एसाइलम आवेदकले अदालती सुनुवाईसम्म मेक्सिकोमा कुनुपर्ने नियम कार्यान्वयनमा अदालतको रोक
प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार
एसाइलम आवेदकले अदालती सुनुवाईसम्म मेक्सिकोमा कुनुपर्ने ट्रम्प प्रशासनको नियम नियम कार्यान्वयनमा अमेरिकाको संघीय अदालतले रोक लगाएको छ । नवौं सर्किट कोर्टले आज एक आदेश जारी गर्दै एसाइलम आवेदकले अदालती सुनुवाईसम्म मेक्सिकोमा कुनुपर्ने नियमको कार्यान्वयनमा रोक लगाएको हो ।
अदालतमा ३ जना न्यायाधिसमध्ये २ जनाले ट्रम्प प्रशासनको नियम कार्यान्वयनमा रोक लगाउने विषयमा मत राखेका थिए भने एकजनाले कार्यान्वयन हुनुपर्नेमा मत राखेका थिए । माइग्रेन्ट प्रोटेक्सन प्रोटोकल नामको यो नीति कार्यान्वयनपछि अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम खोज्ने हजारौंलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाइसकिएको छ ।

अहिलेसम्म झण्डै ६० हजार आप्रवासीहरुलाई माइग्रेन्ट प्रोटेक्सन प्रोटोकल अन्तरगत राखिएको छ । झण्डै एकबर्षअगाडि सान डिएगोबाट यो नीतिको कार्यान्वयन सुरु गरिएको थियो ।
गत अप्रिलमा एउटा संघीय अदालतले यो नियम कार्यान्वयनमा रोक लगाएको थियो । तर लगत्तै एकमहिनामा नै एउटा पुनरावेदन अदालतले ट्रम्प प्रशासनको नीतिलाई नै सदर गरेको थियो । गत अक्टोबरमा पुनरावेदन अदालतले यो नीतिलाई चुनौती दिइएका तर्कहरु सुनेको थियो ।

यो नीति कहिलेसम्म कार्यान्वयनमा रोक लाग्ने भन्ने कुरा निश्चित छैन । किनभने ट्रम्प प्रशासन यो आदेशबिरुद्ध सर्वोच्च अदालतमा जाने सम्भावना रहेको छ । सर्बोच्चले अधिकांश अध्यागमनका मुद्दामा ट्रम्प प्रशासनकै साथ दिदै आएको छ ।
अदालतको आदेशपछि मेक्सिकोमा कुरिरहेका आप्रवासीको सन्दर्भमा के हुने भन्ने केही बताइएको छैन । यसबारे अमेरिकी सरकारले पनि केही बताइसकेको छैन ।






