को होला ट्रम्पसँग भिड्नसक्ने डेमोक्रेटिक उम्मेदवार ?


प्रकाशित मिति : फाल्गुन ११, २०७६ आईतबार

अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा हुने चुनावी मिति नजिकिदै गर्दा चुनावी सरगर्मी पनि अत्यन्तै बढेको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट एकजना मुख्य उम्मेदवार छनौट गर्ने डेमोक्रेटिक नेशनल कन्भेन्सन नजिकिदै गर्दा विभिन्न राज्यमा डेमोक्रेटिक प्राइमरी र ककसहरु सम्पन्न भइरहेका छन् ।

तीनवटा डेमोक्रेटिक ककस र प्राइमरीबाट सबैभन्दा अग्रपंक्तिमा बर्नी स्याण्डर्स देखिएका छन् । धनाढ्य ब्यापारी माइकल ब्लुमबर्गले मार्च ३ मा १५ राज्यमा हुने ककस र प्राइमरीमा आफ्नो ध्यान केन्द्रीत गरिरहेका छन् भने त्यो भन्दा अगाडि साउथ क्यारोलिनामा फरबरी २९ मा प्राइमरी हुँदैछ ।

मार्च ३ को सुपर ट्युजडेले आगामी राष्ट्रपतिका चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट आउनसक्ने सम्भावित उम्मेदवारको छनक दिनेछ । किनभने उक्त दिन विभिन्न राज्यबाट १३४४ डेलिगेटमध्ये कस्को पोल्टामा कति पर्ने भन्ने कुराको निर्धारण गर्नेछ ।

चुनावी मैदानमा पिट बुटाजज, एमी क्लोबुचार, जो बाइडेन र एलिजाबेथ वारेन निकै चर्चामा रहेका छन् । त्यसमध्ये आयोवा ककसमा बर्नी स्याण्डर्सलाई चुनौती दिएका पिट बुटाजज विशेष चर्चामा छन् ।

तुल्सी गब्बार्ड र टम स्टेयर अझै चुनावी मैदानमा छन् । तर उनीहरुको प्रभाव भने निकै कम बन्दै गएको छ । विभिन्न सर्वेक्षणमा पनि उनीहरुको पक्षमा दुई वा त्योभन्दा कम प्रतिशत देखिएको छ ।

डेमोक्रेटिक पार्टीका १९ जनाले अहिलेसम्म चुनावी मैदान छाडिसकेका छन् ।

रिपब्लिकन पार्टीका तर्फबाट भने डोनाल्ड ट्रम्प लगभग एक्ला उम्मेदवार जस्तै हुन् । बिल वेल्डले उम्मेदवारीको घोषणा गरेपनि उनी अगाडि बढ्ने सम्भावना निकै कम रहेको छ ।

डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन

डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जुलाई १३ देखि १६ सम्म हुनेछ । यो महाधिवेशनबाटै राष्ट्रपति र उपराष्ट्रतिका लागि पार्टीका तर्फबाट अन्तिम उम्मेदवारको टुंगो लगाइनेछ । ककस र प्राइमरीबाट छानिएका डेलिगेटसहरुले जुन उम्मेदवारका लागि छानिएका हुन्, त्यही उम्मेदवारलाई मत हाल्नुपर्छ भने स्वतन्त्र र सुपरडेलिगेटले आफूले चाहेको उम्मेदवारलाई मत हाल्न पाउँछन् ।

पहिलो राउण्डमा मतदान हुँदा उम्मेदवारका प्रतिबद्ध डेलिगेटहरुलेमात्र भोट हाल्न पाउँछन्, यति उनीहरुले भोट हाल्दा कसैको पनि बहुमत नआएमा स्वतन्त्र डेलिगेटहरुले भोट हाल्न पाउँछन् । पहिलो राउण्डमा कसैको पनि बहुमत नआएमा दोश्रो राउण्डमा प्रतिबद्ध डेलिगेटहरुले पनि जुनसुकै उम्मेदवारलाई भोट हाल्न पाउँछन् भने स्वतन्त्र वा सुपर डेलिगेटले पनि भोट हाल्न पाउँछन् ।

सन् २०२० को डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशनका लागि झण्डै ४५९४ जना डेलिगेटहरु हुने अपेक्षा गरिएको छ जसमा कुनै उम्मेदवारप्रति प्रतिबद्ध ३८३६ र स्वतन्त्र सुपर डेलिगेटहरु ७५८ जना हुनेछन् । पहिलो राउण्डको चुनावबाट डेमोक्रेटिक पाईमरीमा छानिनका लागि राष्ट्रपति उम्मेदवारले कम्तीमा १९१९ मत ल्याउनुपर्नेछ । यदि पहिलो राउण्डमा उक्त मत ल्याउन नसकेको खण्डमा सुपरडेलिगेटहरुले समेत दोश्रो राउण्डमा त हाल्नेछन् र प्राइमरी जित्नका लागि २२९८ मत ल्याउनुपर्नेछ ।

विभिन्न राज्यबाट महाअधिवेशनमा प्रतिनिधित्व गर्ने डेलिगेट्सहरुको संख्या तय गरिएको हुन्छ । उदाहरणका लागि न्युयोर्कबाट ३२७ डेमोक्रेटिक डेलिगेट्सले भाग लिनेछन् भने क्यालिफोर्नियाबाट सबैभन्दा धेरै ४९५ जना डेमोक्रेटिक डेलिगेट्सहरुले महाधिवेशनमा भाग लिनेछन् ।

महाधिवेशनबाट चुनिएका राष्ट्रपतिका एकजना डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकन उम्मेदवारसँग अन्तिम चुनावमा प्रतिस्पर्धा गर्नेछन् । सन् २०१६ को डेमोक्रेटिक नेशनल कन्भेन्सनमा हिलारी क्लिन्टनले २८४२ र बर्नी स्याडर्सले १८६५ मत ल्याएका थिए । र हिलारी क्लिन्टन नै ट्रम्मसँग चुनाव लड्नका लागि छानिएकी थिइन् ।

यसरी हुन्छ अमेरिकामा राष्ट्रपति चुनाव

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com