म नहुँदा श्रीमतीलाई बेरंगी नबनाउनु ल !

प्रकाशित मिति : चैत्र ८, २०७३ मंगलबार

प्रतिमा सिलवाल/ रातो टीका लगाएको आफ्नो तस्बिर फेसबुकमा पोष्ट गर्दै लिली थापाले एकल महिलालाई रातो टीका अभियान चलाउन उत्प्रेरणा जगाइन् । उनको आव्हानपछि धेरै एकल र अन्य महिलाले रातो टीका लगाएका आफ्ना तस्बिर सामाजिक सञ्जालमा प्रस्तुत गरेर ऐक्यवद्धता जनाए ।

एकल, अझ परित्यक्त जीवनको चोट यति गहिरो हुन्छ, त्यसका अगाडि यस्ता सामाजिक अभियान केवल प्रदर्शन मात्र लाग्छन् । बाघको चित्र कागजमा कोरेर प्रस्तुत गरिएको कौशल र जंगलमा बाघसँग लडाईं नै लडेर बाँच्नु बीच जे भिन्नता छ, त्यस्तै लाग्छ मलाई एकल जीवनको सन्ताप र यस्ता अभियान बीचको सम्बन्ध ।

घटनाहरु आफैंमा सामान्य हुन्छन्, यदि त्यसले दिएका चोट अलग गरिदिने हो भने । जब चोट नै सहनुपर्छ, घटनाहरू सामान्य रहँदैनन्, त्यस भित्रका संवेदनाहरूले मान्छेको मुटु हल्लाइदिन्छन् । मैले चाँहि म आफैंलाई ठूलो चोट दिएको बाल्यकालको पीडादायी घटना सम्झन पुगेँ ।

मान्छे मर्नु भनेको के हो, म जान्न सक्ने उमेरकी पनि थिइनँ । मर्ने कुरा सुन्थेँ कहिलेकाहीँ, तर त्यो केटाकेटी खेलका संवादहरूको सीमा मात्रै बुझ्थेँ म । मृत्युको संवेदना घुल्न सक्ने मष्तिष्क म भित्र बनिसकेको थिएन ।

घटना २०५२ साल मंसिर महिनाको हो । बुबाको देहावसान भयो । बुबाको मृत्युले मैले के गुमाएँ, थाहा थिएन । नभोगुन्जेल मृत्यु ठट्टामा प्रयोग गरिने किस्सा जस्तै लाग्थ्यो । पछि बुझ्ने भएपछि थाहा पाएँ, मैले जीवनको प्रिय व्यक्ति गुमाएकी रहेछु । अझ आमाले के गुमाउनुभयो होला ? त्यो संवेदना यहाँ म व्यक्त गर्न सक्दिनँ ।

गाउँमा आमाको पुस्ताका महिलामध्ये सबैभन्दा पहिले एकल हुने मेरी आमा नै हुनुहुन्थ्यो । अघिल्लो दिनसम्म रातै पहिरनमा रहेकी आमालाई बुबाको निधन लगत्तै सेताम्मे देख्नुपर्‍यो । सेतो पहिरनमा आमालाई देखेर म निकै डराएकी थिएँ । मैले महिलाको त्यस्तो रुप कहिल्यै देखेकी थिइनँ, पहिलोपटक देखेँ आफ्नै आमालाई ।

ती मेरी स्नेही आमा नै होइनन् कि ? मलाई शंका लाग्थ्यो । आमाका सन्तप्त आँखाले दिएको स्नेहले मात्र म उहाँलाई ठम्याउँथेँ । कहिले उहाँको सेतो पहिरनमा झुम्मिन मन लाग्थ्यो । छुन हुँदैन भनेर सबैले रोक्थे । म एकदमै डराउँथेँ । डरले म काँपिरहेकी मात्र थिइनँ, मनमा ठूलो पहिरो लड्थ्यो । त्यो सम्झिँदा अहिले पनि अत्यास लाग्छ ।

सिन्दुर, पोते, टीका अनि रातो पहिरनमा सँधै देखेकी मेरी आमा पूरै फेरिनुभएको थियो । सपनामा पनि म पुरानो रुपकी आमा मात्र देख्थेँ । तर, मेरी आमा पुरै बेरंगकी भइसक्नुभएको थियो ।

काजको १३ दिनसम्म आमाले सेतै लुगा लगाउनु भयो । काजक्रिया सकिने बेला हाम्रो आँगनमा निकै खैलाबैला भयो, आमाले यसपछि कस्तो रंगको लुगा लगाउने भन्नेबारे । बुबाका ५ दाजुभाइमध्ये पहिलो निधन हुने मेरो बुबा नै हुनुहुन्थ्यो । विधवा हुँदा आमाले लगाएको लुगाजस्तै ठूलीआमा र काकीहरुको लागि पनि निर्धारण हुने भएकाले होला उहाँले अरु रंगका लुगा लगाउन पाउनेबारे चर्चा चलेको । निरिह आमा एउटा कुनामा बसेर कचहरी चुपचाप सुन्दै हुनुहुन्थ्यो । सेतो पहिरनमा उहाँ त्यसै त्यसै उजाड देखिनु भएको थियो । मनभित्र कस्तो बाढी आएको थियो होला, कस्तो तरंग चलेको थियो होला, अनुमान गर्दा पनि मेरो आङ सिरिंङ्ङ हुन्छ ।

आमालाई लगाउन दिने लुगाबारे पुरुष (बुबाका दाजुभाइ) टोली आँगनमा चर्चा गर्दै थिए । काकाले प्याच्च भन्नुभयो, ‘अरु के हुन्छ, विधुई टोप्रेल ल्याइदिने नि !’ काकीहरूबीच ‘विधुई टोप्रेल’ बारे चर्चा त सुनेको थिएँ, तर त्यो कस्तो हुन्छ मलाई थाहा थिएन ।

काकीहरू भन्थे, ‘यस्तो भर्खरकी मान्छेलाई के को त्यस्तो लुगा लगाउनु पर्‍यो, रातै ल्याइदिए भइगयो नि !’ तर, उनीहरू त्यो निर्णयमा सामेल थिएनन् । निर्णय त ठूलो’बा, काकाहरुकै लागू भयो । आमालाई त्यही ‘विधुई टोप्रेल’ ल्याइयो, अर्थात्, हरियो, सेतो, निलो मिसिएको, रंग फुंङ्ग उडेको फरिया ।मैले आफ्नो जीवनका ८ वर्ष मात्रै बुबासँग बिताएँ ।

बुबाबारे जति सम्झना छ, उहाँको बिरामी अवस्था मात्रै मेरो स्मृतिमा आउँछ । बुबाले मेलापात, घाँस दाउरामा आमालाई सघाउन सक्नुभएको मैले कहिल्यै देखिनँ । हुन त, आमाको विवाह नै ६ वर्षको उमेरमा भएको रे ! मामाघरको हजुरबुबा हजुरआमाले छोरा जन्मिने आशामा मेरी आमाको कन्यादान गरिदिएका रे ! त्यतिबेला बुबाको उमेर २५ अनि आमाको उमेर ६ वर्षको थियो । अनमेल विवाहको शिकार भएर आमाले आफ्नो जीवन गुजार्नुभयो, पुरुषवादी समाजको दास भएर जिउनुप¥यो ।

बुबा हुँदा आमाको शरीरमा रंगीन वस्त्र हुन्थे । मन रंगीन थियो कि थिएन ? जव बुबा बित्नुभयो, आमा बाहिर र भित्र दुवैतिरबाट रंगहीन हुनुभयो । आमाको वस्त्रको रंग त बुबा हुनुहुँदो रहेछ, मन भित्रको रंग पनि बुबा नै हुनुहुँदो हो । म त्यति जान्ने बुझ्ने भइसकेकी थिइनँ, तर उहाँले भुक्तानी गरेको संघर्षबाट अलिअलि अनुमान मात्र लगाउन सक्छु ।

म बुबालाई एकदमै माया गर्थें । बुबाको अभाव जीवनभर खट्किरह्यो । आजपनि उत्तिकै छ । तर, आमाको अस्तित्व बुबाबिना किन पूर्ण हुन सक्दैन भन्ने प्रश्न सँधै मेरो घाँटी–घाँटीसम्म आएर अड्किन्छ । बिहेपछि पहिरन लवाई फेरिनुपर्ने, फेरी श्रीमानको मृत्युपश्चात सबैथोक फेरिनुपर्ने । कस्तो सामाजिक संरचनाबाट ग्रसित छौं हामी ?

केही वर्षअघि मैले चितवनकी प्राध्यापक कल्याणी त्रिपाठीसँग रेडियो अन्तर्वार्ता लिएकी थिएँ । श्रीमानको् दुर्घटनामा निधन भएपछि उहाँ एकल बन्नुभयो । श्रीमान्को मृत्युपछि एउटा छोरा हुर्काउने एकल जिम्मेवारी उहाँले निभाउनु नै परेको थियो । त्यसमाथि, श्रीमानको मृत्युसँगै आफूबाट खोसिएको रातो रंगले उहाँलाई झन् मर्महात बनाएको रहेछ । जुन कुरा उहाँ विपनीमा कसैसँग गुनासो गर्न सक्नुहुन्नथ्यो । मात्रै सपनीमा गुनासो गर्नुहुने रहेछ, त्यो पनि आफ्नै श्रीमान्सँग । उहाँले रेडियो अन्तर्वार्तामा भन्नुभएको थियो– ‘म सपनामा श्रीमानलाई देख्थें । त्यतिबेला उनलाई मेरो एउटै प्रश्न हुन्थ्यो, तिमी त मरेर गयौ, गयौ मेरो रातो रंग किन लिएर गयौ ?’

साँच्चिकै, पुरुष आफ्नो मृत्युसँगै पत्नीको पहिरन फुङ्ग उडाएर किन जान्छन् ? के उनीहरूको चाहना आफ्नी पत्नी बेरंगकी होस् भन्ने होला ? श्रीमतीलाई बेरंगकी होउन् भन्ने भावना श्रीमतीलाई माया गर्ने एक श्रीमान्को मनमा हुँदैन जस्तो लाग्छ मलाई ।

हुन त, संस्कारको जन्जीरले यहाँ महिला पुरुष दुवै बाँधिएका छन् । विधवा भएपछि लगाउने रंगमा बाँधिएको बन्धन छिनाउने अभियानको सारथी पुरुष बन्नुपर्छ । पुरुषको सहभागिता बिना सामाजिक सञ्जालको रातो टीकाले मात्र यसलाई मेट्न सक्दैन । रातो टीका अभियान चलाइरहनुपर्ने अवस्थाबाट मुक्त हुने दिन श्रीमानहरूले नै ल्याउन सक्छन् । जीवनको अन्तिम सत्य मृत्यु हो, हामी अन्ततः मर्छौ, मात्रै ढिलो चाँडो हो । श्रीमानहरू बोल्नुस् अब, ‘म नहुँदा तिमी बेंरगकी नबन्नु’ भनेर । तर, महिलाले मात्रै चाहेर उनीहरू रंगीन हुन सक्दैनन्, यसैले पुरुषले समाजलाई पनि भन्न सकुन् – म नहुँदा मेरी श्रीमतीलाई बेरंगी नबनाउनु ।

दाजुभाइ, बुबाहरू सोच्नुस् त, तपाईंको श्रीमतीको मृत्यु हुँदा तपाईं जति विक्षिप्त हुनुहुन्छ, त्यो भन्दा कयौं गुणा विक्षिप्तता महिलामा आउँछ कि आउँदैन । तर, महिलाले अर्को जन्म लिएझैं उराठ जीवन लिएर किन बस्नुपर्ने ? एउटै जीवनमा महिलाले कतिपटक रुप फेर्नुपर्ने ? कहिले विवाहको नाममा । कहिले विधवाको नाममा ।

के हामी एक पूर्ण मानवचोला बाँच्न पाउँदैनौं ? अब तपाईंहरूले सिकाइदिनुस् पुरुषको अस्तित्व जति पूर्ण छ महिला पनि एकमै पूर्ण छिन् । महिला भने कहिल्यै एक्लै पूर्ण हुँदिनन् भन्ने संरचना अब हामीले भत्काउनुपर्छ । लिली थापाहरूलाई रातो टीका अभियान होइन महिलाको स्वतन्त्र अस्तित्वको अभियान चलाउन अभिप्रेरित गर्न सम्पूर्ण श्रीमानको पहल होस् । महिला खबर

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com