मेरो ग्रिनकार्ड छ, म नेपालमा छु, के म अहिले अमेरिका आउनमा कुनै समस्या हुन्छ ?


प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार

यदि तपाईको ग्रिनकार्ड वा अमेरिकी नागरिकता छ । र अहिले तपाई नेपालमा हुनुहुन्छ भने तपाईलाई अमेरिका आउनमा कुनै समस्या हुनेछैन ।नेपालबाट कुनै पनि प्रकारका अन्य भिसामा अमेरिका आउनका लागि पनि रोक लगाइएको छैन । त्यसैले तपाई ढुक्कसँग अमेरिका आउनसक्नुहुन्छ ।

तर तपाई अमेरिकी ग्रिनकार्ड वा नागरिकतावाहक हुनुहुन्न भने सकभर छिटो अमेरिका आउन सुझाव दिइएको छ । किनभने भविश्यमा अमेरिकाले अन्य देशहरुमाथि पनि प्रतिबन्ध लगाउने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

यदि तपाईको ग्रिनकार्ड वा अमेरिकी नागरिकता छ र तपाईले विगत १४ दिनमा युरोपका शेंगेन क्षेत्रका देशहरु, बेलायत, आयरल्याण्ड, इरान वा चीनको भ्रमण गर्नुभएको छ भने पनि तपाईलाई अमेरिका आउनमा रोक लाग्नेछैन ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार युरोपको शेंगेन, बेलायत, आयरल्याण्ड, इरान र चीनहुँदै अमेरिका आउन लाग्नुभएको छ वा विगत १४ दिनमा ती देशहरुमा जानुभएको थियो भने तपाईलाई अमेरिकाका १३ वटा विमानस्थलमा डाइभर्ट गराइनेछ । यदि कोरोनाभाइरसको कुनै लक्षण नदेखिएमा अन्तिम गन्तब्यमा जान दिइनेछ । तर गन्तब्यमा पुगेर १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

अमेरिकामा झरिसकेपछि सीबीपीले मेडिकल अन्तरवार्तासहित प्रकृयामा लैजानेछ । यदि कोरोनाभाइरसको लक्षण देखिएमा स्वास्थ्य मुल्यांकनका लागि सीडीसीलाई रिफर गरिनेछ । अमेरिकी सरकारले अमेरिकी नागरिक, ग्रिनकार्डवाहक , उनीहरुका परिवारका सदस्यहरु र केही अन्य भिसा वाहकलाई समेत अमेरिका आउनमा रोक लगाएको छैन ।

अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकका दम्पत्तिलाई पनि यस्तो प्रतिबन्ध लाग्दैन । २१ बर्ष मुनीका अविवाहित ग्रिनकार्डवाहक र नागरिकका अभिभावक वा बाबुआमामाथि पनि यस्तो प्रतिबन्ध लाग्दैन ।

त्यस्तै २१ बर्ष मुनीका अविवाहित ग्रिनकार्डवाहक र नागरिकका दाजुभाईदिदीबहिनीमाथि पनि यो प्रतिबन्ध लाग्दैन । अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकका बच्चा, पालनपोषण गरेका बच्चा, धर्मसन्तानका रुपमा अमेरिका आउन लागेकाहरुमाथि पनि यस्तो प्रतिबन्ध लाग्दैन ।

त्यस्तै कोरोना भाइरसको संक्रमण कम गर्न अमेरिकी सरकारको निमन्त्रणामा आउन लागेकाहरुमाथि पनि यो प्रतिबन्ध लाग्दैन । विमान वा पानीजहाजका क्रु मेम्बरका रुपमा अमेरिका आउनेहरुलाई पनि यो प्रतिबन्ध लाग्दैन ।

विदेशका सरकारी अधिकारीहरु र उनीहरुका परिवारका सदस्यहरुमाथि पनि यो प्रतिबन्ध लाग्दैन । त्यस्तै नाटो क्याटेगोरीमा भिसा पाउनेहरुलाई र संयुक्त राष्ट्रसंघको मुख्यालय सममति अनुरुप भिसा पाउनेहरुलाई पनि यो प्रतिबन्ध लाग्दैन ।

अमेरिकी स्वास्थ्यमन्त्रीले कुनै व्यक्तिले अमेरिकामा भाइरस नफैलाउने कुरा सीडीसी निर्देशकमार्फत ठहर गरेमा त्यस्तो व्यक्तिमाथि पनि प्रतिबन्ध लगाइदैन । अमेरिकी सरकारले कानुन कार्यान्वयनका लागि महत्वपूर्ण ठानेका व्यक्तिलाई पनि प्रवेशमा रोक लगाइदैन ।

अमेरिकाको राष्ट्रिय हितमा ठहर गरिएकाहरुलाई पनि प्रतिबन्ध लगाइदैन । साथै अमेरिकी सेना र उनीहरुका दम्पत्ति तथा छोराछोरीहरुलाई पनि प्रतिबन्ध लाग्दैन ।

अमेरिकी सरकारको प्रतिबन्धले एसाइलमका योग्यतामा कुनै असर पर्दैन । साथै अमेरिकाबाट देशनिकाला हुनबाट बच्ने राहतका लागि पनि यो घोषणाले कुनै असर गर्दैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com