भारतको जलपाइगुडीबाट नौ बालकको उद्धार


प्रकाशित मिति : चैत्र ११, २०७३ शुक्रबार

झापा/महिला तथा बालबालिका कार्यालय झापाले भारतको न्यु जालपाइगुडीबाट ६ बालकको उद्धार गरेको छ । कार्यालयको बाल संरक्षण अधिकृत रेखनाथ दाहाल नेतृत्वको टोलीले भारत पश्चिम बंगालको न्यु जलपाइगुडीस्थित कोरक बालगृहबाट उनीहरूको उद्धार गरेको हो ।

उद्धार गरिएका बालकमा इलाम साङरुम्बाका रोशन विक, झापा पृथ्वीनगरका मिलन सार्की, जनकपुर मनरुगा–९ का संगीत अन्सारी, झापा भद्रपुर चोक घर बताउने विवेक साह तथा ठेगाना पत्ता नलागेका सुदीप राई र भुवन मगर छन् । उद्धार टोलीलाई सुदीपले आफ्नो घर पहाडमा रहेको बताएका छन् भने भुवन केही पनि बताउन नसकेको माइती नेपाल काँकडभिट्टाका प्रमुख गोविन्द घिमिरेले बताए ।

उद्धार गरिएका बालकहरूको उमेर नौदेखि १४ वर्षसम्म रहेको छ । उनीहरूलाई भारतबाट बुधबार राति नेपाल ल्याइपुर्‍याइएको दाहालले बताए । उनीहरूलाई अहिले माइती नेपाल काँकडभिट्टामा राखिएको छ । उनीहरू कसरी भारतसम्म पुगे भन्नेबारे हालसम्म केही पत्ता लागेको छैन । भारतीय प्रहरीले भने ती बालकहरूलाई सडकमा भौँतारिइरहेको भेटेपछि बालगृहको जिम्मा लगाएको बताएको थियो ।

स्पष्ट भएकालाई परिवारको जिम्मा लगाइने र अन्यलाई विभिन्न बाल कल्याणगृहमा राखिने जिल्ला बाल कल्याण अधिकारी इन्दिरा ओझाले बताइन् ।

रोकिएन बेचबिखन
विभिन्न संघसंस्थाले जति नै सक्रियता बढाए पनि पूर्वी नाका काँकडभिट्टा हुँदै भारत लगेर महिला तथा बालबालिका बेचबिखन गर्ने कार्य अझै रोकिएको छैन । भूकम्पपछि काठमाडौं, सिन्धुपाल्चोक, पोखरालगायतका युवतीसमेत काँकडभिट्टा नाका हुँदै भारत तथा तेस्रो मुलुक पुर्‍याइने गरेको माइती नेपाल काँकडभिट्टाका प्रमुख गोविन्द घिमिरेले बताए ।

माइती नेपालले सन् २०१६ मा काँकडभिट्टाबाट तीन सय ६६ महिला तथा बालबालिकालाई उद्धार गरेको थियो । १८ जनालाई विदेशमै गएर तथा तीन सय ४८ जनालाई काँकडभिट्टा नाकाबाटै उद्धार गरिएको थियो । सन् २०१७ को मार्च तेस्रो सातासम्ममा ७३ महिलाको उद्धार गरिसकेको उनले बताए । भारत, बंगलादेश, श्रीलंका तथा दक्षिण अफ्रिकासम्म नेपाली युवतीको बेचबिखन हुने उनले बताए ।

यसकारण बेचबिखन

गरिबी, घरेलु हिंसा, बालविवाह, बहुविवाह, बेरोजगारीजस्ता कारणले बेचबिखन हुने क्रम नरोकिएको माइती नेपाल काँकडभिट्टाका प्रमुख गोविन्द घिमिरेको भनाइ छ । आधाभन्दा बढी बेरोजगारीका कारण बेचबिखनमा पर्ने गरेको भन्दै उनले महिलामा देखासिकी गर्ने बानी डरलाग्दो गरी बढेकाले पनि थप समस्या निम्तिएको बताए । कतिपय महिला अज्ञानताका कारण बेचबिखनमा पर्ने भन्दै उनले कडा कारबाहीको व्यवस्था हुनुपर्ने बताए ।

उद्धार गरिएका महिलालाई ठेगाना पत्ता लगाएर परिवारको जिम्मा लगाउने काम झनै कठिन भएको उनले बताए । माइती नेपालले केही दिनअघि मात्रै काँकडभिट्टा नाकाबाट आठ महिलाको उद्धार गरेको थियो । तर, अधिकांश महिलाले नेपालको ठेगाना बताउन चाहेनन् । ‘एक महिलाले काठमाडौंको भृकुटीमण्डप घर बताइन्,’ उनले भने, ‘पछि प्रहरी साथीहरूले खोजी गर्दा इलामकी रहिछिन् ।’ नयाँ पत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com