बलात्कार प्रयास मुद्दामा महरालाई सफाइ, डिल्लीबजार कारागारबाट माला लगाएर विदाइ


प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार

काठमाडौं जिल्ला अदालतले बलात्कार उद्योगको मुद्दामा निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उहांलाई सफाइ दिएको हो ।

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो ।

निर्दोष ठहर भएसंगै आजै महरा डिल्लिबजार कारागारबाट जेलमुक्त हुनुभएको छ । संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उहा गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ पर्नुभएको थियो । महरा पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा अघि बढेको थियो ।

मुद्दाको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन कात्तिक १८ गते आदेश दिएको थियो । बलात्कार प्रयासको गम्भीर आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिनुभएको थियो । महरा १ सय ३ दिनपछि आज जेलमुक्त हुनुभएको छ ।

महरा डिल्लीबजार कारागारबाट माला लगाएर विदाइ हुनुभएको छ ।

उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com