सुपर ट्युजडे : १० राज्यमा बाइडेन र ३ राज्यमा बर्नी विजयी, क्यालिफोर्नियामा बर्नीको अग्रता
प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार

अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्नका लागि आवश्यक डेलिगेटसंख्या १९९१ मध्ये जो बाइडेनले अहिलेसम्म ५६६ सुरक्षित गरिसकेका छन् । मंगलबार १४ अमेरिकन राज्यहरु र अमेरिकन सामोआमा भएका ककस र प्राइमरीमध्ये बाइडेनले १० मा विजय हासिल गरेपछि उनी सबैभन्दा अग्रपंक्तिमा देखिएका छन् ।
अहिलेसम्म अर्का जल्दाबल्दा उम्मेदवार बर्नी स्याण्डर्सले ५०१ जना डेलिगेटहरु सुरक्षित गरिसकेका छन् । सुपर ट्युजडेमा भएका ककस र प्राइमरीमा बर्नीले तीन राज्यमा जित हासिल गरेका छन् भने क्यालिफोर्नियामा पनि अग्रस्थानमा रहेका छन् । अमेरिकन सामोआमा मात्र जितेका माइकल ब्लुमबर्गले चुनावी दौड परित्याग गरिसकेका छन् ।
अलाबामा, अर्कान्सास, मेन, मासाचुसेट्स, मिनेसोटा, नर्थ क्यारोलिना, ओक्लोहोमा, टेनेसी, टेक्सास र भर्जिनियामा बाइडेनले जितेका छन् । यी सबै स्थानमा बर्नी दोश्रो स्थानमा रहेका छन् । बर्नीले जितेका कोलोराडो र भर्मोन्टमा बाइडेन दोश्रोमा छन् तर युटाहमा माइकल ब्लुमबर्ग दोश्रोमा आए । बर्नी र बाइडेनले जितेका स्थानमा तेश्रोमा आउनका लागि भने ब्लुमबर्ग र एलिजाबेथ वारेनबीच प्रतिस्पर्धा देखिएको छ ।
एलिजाबेथ वारेनले आफ्नै गृहराज्यमा पराजय भोगेपछि उनको उम्मेदवारी अब अगाडि बढ्नेमा आशंका देखिएको छ । ५ जना उम्मेदवारमा तुल्सी गब्बार्ड सबै राज्यमा पाँचौं स्थानमा आएकी छिन् । जसका कारण अबका दिनमा उनको उम्मेदवारी अर्थहिन देखिएको छ ।
डेमोक्रेटिक पार्टीका राज्यका प्राइमरीहरु र ककसहरुमा मतदाताहरुले सम्भावित राष्ट्रपति उम्मेदवारहरुलाई मतदानमार्फत चुन्छन् । बन्द प्राइमरी वा ककसमा रजिस्टर्ड मतदाताहरुलेमात्र भोट हाल्न पाउँछन् ।
हरेक प्राइमरी र ककसमा डेलिगेट्सहरुको निश्चित नम्बर हुन्छ । उनीहरुले राष्ट्रिय महाधिवेशनमा आफ्नो राज्यको प्रतिनिधित्व गर्छन् । प्राइमरी वा ककसबाट जुन उम्मेदवारले आफ्नो पक्षका धेरै डेलिगेट्सहरु प्राप्त गर्छ, त्यही उम्मेदवारले राष्ट्रिय महाधिवेशन मार्फत प्राइमरी जितेर राष्ट्रपतिको अन्तिम प्रतिस्पर्धामा भाग लिन पाउँछ । पार्टीका आफ्ना स्वतन्त्र डेलिगेट्स र सुपरडेलिगेट्स पनि हुन्छन् । स्वतन्त्र वा सुपरडेलिगेटहरु कुनै निश्चित उम्मेदवारलाई मतदान गर्न बाध्य हुँदैनन् ।
डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन
डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जुलाई १३ देखि १६ सम्म हुनेछ । यो महाधिवेशनबाटै राष्ट्रपति र उपराष्ट्रतिका लागि पार्टीका तर्फबाट अन्तिम उम्मेदवारको टुंगो लगाइनेछ । ककस र प्राइमरीबाट छानिएका डेलिगेटसहरुले जुन उम्मेदवारका लागि छानिएका हुन्, त्यही उम्मेदवारलाई मत हाल्नुपर्छ भने स्वतन्त्र र सुपरडेलिगेटले आफूले चाहेको उम्मेदवारलाई मत हाल्न पाउँछन् ।
पहिलो राउण्डमा मतदान हुँदा उम्मेदवारका प्रतिबद्ध डेलिगेटहरुलेमात्र भोट हाल्न पाउँछन्, यति उनीहरुले भोट हाल्दा कसैको पनि बहुमत नआएमा स्वतन्त्र डेलिगेटहरुले भोट हाल्न पाउँछन् । पहिलो राउण्डमा कसैको पनि बहुमत नआएमा दोश्रो राउण्डमा प्रतिबद्ध डेलिगेटहरुले पनि जुनसुकै उम्मेदवारलाई भोट हाल्न पाउँछन् भने स्वतन्त्र वा सुपर डेलिगेटले पनि भोट हाल्न पाउँछन् ।
पहिलो राउण्डको चुनावबाट डेमोक्रेटिक पाईमरीमा छानिनका लागि राष्ट्रपति उम्मेदवारले कम्तीमा १९१९ मत ल्याउनुपर्नेछ । यदि पहिलो राउण्डमा उक्त मत ल्याउन नसकेको खण्डमा सुपरडेलिगेटहरुले समेत दोश्रो राउण्डमा त हाल्नेछन् र प्राइमरी जित्नका लागि २२९८ मत ल्याउनुपर्नेछ ।
विभिन्न राज्यबाट महाअधिवेशनमा प्रतिनिधित्व गर्ने डेलिगेट्सहरुको संख्या तय गरिएको हुन्छ । उदाहरणका लागि न्युयोर्कबाट २७४ प्रतिबद्ध डेमोक्रेटिक डेलिगेट्सले भाग लिनेछन् भने क्यालिफोर्नियाबाट सबैभन्दा धेरै ४१५ जना डेमोक्रेटिक डेलिगेट्सहरुले महाधिवेशनमा भाग लिनेछन् ।
महाधिवेशनबाट चुनिएका राष्ट्रपतिका एकजना डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकन उम्मेदवारसँग अन्तिम चुनावमा प्रतिस्पर्धा गर्नेछन् । सन् २०१६ को डेमोक्रेटिक नेशनल कन्भेन्सनमा हिलारी क्लिन्टनले २८४२ र बर्नी स्याडर्सले १८६५ मत ल्याएका थिए । र हिलारी क्लिन्टन नै ट्रम्मसँग चुनाव लड्नका लागि छानिएकी थिइन् ।
यसरी हुन्छ अमेरिकामा राष्ट्रपति चुनाव
अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।
यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।
५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।
सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।