अमेरिकी सर्वोच्च शिखरबाट मृत्यूलाई जित्दै यसरी फर्किएँ नेपाल


प्रकाशित मिति : चैत्र ९, २०७३ बुधबार

सञ्जय पण्डित/

२२ फेब्रुअरी २०१५ मा अमेरिकाको सर्वोच्च शिखर एकोन्कागुआ आरोहणका लागि काठमाडौंबाट प्रस्थान गरेँ । ६ दिनको पैदल यात्रापछि आधार शिविर पुगियो । सगरमाथासहित आठ हजार मिटरका हिमाल चढिसकेको हुनाले मैले झन्डै सात हजार मिटर (६९६२ मि) को हिमाल चढ्नु खेलाँची सम्झेँ । म अत्यन्तै चिसो समयमा गएको थिएँ । यो वर्ष २०१५ को अन्तिम आरोहण थियो हाम्रो । सबै फर्किसकेका थिए । एकोन्कागुआमा नोभेम्बरबाट आरोहण सुरु हुन्छ र मार्च १५ मा बन्द हुन्छ । सरकारले नै त्यसपछि हिमाल चढ्न रोक लगाएको छ ।

हामी १० मार्चमा चुचुरोमा पुग्नुपर्ने थियो । आरोहण दलमा अर्जेन्टिना, ब्राजिल, जापानिज र म गरी १० जना थियौँ । जसमध्ये ६ जनाले क्याम्प–२ बाट अगाडि जाने साहस गर्न सकेनन् । उनीहरू फर्किए ।

म मेरो गाइड, जापानको जोनिया र उसको गाइड बाँकी थियौं । हामी चारजना ६ हजार मिटरको अन्तिम क्याम्पमा पुग्यौँ । मौसम एकदमै राम्रो थियो । सगरमाथामा जस्तो त्यहाँ डोरी टाँगिएको हुँदैन । हिउँकै बाटोमा हिँड्नुपर्छ । त्यसलाई अल्पाइन सिस्टम (आफैँ बाटो बनाएर जाने) भनिन्छ ।

अन्तिम दिन हामीलाई ९ सय मिटरको दूरी तय गर्नुपर्ने थियो । बिहान पाँच बजे यात्रा सुरु गरियो । बिहान नौ बजे यात्राको अन्तिम गन्तव्य ६ हजार ७ सय मिटरको केभ भन्ने ठाउँमा पुगियो । त्यहाँ नजिकै पुग्दा जोनिया डरायो । ऊ नसक्ने बताएर थकित मुद्रामा तल फर्कियो । म पनि जानै नसक्ने अवस्थामा थिएँ । तर, मैले सोचेँ, नेपालबाट मलाई सरकारदेखि सबैले हेरिरहेका छन्, ‘सञ्जयले अर्जेन्टिनाको हिमाल चढ्न सक्छ कि सक्दैन ?’ मेरो गाइड बाउटीले मलाई अन्तिमसम्म साथ दियो ।

ऊ मलाई आइज भन्थ्यो । पटक–पटक अगाडि गएर बोलाउँथ्यो । ऊ धुरु–धुरु रोइरहेको थियो किनभने आरोहीको केही कारणले निधन भयो भने गाइड जेल जानुपर्ने नियम त्यहाँ रहेछ । मलाई त्यो हिमालमा दुई सय मिटरको दूरी पार गर्न आठ घन्टा लाग्यो । म कसरी चुचुरोमा पुगेँ । आफैँलाई थाहा छैन ।

सर्वोच्च शिखरमा पुगेपछि आमाबुबाको तस्वीर र नेपालको राष्ट्रिय झन्डा अनि नेपाली राष्ट्रिय पोशाक फर्फराएँ, फहराएँ । त्यतिबेला मैले तीन करोड नेपालीलाई एकैसाथ सम्झिएँ । जब म झर्न सुरु गरेँ । थकित थिएँ । ६ हजार मिटरको रेञ्जमा आइपुगेपछि हिँड्नै नसक्ने अवस्थामा पुगेँ ।

गाइड चिन्तित थियो । उसले पटक–पटक टेलिफोन गरेर रेक्स्यु टिम बोलाइरहेको थियो । गाइडले मलाई उतानो परेर सुत्न भन्यो । मैले सोचेँ कि उसले मलाई मार्न खोज्यो । आवेगमा आएर भनेँ, ‘यु वान्ट टु किल मी ?’ उसले जहाँ ठूलो ढुंगा आउँछ त्यतिबेला सुत्न भन्थ्यो । मलाई लाग्यो कि उसले माथिबाट ढुंगाले किचेर मार्न खोजिरहेको छ ।

मैले मार्न खोजेको आशंका गरेपछि हाम्रो झगडा भयो । माथि चढ्ने बेलामा औषधि सेवन नगर्ने तर फर्कँदा ‘डाइमोक्स’ नामको औषधि सेवन गर्न दिँदो रहेछ । इन्जेक्सनबाट । सायद उसले इन्जेक्सन लगाउन खोजेको थियो । त्यसरी इन्जेक्सन लगाएपछि तीन घन्टाजति फूर्तिका साथ हिँड्न सकिने रहेछ । तर, मैले हान्नै दिइनँ । मैले तल आएपछि मलाई रेस्क्यु गर्न आएको पुलिस देखेँ, त्यसपछि बाँच्छु कि भन्ने आशा गरेँ । उद्दार गर्न आएको प्रहरी केभ (६,७०० मि) मा थियो । त्यहीँबाट जोनियाँ फर्केको थियो । उद्धारमा गएका प्रहरीले मलाई इन्जेक्सन दियो । त्यसपछि हिँड्न सक्ने भएँ ।

मैले नेपालीमा अर्जेन्टिनीहरूलाई धेरै गाली गरेँ । रातको ११ बजे तेस्रो क्याम्प (६ हजार मिटर) मा आइपुगेँ र सुतेँ । त्यसपछि मैले के-के भनेछु । ठूलो आवाजमा तिमीहरूले मलाई मार्‍यौ भनेँ । पानी पनि खान मन लागेको थिएन ।

मेरो शरीरमा अक्सिजनको मात्रा ३३ प्रतिशत बाँकी रहेछ । मानिसलाई बाँच्नका लागि ८०/९० प्रतिशत अक्सिजन चाहिन्छ । तर, मेरो शरीरमा भएको अक्सिजन धेरै कम हो । चिकित्सकले तत्काल क्याम्प–२ मा झारेनौँ भने सञ्जयले भोलि सूर्य देख्न पाउँदैन भनेछन् ।

गाइडले मलाई भन्यो, ‘तेरो शरीरमा ३३ प्रतिशत अक्सिजन छ, यहीँ बसिस् भने भोलिसम्ममा मर्छस् ।’ उसले सम्झायो- नेपालमा तिम्रो बाबुआमा र श्रीमती छन् । तिमी जानुपर्छ ।’ मैले तल आउन मानिनँ । केही खाएको थिइनँ । शरीर लखतरान भएको थियो । सक्ने अवस्थै थिएन ।

गाइडले मेरो स्लिपिङ ब्याग घिसारेर टेन्टबाहिर ल्यायो । व्यापक जाडो भयो । घरमा बाबुआमा, श्रीमती सम्झेँ । भोलि बिहानको मृत्युलाई सम्झेँ र तल झर्ने निर्णय गरेँ । राति साढे १२ बजे ‘ड्राइ’ हिमालको अन्तिम काखबाट तल झरेँ । बेस क्याम्पमा आएपछि हिरो बनेँ । किनकि १० जनाको टोलीमा मैले मात्र  आरोहण गरेको थिएँ । बेस क्याम्पबाट हेलिकप्टरमा उद्दार गरी अन्तिम प्रवेश बिन्दूमा लिए । ९ मार्च मेरो जन्मदिन थियो । त्यहीँ जन्मदिन मनाएर नेपाल फर्किएँ । साझा पाेष्टबाट

-पण्डित विश्व पर्वतारोही हुन् 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com