एटिएम ठगीको नयाँ शैली : अनलाइनबाटै डाटा ह्याक, तीन करोड ३१ लाख चोरी


प्रकाशित मिति : चैत्र ९, २०७३ बुधबार

काठमाडौं /नक्कली एटिएममार्फत भइरहेको नयाँ शैलीको ठगी प्रहरीले पत्ता लगाएको छ । नेपालमै बसेर विदेशमा रहेका व्यक्तिहरूको एटिएम डाटा अनलाइनबाटै ह्याक गरेर एक समूहले करोडौँ पैसा निकालिसकेको प्रहरीले पत्ता लगाएको हो । त्यस्तो गिरोहका आठजना पक्राउ परेका छन् ।

दुई वर्षदेखि नक्कली एटिएमबाट पैसा चोरी गर्दै आएको गिरोहका नाइके सुरेश केसीसहितका आठजनालाई महानगरीय अपराध महाशाखाले तीन दिनको अनुसन्धानपछि पक्राउ गरेको हो । उनीहरूले हालसम्म काठमाडौं तथा पोखराका होटेल तथा पसलमा रहेका प्वाइन्ट अफ सेल (पिओएस) मेसिनहरूबाट तीन करोड ३१ लाख रुपैयाँ ठगी गरिसकेका छन् । गिरोहमा आबद्ध भारतीय नागरिक अभिषेक पाण्डेलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

पक्राउ पर्ने अन्यमा केवलशमशेर जबरा, अभिषेक नकर्मी, अनुज नकर्मी, विजय लामा र नदिम खान छन् । केवलशमशेर दुई वर्षअघि पनि एटिएम ठगी अपराधमा जेल परेर छुटेका हुन् । अभिषेक र अनुजले गिरोहका लागि सहयोगीका रूपमा काम गरेका थिए । त्यस्तै, लामा र खान प्वाइन्ट अफ सेल (पिओएस) मेसिन दुरुपयोग गरी ठगीमा सघाउने व्यवसायी हुन् । खानको क्षेत्रपाटीमा डी सोभिनियर नामको पसल छ भने लामाको भक्तपुरमा पौराणिक थान्का पसल छ । आफ्नो पसलमा रहेको पिओएस मेसिन दुरुपयोग गरेर उनीहरूले लाभ लिएको अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले बताए ।

एटिएम ठगीको नयाँ शैली
बिटक्वाइन कारोबारी र आइसिक्वु नामक एप्समार्फत सो गिरोहले विदेशी नागरिकको डेबिट तथा क्रेडिट कार्डहरूको डाटा चोरी गरेको अनुसन्धान अधिकृत रहेका महाशाखाका डिएसपी अजय केसीले बताए । आइसिक्वु एप्समा रहने ब्रोकरहरूमार्फत उनीहरूले एटिएमको डाटा बेच्ने गर्दथे । ५० देखि ५ सय अमेरिकन डलरसम्म तिरेर उनीहरूले त्यस्ता एटिएम पिन नम्बरसहितको डाटा किन्ने र सोही डाटाबाट नक्कली एटिएम कार्ड बनाउँदै आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘सुरेश केसीले नै दिल्लीबाट मेग्नेटिप स्ट्रिप रिडर र राइटर मेसिन खरिद गरेको थियो,’ डिएसपी केसीले भने, ‘ल्यापटपमा सोही मेसिन जडान गरी खाली कार्डमा चोरीका डाटा भरेर नक्कली एटिएम कार्ड बनाउँदै आएको अनुसन्धानमा देखिन्छ ।’

कार्ड स्वाइप गरेर सपिङ गर्न पिनकोड नचाहिने भएकाले उनीहरूले त्यसरी बनाइएका नक्कली कार्डमार्फत सपिङ गर्दै आएका थिए । तर, सपिङ गर्दा थोरै मात्र पैसा चोर्न सकिने भएकाले पिओएस मेसिन चलाउने पसल सञ्चालकहरूसँगै मिलेर चोरी धन्दा चलाउँदै आएका थिए । पिओएस मेसिन चलाउने पसलेलाई ६० प्रतिशत तथा आफूहरूले ४० प्रतिशत लिने सर्तमा उनीहरूले स्वाइप मेसिन घरमै राखेर चोरी गरेको प्रहरीले जनाएको छ । त्यसरी स्वाइप गरेको पैसा पसल सञ्चालकहरूको खातामा जम्मा हुन्थ्यो । त्यही पैसा उनीहरूले बाँड्ने गरेका थिए ।

दुई वर्षदेखि चोरी
प्रहरीका अनुसार दुई वर्षपहिलादेखि नै केसीले नक्कली एटिएमबाट पैसा चोरी गर्दै आएका थिए । दुई वर्षअघि भारतको कपडा पसलमा नक्कली एटिएममार्फत तीन लाख रुपैयाँ ठगी गरेका थिए । त्यस्तै, पोखरामा रहेको टीका रिसोर्टमा रहेको पिओएस मेसिनबाट दुई करोड रुपैयाँ खर्च गरेको देखाएर निकालिएको अभियुक्त केसीले बताएका छन् । सो रिसोर्टलाई भने प्रहरीले छानबिनमा तानेको छैन ।

त्यस्तै, एक वर्षअघि क्षेत्रपाटीमा रहेको डी सोभनियर पसलमा रहेको पिओएस मेसिनबाट ३० लाख खर्च गरेका थिए । पसलका सञ्चालक नदिम खानसँग मिलेर उनले ठगी गरेका थिए । खान पक्राउ परिसकेका छन् ।

नौ महिनाअघि चाबहिलमा रहेको चाँदनी ज्वेलर्स पसलको मिलेमतोमा उनले ४७ लाख रुपैया“ निकालेका थिए । सो पसलका सञ्चालक पनि छानबिनमा तानिएका छैनन् । तीन महिनाअघि भक्तपुरमा रहेको पौराणिक थान्का पसलबाट ४५ लाख तथा १५ दिनअघि महाराजगन्जको लिक्वायर पसलबाट चार लाख रुपैयाँ निकालेको प्रहरीले जनाएको छ ।

थान्का पसलका सञ्चालक विजय लामा पक्राउ परीसकेका छन् भने लिक्वायर पसलका सञ्चालकका भाइ मिङमा शेर्पाको मिलेमतो देखिएको र उनी फरार रहेको प्रहरीले जनाएको छ । सो गिरोहले सिटी सेन्टरमा रहेको एडिडासको पसलमा रहेको पिओएस मेसिनबाट दैनिक १० लाख निकालेको थियो । त्यस्तै, काठमाडौंका क्यासिनोबाट समेत लाखौँ निकालिसकेको प्रहरीको भनाइ छ ।

यसरी खुल्यो पोल 

-मुख्य योजनाकार केसी विभिन्न व्यक्तिमार्फत पिओएस मेसिन चलाउने पसल सञ्चालकसँग सहकार्यको प्रयासमा थिए । त्यसका लागि उनले आफ्ना साथी अनुज नकर्मीलाई लगाए । महाराजगन्जको लिक्वायर पसलसँग नकर्मीको सामान्य चिनजान थियो । उनका भाइ अभिषेक नकर्मीको पसल सञ्चालकका भाइ मिङमा शेर्पासँग चिनजान थियो । मिङमासँग कुरा गरी सो प्रस्ताव राखे । उनी तयार भए । सोहीअनुसार नकर्मी दाजुभाइले सो डिलमा केवलशमशेर जबरालाई अघि सारे । जबराले कुरा गरेर नक्कली एटिएमार्फत पटक–पटक गरी चार लाखको मदिरा किने । मदिरा बेचेर उनीहरूले पैसा बाँडचुँड गरे ।

-तर, पसलका सञ्चालकलाई त्यसबारेमा थाहा थिएन । त्यसरी कारोबारको चार लाख रुपैयाँ बैंकले रोक्का गरिदियो । नक्कली एटिएम प्रयोग गरेर सपिङ भएको भन्दै बैंकले बताएपछि पसल सञ्चालकले प्रहरीमा उजुरी गरे । उनकै उजुरीका आधारमा प्रहरीले सुरुमा राणालाई पक्राउ गरी गिरोहका नाइकेसम्मलाई फन्दामा पारेको हो । मुख्य नाइके केसीलाई प्रहरीले शंखमुलको अर्याल होटेलबाट सोमबार पक्राउ गरेको हो । भारतीय नागरिक पाण्डे र केसीलाई सँगै प्रहरीले पक्राउ गरेको हो । भारतीय नागरिक पाण्डेसँग गिरोहको सम्बन्धबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूले तीन करोडभन्दा धेरै पैसा ठगेको देखिए पनि प्रहरीले पैसा भने बरामद गर्न सकेको छैन । यस्तो ठगीमा बैंकहरूको समेत भूमिका शंकास्पद रहेको प्रहरी अधिकारीहरूले बताएका छन् । ग्राहकको पैसा दिएर घटना गुपचुप बनाउँदा समस्या बढेको प्रहरीको भनाइ छ । नयाँ पत्रिकाबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com