पहिले नै तय अन्तरवार्ताका लागि बाहेक एसाइलम अफिसमा नआउन आग्रह


प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार

पहिले नै तय अन्तरवार्ताका लागि बाहेक अन्य प्रयोजनका लागि विना अप्वाइन्टमेन्ट एसाइलम अफिसमा नआउन युएससीआईएसले आग्रह गरेको छ । सोमबारदेखि लागु हुनेगरी अमेरिकाका सबै एसाइलम अफिसमा वाक इन सहायता बन्द गरिएको छ ।

त्यस्तै अन्तरवार्ता बाहेकका अन्य सोधपुछ अप्वाइन्टमेन्टहरु पनि रद्द गरिएको छ । तर पहिले नै तय भएका एसाइलम अन्तरवार्तामा भने कुनै असर परेको छैन । कोरोना संक्रमण फैलिदै गएपछि युएससीआइएएसले यो कदम चालेको हो ।

एसाइलमका निर्णय, सुचना लगायतका कागजात लिनका लागि पनि अफिस नआउन युएससीआईएसले अनुरोध गरको छ । त्यस्ता सबै सुचनाहरु हुलाकमार्फत नै पठाइने भएको छ । एसाइलम अफिसमा सम्पर्क गर्न परेमा फोन, इमेल र हुलाकमार्फत सम्पर्क गर्न भनिएको छ ।

यदि बिरामी भएमा, कोरोना संक्रमणको आशंका भएमा पनि अप्वाइन्टमेन्टमा नआउन अनुरोध गरिएको छ । त्यस्तो अवस्थामा कुनै जरिवानाविना नै अर्को अप्वाइन्टमेन्ट तय गर्न आफूहरुले मद्दत गर्ने युएससीआईएसले जनाएको छ ।

युएससीआईएसको अल्बानीमा रहेको फिल्ड अफिस पुन: खुल्ला

युएससीआईएसको अल्बानीमा रहेको फिल्ड अफिस र एप्लीकेशन सर्पोट सेन्टर खुला गरिएको छ । सोमबारदेखि अनिश्चितकालिन बन्द गरिएको भन्दै युएससीआइएसले सुचना जारी गरिएकोमा मंगलबारदेखि भने खुला गरिएको छ ।

यदि बिरामी भएको खण्डमा अप्वाइन्टमेन्टहरु अर्को मितिमा सार्न भनिएको छ । तर नियमित अवस्थामा सबै अप्वाइन्टमेन्टका लागि कार्यालयमा आउन सेवाग्राहीहरुलाई अनुरोध गरिएको छ ।

तर विगत १४ दिनमा अमेरिका बाहिर कुनै पनि देशमा गएर फर्केको अवस्था भएमा भने अप्वाइन्टमेन्ट अर्को मितिमा सार्न भनिएको छ । त्यस्तै कोरोना संक्रमितसँग संसर्गमा रहेको आशंमा लागेमा वा फ्लुको जस्तो लक्षण भएमा पनि अप्वाइन्टमेन्ट सार्न भनिएको छ ।

अप्वाइन्टमेन्ट सार्दा कुनै जरिवाना नहुने युएससीआईएसले स्पष्ट पारेको छ । तर लक्षण देखिदा देखिदै अप्वाइन्टमेन्टका लागि कार्यालयमा आएमा भने अप्वाइन्टमेन्ट स्थगित गरेर पठाइने युएससीआईएसले जनाएको छ ।

अप्वाइन्टमेन्ट स्थगित गर्दा आवेदनको फैसलामा कुनै असर नपर्ने भएपनि आवेदनको फैसलामा ढिलाई भने हुनसक्ने देखिन्छ । टिबी, दादुरा, ठेउला वा अन्य संक्रमणहुनसक्ने रोग भएमा पनि अप्वाइन्टमेन्ट सार्न अनुरोध गरिएको छ ।

तत्काल अमेरिकाबाहिरबाट आएकालाई अप्वाइन्टमेन्ट स्थगित गर्न आग्रह

तत्काल अमेरिकाबाहिरबाट आएका सबैलाई ग्रिनकार्ड, नागरिकता र बायोमेट्रिक लगायत युएससीआईएसका अप्वाइन्टमेन्ट स्थगित गरेर नयाँ मिति लिन युएससीआईएसले सुचना प्रकाशित गरेको छ । विगत १४ दिनमा विश्वको जुनसुकै देशको भ्रमण गरेकाहरुलाई अप्वाइन्टमेन्टहरु स्थगित गर्न युएससीआईएसले सुचना प्रकाशित गरेको हो ।

विगतमा कोरोना संक्रमित मुलुकको भ्रमण गरेकाहरुलाईमात्र अप्वाइन्टमेन्ट स्थगित गर्न भनिएकोमा हिजोदेखि विगत १४ दिनमा विदेशको जुनसुकै देशको भ्रमण गरेकाहरुलाई पनि अप्वाइन्टमेन्ट स्थगित गर्न भनिएको छ । यदि विदेशको भ्रमण नगरेको खण्डमा पनि कोरोना संक्रमितसँग सम्पर्कमा रहेको आशंका लागेमा पनि अप्वाइन्टमेन्ट स्थगित गर्न भनिएको छ ।

सिगान बग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने वा ज्वरो आउने जस्तो फ्लुका लक्षण देखिएको खण्डमा पनि युएससीआईएसको अप्वाइन्टमेन्ट स्थगित गर्न भनिएको छ । युएससीआईएसले कुनै जरिवानाविना अप्वाइन्टमेन्ट स्थगित गरेर नयाँ अप्वाइन्टमेन्ट तय गर्ने सहयोग गर्ने बताएको छ ।

युएससीआईएसका अप्वाइन्टमेन्ट पछि सार्दा त्यसबाट आवेदनबारे लिइने फैसलामा कुनै असर पर्दैन । तर आवेदनको फैसलामा भने ढिलाई हुनसक्नेछ ।

युएससीआईएसले जारी गरेको सुचना नमानेर युएससीआईएसको अप्वाइन्टमेन्टमा नआउन अनुरोध गरिएको छ । यदि विदेशको भ्रमण गरेको १४ दिनभित्र वा बिरामी भएको अवस्थामा युएससीआईएसको अप्वाइन्टमेन्टमा आएको खण्डमा कुनै कारवाही अगाडि नबढाएर युएससीआईएसले फिर्ता पठाउनसक्नेछ ।

एसाइलमका ‘मास्टर हेयरिङ’ स्थगित

अमेरिकामा सबै अध्यागमन अदालतमा हिराशतमा रहेका बाहेक अन्य सबैका मास्टर हेयरिङ स्थगित गरिएको छ । आजदेखि अप्रिल १० सम्म हिराशतमा रहेका बाहेक अन्य सबैका मास्टर हेयरिङ स्थगित गरिएको डिपार्टमेन्ट अफ जस्टिस एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ ।

यसअगाडि न्युयोर्कसिटीदेखि सान फ्रान्सिस्कोसम्मका ६ वटा अध्यामगन अदालतमा अप्रिल १० सम्मका लागि हिराशतमा रहेका बाहेकका अन्य आप्रवासीका मास्टर क्यालेण्डर सुनुवाई स्थगित गरिएको थियो ।

त्यस्तै वासिंटन राज्यमा रहेको शियाटल अध्यागमन अदालतमा अप्रिल १० सम्मका लागि सबै अध्यागमन सुनुवाईहरु स्थगित गरिएको छ । शियाटलको अध्यागमन अदालत अप्रिल १० सम्म बन्द नै रहने भएको छ । तर अन्य अध्यागमन अदालतहरु खुल्ला रहने भएपनि हिराशत बाहिर रहेकाहरुको मास्टर क्यालेण्डर सुुनुवाई हुनेछैन ।

शियाटलको इमिग्रेशन अदालत बन्द रहेको अवस्थामा इमर्जेन्सी फाइलिंग गर्न परेमा टकोमामा रहेको अध्यागमन अदालतमा गर्न सकिने भएको छ । अध्यागमन अदालतमा इन्डिभिजुअल हेयरिङ भने जारी नै रहनेछ ।

डीभी र गैरआप्रवासी भिसा अन्तरवार्ता रद्द

नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा अर्थात डीभी र  भिजिटर, विद्यार्थी भिसा लगायतका  गैरआप्रवासी भिसाका लागि तोकिएका सबै अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिएपछि अमेरिकी दूतावासले भोलिबाट लागु हुनेगरी भिसाका लागि अपोइन्टमेन्टहरु रद्द गरेको हो ।

यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुने दूतावासले जनाएको छ । पहिले नै बुझाएको भिसा शुल्कका आधारमा भविश्यमा एकवर्षभित्र नयाँ अप्वाइन्टमेन्ट लिन सकिनेछ ।

आपतकालीन अवस्थामा भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन दूतावासले भनेको छ । मेडिकल आवश्यकता, मृत्यु वा अन्त्येष्टी लगायतका मानवीय कारणले आपतकालिन अप्वाइन्टमेन्टहरु लिनसकिन्छ ।

दूतावासले स्थगन गरिएको भिसा सेवा छिटो सुरु गरिने जनाएको छ । यद्यपि, मितिबारे भने केही खुलाएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com