नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायत युएससीआईएसका सबै अन्तरवार्ता र अप्वाइन्टमेन्ट स्थगित


प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार

युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतसबै अन्तरवार्ता र अप्वाइन्टमेन्ट स्थगित गरेको छ । युएससीआईएसले कम्तीमा अप्रिल १ सम्मका लागि एसाइलम अन्तरवार्ता, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ता, नागरिकता वितरण समारोहहरु, बायोमेट्रिक अप्वाइन्टमेन्ट लगायत सेवाग्राही उपस्थीत हुनुपर्ने सबै अप्वाइन्टमेन्ट स्थगित गरेको छ ।

युएससीआईएसका अधिकारीहरुले सेवाग्राहीलाई भेट्नु नपर्ने कामहरु भने निरन्तर जारी राख्ने जनाइएको छ । आपतकालिन अवस्थामा भने युएससीआईएसले आपतकालिन अप्वाइन्टमेन्ट कायम गर्न सक्ने र त्यसका लागि युएससीआईएसको सम्पर्क केन्द्रमा सम्पर्क गर्नुपर्ने जनाइएको छ ।

युएससीआईएसका फिल्ड अफिसहरुले सबै स्थगित अप्वाइन्टमेन्ट र नागरिकता समारोहका लागि आवेदक र सेवाग्राहीलाई सुचना पठाउने छन् । युएससीआईएसका एसाइलम अफिसहरुले पनि अन्तरवार्ता रद्द गरिएका सुचनाहरु पठाउनेछन् भने स्वत नयाँ अन्तरवार्ताको मिति तय गरिने भएको छ ।

एसाइलम अन्तरवार्ताको नयाँ मिति तय भइसकेपछि आवेदकले नयाँ मिति, स्थान र समयसहितको अन्तरवार्ताको सुचना प्राप्त गर्नेछन् । युएससीआईएसले साधारण कामकारवाही सुरु गरेपछि एप्लीकेशन सपोर्ट सेन्टरका बायोमेट्रिक लगायतका अप्वाइन्टमेन्टका लागि नयाँ मिति दिइनेछ ।

फिल्ड अफिसमा इन्फोपास वा अन्य कुनै अप्वाइन्टमेन्ट रहेकाहरुले युएससीआईएसको सम्पर्क केन्द्रमा सम्पर्क गरेर अप्वाइन्टमेन्टको नयाँ मिति लिनुपर्नेछ । भोलिदेखि नै युएससीआईएसले सेवाग्राहीसँग प्रत्यक्ष भेट्नुपर्ने सेवाहरु बन्द गर्ने भएको छ ।

एसाइलमका ‘मास्टर हेयरिङ’ स्थगित

अमेरिकामा सबै अध्यागमन अदालतमा हिराशतमा रहेका बाहेक अन्य सबैका मास्टर हेयरिङ स्थगित गरिएको छ । आजदेखि अप्रिल १० सम्म हिराशतमा रहेका बाहेक अन्य सबैका मास्टर हेयरिङ स्थगित गरिएको डिपार्टमेन्ट अफ जस्टिस एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ ।

यसअगाडि न्युयोर्कसिटीदेखि सान फ्रान्सिस्कोसम्मका ६ वटा अध्यामगन अदालतमा अप्रिल १० सम्मका लागि हिराशतमा रहेका बाहेकका अन्य आप्रवासीका मास्टर क्यालेण्डर सुनुवाई स्थगित गरिएको थियो ।

All non-detained aliens’ master calendar hearings scheduled 03/16-04/10 are postponed. Usual operations for filings except Seattle. All other hearings proceeding.

— DOJ EOIR (@DOJ_EOIR) March 16, 2020

त्यस्तै वासिंटन राज्यमा रहेको शियाटल अध्यागमन अदालतमा अप्रिल १० सम्मका लागि सबै अध्यागमन सुनुवाईहरु स्थगित गरिएको छ । शियाटलको अध्यागमन अदालत अप्रिल १० सम्म बन्द नै रहने भएको छ । तर अन्य अध्यागमन अदालतहरु खुल्ला रहने भएपनि हिराशत बाहिर रहेकाहरुको मास्टर क्यालेण्डर सुुनुवाई हुनेछैन ।

शियाटलको इमिग्रेशन अदालत बन्द रहेको अवस्थामा इमर्जेन्सी फाइलिंग गर्न परेमा टकोमामा रहेको अध्यागमन अदालतमा गर्न सकिने भएको छ । अध्यागमन अदालतमा इन्डिभिजुअल हेयरिङ भने जारी नै रहनेछ ।

डीभी र गैरआप्रवासी भिसा अन्तरवार्ता रद्द

नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा अर्थात डीभी र  भिजिटर, विद्यार्थी भिसा लगायतका  गैरआप्रवासी भिसाका लागि तोकिएका सबै अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिएपछि अमेरिकी दूतावासले भोलिबाट लागु हुनेगरी भिसाका लागि अपोइन्टमेन्टहरु रद्द गरेको हो ।

यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुने दूतावासले जनाएको छ । पहिले नै बुझाएको भिसा शुल्कका आधारमा भविश्यमा एकवर्षभित्र नयाँ अप्वाइन्टमेन्ट लिन सकिनेछ ।

आपतकालीन अवस्थामा भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन दूतावासले भनेको छ । मेडिकल आवश्यकता, मृत्यु वा अन्त्येष्टी लगायतका मानवीय कारणले आपतकालिन अप्वाइन्टमेन्टहरु लिनसकिन्छ ।

दूतावासले स्थगन गरिएको भिसा सेवा छिटो सुरु गरिने जनाएको छ । यद्यपि, मितिबारे भने केही खुलाएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com