प्रणय दिवसका लागि गुलाफ आयातमा कमी


प्रकाशित मिति : माघ १९, २०७६ आईतबार

विगतको वर्षको तुलनामा यस वर्ष प्रणय दिवसका लागि रातो गुलाफ फूलको आयात कम हुने भएको छ। बजार माग कम भएकाले रातो गुलाफ फूलको आयात कम हुने भएको हो। गत वर्षको प्रणय दिवसका लागि एक करोड ५० लाख रुपैयाँ मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिएकामा यो वर्ष भने रु एक करोड मूल्यको एक लाख २० हजार ‘स्टिम’ गुलाफ मात्र आयात गर्न लागिएको हो ।

बजारको माग कमी रहेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा कम परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ । प्रणय दिवसमा खपत हुने एक लाख ५० हजार स्टिम गुलाफमध्ये एक लाख २० हजार बाहिरी देशबाट ल्याइने र ३० हजार स्वदेशमै उत्पादन हुने जनाइएको छ। एसोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफको यस वर्ष मूल्य बढ्ने छैन। नेपालमा वार्षिक २० करोडको गुलाफ फूलको कारोबार हुने गरेको छ। प्रणय दिवसकै लागि भने दुई करोडको कारोबार हुने गर्दछ। आन्तरिक उत्पादन ३० र बाह्य देशबाट आयात गरिने ७० प्रतिशत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने एसोसिएशनले जनाएको छ। प्रयोगकर्ताको कमी भएकाले विगतको वर्ष जस्तै यस वर्ष पनि प्रतिगुलाफ ७० देखि १०० रुपैयाँसम्म उपभोक्ताले खरिद गर्नुपर्ने हुनेछ।

पश्चिमा संस्कृति भएपनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ। प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्दछ तर उक्त दिनभन्दा एक हप्ताअघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ। प्रेमको प्रतिक मानिने रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई उपहारस्वरुप दिएर मनाउने गर्दछन्। नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ। फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ। गुलाफको व्यावसायिक खेती गरिने जिल्लामा काठमाडौँ उपत्यकाका तीन र काभ्रेपलाञ्चोक रहेको छ भने अन्य जिल्लामा यसको खेती विस्तार हुने क्रम रहेको छ।

व्यावसायिकरूपमा गुलाफका ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ। यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन्। नेपालमा लगभग १५३ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन्। विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ। प्रणय दिवसका लागि गुलाफ आयात धेरै गर्नुपरे पनि विशेषगरी तिहारमा प्रायेग हुने सयपत्री फूल यस वर्ष ५० हजार मात्रै माला ल्याइएको थियो। गत वर्षको तिहारका लागि भारतबाट ३० लाख रुपैयाँ बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो। तिहारमा मात्रै रु एक करोड फूलको कारोबार हुने गर्दछ। विस्तारै सयपत्री फूलमा आत्मनिर्भर हुने क्रम बढे पनि गुलाफमा स्वदेशी उत्पादनले नै धान्नका लागि केही वर्ष लाग्ने देखिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुलाफबाहेक अन्य सजावट र तिहारमा प्रयोग गरिने फूल अहिले स्वदेशमै ९० प्रतिशत उत्पादन हुन थालेकाले १० प्रतिशत भारतबाट ल्याउनुपर्ने बाध्यता छ। यसअघिका वर्षमा १८ प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो। नेपाली उत्पादन र आयात गरिएको गरी गत वर्ष एक अर्ब ८५ करोड रुपैयाँको फूलको कारोबार भएको थियो। तिहार र अन्य मौसममा गरी ११ करोड बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ। मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ। तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाफ आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ। अष्ट्रेलिया र मलेसियामा धेरै नेपाली बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com