भुकम्प पीडित कतिले पाएनन् पहिलो किस्ता ?


प्रकाशित मिति : चैत्र ७, २०७३ सोमबार

काठमाडौँ–  भूकम्पको दुई वर्ष बित्न लाग्दासमेत अतिप्रभावित १४ जिल्लाका केही पीडितले अनुदान सम्झौता गर्न पाएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यामलाल भुसालले दिएको जानकारीअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा सम्पर्कमा नआएका, बस्ती जोखिममा परेका र जग्गाको स्वामित्व नभएका लाभग्राहीसँग मात्र अनुदान सम्झौता गर्न बाँकी छ ।

चैत ६ गतेसम्म अतिप्रभावित सिन्धुपाल्चोकका ७४ हजार ९२४ लाभग्राहीसँग मात्र अनुदान सम्झौता भएको छ । यो जिल्लामा अनुदान पाउने लाभग्राही ७८ हजार ५३७ छन् ।

सम्झौता गरेकामध्ये पनि सबैले पहिलो किस्ताको रकम पाएका छैनन् । सिन्धुपाल्चोकमा ७४ हजार ९१२ पीडितले पहिलो किस्ता बुझेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी मदन कोइरालाले दिनुभएको जानकारीअनुसार सिन्धुपाल्चोकमा १४ हजार ४४७ पीडितले गुनासो दर्ता गराएका छन् ।

त्यसैगरी, गोरखा जिल्लामा लाभग्राही सङ्ख्या ५८ हजार ५०३ रहेकामा ५३ हजार ३४९ सँग मात्र अनुदान सम्झौता भएको छ । पहिलो किस्ता पाउने ५२ हजार ६७५ छन् । गोरखामा १५ हजार ७४६ गुनासो दर्ता भएका छन् । रामेछापमा ४३ हजार ६०९ लाभग्राहीमध्ये ४० हजार ९११ ले अनुदान सम्झौता गरी ३९ हजार ७५९ ले पहिलो किस्ता बुझेका छन् । रामेछापमा १३ हजार ९७२ गुनासो दर्ता भएका छन् ।

धादिङमा ७० हजार ५८१ लाभग्राहीमध्ये ६३ हजार ९७८ ले अनुदान सम्झौता गरी ६२ हजार ८४९ ले पहिलो किस्ता बुझेको मन्त्रालयले जनाएको छ । जिल्लामा १५ हजार ५८९ ले गुनासो दर्ता गरेका छन् ।

नुवाकोटमा ६५ हजार ७७३ लाभग्राहीमध्ये ६२ हजार ४६ ले अनुदान सम्झौता गरी ६१ हजार ५७५ ले पहिलो किस्ता पाएका छन् । जिल्लामा लाभग्राही सूचीमा नपरेको भन्दै ११ हजार १८९ ले गुनासो गरेका छन् । दोलखामा ५१ हजार ९४० पीडितमध्ये ४८ हजार ११३ ले अनुदान सम्झौता गरी ४७ हजार ७९ ले पहिलो किस्ता पाई पुनःनिर्माण सुरु गरेका छन् । लाभग्राही सूचीमा नपरेको भन्दै २१ हजार ७१२ ले गुनासो गरेका छन् ।

ओखलढुङ्गामा १९ हजार ८१९ लाभग्राहीमध्ये १८ हजार ४८९ ले अनुदान सम्झौता गरी १८ हजार ३०१ ले पहिलो किस्ता पाएका छन् । ओखलढुङ्गामा सात हजार ८१० ले गुनासो पोखेका छन् । काभ्रेपलाञ्चोक जिल्लाका ६७ हजार ७३१ लाभग्राहीमध्ये ६० हजार ७२१ ले अनुदान सम्झौता गरी ५९ हजार ७५१ ले पहिलो किस्ता बुझेका छन् । लाभग्राही सूचीमा नपरेका २१ हजार ४३६ ले गुनासो दर्ता गराएका छन् ।

सिन्धुलीमा ३४ हजार २६९ लाभग्राही सूचीकृत भएकामा २८ हजार २६९ ले अनुदान सम्झौता गरी २६ हजार १६२ ले पहिलो किस्ता बुझेका छन् । १४ जिल्लामध्ये सिन्धुलीमा सबैभन्दा बढी ३० हजार ६०१ व्यक्तिले सूचीमा नपरेको भन्दै गुनासो गरेका छन् । ११ हजार २३६ लाभग्राही सूचीकृत भएको रसुवामा नौ हजार ६८२ ले अनुदान सम्झौता गरी नौ हजार १०६ ले पहिलो किस्ता बुझेका छन् । सबैभन्दा कम रसुवामा एकहजार ३६७ ले गुनासो दर्ता गरेका छन् ।

मकवानपुरका ३० हजार २३८ लाभग्राहीमध्ये २१ हजार ५६५ ले अनुदान सम्झौता गरी १९ हजार ४९० ले पहिलो किस्ता पाएका छन् । सूचीमा नपरेको उल्लेख गर्दै २६ हजार ९०९ जनाले गुनासो गरेका छन् । २५ हजार ८९३ लाभग्राही रहेको ललितपुरमा १९ हजार ६७५ ले अनुदान सम्झौता गरी १२ हजार ३९५ ले पहिलो किस्ता लिएका छन् । सूचीमा नपरेका छ हजार ११८ ले गुनासो दर्ता गरेका छन् ।

काठमाडौँका ४२ हजार ५०० लाभग्राहीमध्ये ३५ हजार १३६ ले अनुदान सम्झौता गरी ३० हजार ८९३ ले पहिलो किस्ता लिएका छन् । काठमाडौँमै ११ हजार ८५१ ले सूचीमा नपरेको भन्दै गुनासो दर्ता गरेका छन् । २६ हजार ६६ लाभग्राही सूची रहेको भक्तपुरमा २० हजार १५६ ले अनुदान सम्झौता गरी १९ हजार ५५३ ले पहिलो किस्ता बुझेका छन् । छ हजार ५८८ ले भक्तपुरमा सूचीमा नपरेकोमा गुनासो गरेका छन् ।

भूकम्प अतिप्रभावित १४ जिल्लामा हालसम्म छ लाख २६ हजार ६९५ पीडित लाभग्राही सूचीमा सूचीकृत भएकामा पाँच लाख ५७ हजार १४ लाभग्राहीले अनुदान सम्झौता गरी पाँच लाख ३४ हजार ५०० घरधुरीले पहिलो किस्ता बुझेका छन् । १४ जिल्लामा दुईलाख पाँचहजार ३३५ ले सूचीमा नपरेको भन्दै गुनासो दर्ता गराएको सहायक प्रवक्ता कोइरालाले बताए । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com