स्कुल गए काम छुट्ने, काम गरे पढाइ


प्रकाशित मिति : चैत्र ११, २०७३ शुक्रबार

स्कुल नै नजाँदा पढाइ पूर्णरुपमा बन्द हुने भएकोले जसरी भएपनि घरको काम सकाएर पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यतामा छन्, विवाहित छात्राहरु । 

डीबी विष्ट
बझाङ । दाँतोलाकी रमा विष्ट (१४) हरेक दिन झिसमिसेमै उठ्छिन् । जति छिटो उठेपनि उनले घर बडाँरकुँडार, लिपपोत, गाई दुहुने, धान कुट्ने लगायतका काम सक्दा उज्यालो भइसक्छ । त्यसपछिको समय गाईवस्तु चराउन लैजाने र घाँस काटेर ल्याउनु हो । तर, घर फर्केर घाँसको भारी बिसाउन नपाउँदै स्कुलको घन्टी बज्दा उनको सातो जान्छ । त्यसपछि, हतारमा दुई गाँस टिपेर स्कुल पुग्दा हाजिर छुट्नु त उनका लागि सामान्य हो, कहिले त पहिलो घण्टीको विषय नै छुटिसकेको हुन्छ ।

स्कुलबाट फर्केर बिहान जंगल छोडेका गाईवस्तु खोज्ने काम पनि उनकै हो । त्यसपछि, फेरि एक भारी घाँस ल्याउँदा साँझ परिसक्छ । अनि सुरु हुन्छ, साँझको घरधन्दा । खाना बनाइ, परिवारका सदस्यलाई खुवाउँदा र सबैले खाएका भाँडा माझी सक्दा कतिबेला सुतिन्छ, उनी मेसो पाउँदिनन् । भोलिपल्ट बिहान निद्रा खुल्दा उनलाई उही दैनिकीले पर्खिरहेको हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहे गरेको दुई वर्षयता रमाका दिन यसरी नै बितिरहेका छन् । स्थानीय हिमालय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत रमा बुहारी भएर भित्रिएदेखि उनकै भनाई मान्ने हो भने आफ्नो ‘कर्म’ गरिरहेकी छिन् । उनी जस्तै विद्यायलमा अध्ययनरत अन्य ५३ जना विवाहित छात्राहरु यसैखाले घरधन्दा गर्दै पढाइ गर्छन् ।

एसइइ परिक्षाकाे बीचमा बच्चा हेर्दै छात्रा ।

हिमालय माविका प्रधानाध्यापक नन्दराम जोशीका अनुसार दा“तोला र आसपासका गाविसमा अधिकांश छात्राहरुको १२ देखी १५ वर्षको उमेरमा विवाह हुने गरेको छ जसले छात्राको हाजिरी दर निकै घटाएको छ । ‘अरु त अरु कक्षामा सधैं उत्कृष्ट हुने छात्राको पनि विवाह भएपछि पढाइ निकै कमजोर भएको पाएका छौं, घरमा काम बढी हुँदा उनीहरु विद्यालय नै आउन पाउँदैनन्’, उनी भन्छन् ।

जिल्ला समन्वय समिति बझाङको एक तथ्याङ्क अनुसार ०७० मा ५ सय २८ जना बालिकाले १० वर्ष भन्दा कम उमेरमा, ८ हजार ८ सय ४२ जनाले १० देखी १४ वर्षमा, ३३ हजार १ सय ३१ जनाले १५ देखी १९ वर्षको उमेरमा विवाह गरेका थिए ।

जिल्लाका विभिन्न विद्यायलमा यति नै मात्रामा विवाहित छात्रा छन् भन्ने कुनै तथ्याङ्क छैन । तर, यो संख्या १८ हजार भन्दा बढी हुनसक्ने महिला अधिकारकर्मी उमा केसीको अनुमान छ । केसी महिला अधिकार मञ्चका अध्यक्ष र जिल्ला स्वास्थ्य कार्यालयका पूर्व कर्मचारी समेत हुन् ।

कक्षा ७ मा पढ्दै गर्दा विवाह भएकी प्रियंका विष्ट (१३) विवाहपछि पोइली घरमा अत्याधिक काम गर्नुपर्दा पढाइमा समय दिन नसकेको बताउँछिन् । ‘बिहेअघि पनि काम त गर्नुपथ्र्यो तर, अहिले रातदिन भ्याईनभ्याई हुन्छ । पढ्न बसे काम छुटिहाल्छ’, उनी भन्छिन् । यसो भनिरहँदा बाल बुहार्तनको पीडा उनको अनुहारमा प्रस्टै झल्किन्थ्यो ।

विवाह गरेको भर्खर तीन महिना मात्र भएपनि कमला खड्का (१५) अहिले विवाह गरेकोमा पछुतो मानिरहेकी छिन् । स्थानीय जालपा उमाविबाट कक्षा १० को परीक्षा दिइरहेकी कमला घरको काममा ध्यान दिँदा पढाइ छुटेको पत्तो नै नपाउने बताउँछिन् । ‘माइतीमा धेरै समय पढाइ हुन्थ्यो, काम फुर्सदमा गरिन्थ्यो । अहिले काम सकाएर पढ्छु भन्दा समय नै हुँदैन’, उनी भन्छिन् ।

विवाहित छात्राले पढ्न चाहेमा घरको सम्पूर्ण काम सकाएर स्कुल जाने वा पढाई छोडेरै भएपनि काम गर्नेपर्नै बाध्यता देखिन्छ । स्कुल नै नजाँदा पढाइ पूर्णरुपमा बन्द हुने भएकोले जसरी भएपनि घरको काम सकाएर पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यतामा छन्, उनीहरु ।

चार वर्षअघि विवाह गर्दा गोमा कुमारी विष्ट (१५) कक्षा ६ मा पढिरहेकी थिइन् । विवाह गरेपनि पढाइलाई निरन्तरता दिइरहेकोले उनी अहिले कक्षा १० को अन्तिम परिक्षा दिइरहेकी छिन् । घरधन्दा, खेतीपाती र वैवाहिक सम्बन्धको व्यवस्थापनसँगै पढाइलाई अगाडि बढाउँदा धेरै असहज भएपनि सुखद भविष्य सोचेर दुःख गरिरहेको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘दुःख त हुन्छ, पढेपछि सुख पाइएला नी!’

तर, सबैले गोमाको जस्तो पढाईलाई निरन्तरता दिन सक्दैनन् । विवाह भएका कतिपय छात्राले घरधन्दा र छोराछोरी जन्माउनतिर लाग्दा पढाइलाई चटक्कै छोड्ने र विवाहपछि स्कुल आइरहेका कतिपय छात्रा नियमित नहुने देखिन्छ ।

जस्तो कि, आठ कक्षाको पढाई छोडी विवाह गर्दा दौलीचौरकी सर्मिला बोहरा १३ वर्षकी मात्र थिइन् । अहिले १६ वर्ष पनि नपुगेकी सर्मिला काखमा सात महिनाको छोरा स्याहारेर बसिरहेकी छिन् । यस्तै, दौलीचौरकै बसन्ती बोहरा (१८) ले १५ वर्षको उमेरमा कक्षा ९ मा पढ्दा पढ्दै विवाह गरेकी थिइन् । बसन्तीको साथमा अहिले डेढ वर्षको छोरा छ । र, उनी गर्भवती पनि छिन् ।

बच्चा जन्माएका छात्रालाई आमा, बुहारी र विद्यार्थीको भूमिका सँगसँगै निभाउन मुश्किल हुने र त्यसले उनीहरुको पढाइ पूर्णरुपमा प्रभावित हुने हिमालय माविकी शिक्षिका जानकी विष्ट बताउँछिन् । ‘घरमा परिवारको टोकसो, कामको चाप र पढाइको भारी एकै पटक परेपछि खेल्ने उमेरका नानीहरुले कसरी सम्हाल्छन् ? कसरी उनीहरुको व्यक्तित्व विकास हुनसक्छ ?’ उनको प्रश्न छ ।

दाँतोला लगायत रिलु, मेलविसौना, मष्टा, काँडा, सर्मा दौलीचौर, मौलाली, सैनपसेला, भातेखोला लगायत जिल्लाका २० भन्दा बढी ठाँउमा कामको लागि सानै उमेरमा विवाह गर्ने चलन कायमै भएकोले स्थानीय विद्यालयहरुमा कलिलै उमेरमै बुहारी बन्ने छात्राहरुको संख्या हरेक वर्ष उस्तै देखिन्छ ।

गाउँलेको सहमतिमा नै बालविवाह हुने गरेकोले प्रहरीमा यस सम्बन्धी उजुरी नै नर्पने जानकारहरु बताउँछन् । यसले गर्दा बालिकाहरुले बालापनमै घरव्यवहारको जिम्मेवारी लिनुपर्ने अवस्था कायमै रहेको देखिन्छ ।

नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंह रजस्वला नहुँदै छोरीको विवाह गरिदिए आमाबुबाले पुण्य कमाउने र स्वर्ग जान पाउने मान्यताका कारण जिल्लामा अधिकांश अभिभावकले उमेर नपुग्दै छोराछोरीको विवाह गरिदिने चलन रहेको बताउँछन् ।

बालविवाहले खासगरि बालिकालाई बढी शारीरिक र मानसिक तनाव हुने गरेकोले यो प्रचलन अत्यन्तै असामाजिक रहेको महिला तथा बालबालिका कार्यालयका प्रमुख लीला घलेको भनाई छ । उनका अनुसार यस्ता विवाहलाई समाजका जाने बुझेका र शिक्षित व्यक्तिहरुले नै पश्रय दिइरहेको र पुर्खौदेखि चल्दै आएको रीतिरिवाजका कारण अन्त्य गर्नु चुनौतीपूर्ण रहेको छ । सञ्चारिका फिचर सेवा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com