सेवाहरु बन्द गर्ने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com