प्रधानमन्त्री ओलीको तुहिएको सपना


प्रकाशित मिति : माघ १५, २०७६ बुधबार

हर्मन प्रसाद अर्याल

विहानीको कठ्याँग्रिनी जाडोमा सिरक भित्रबाट मेरा हात टेवलमा रहेको सेलफोन पुग्नका लागि सलवलाउछन् । सेलफोन टिप्छु र व्यानरमा रातभरी जम्मा भएका नोटिफिकेसनहरुलाई हतार हतार स्क्रल गरेर हेर्छु, मेरो देश समृकिो खबर कहाँ छापिएको छ भनेर ।

हतास हुन्छु जव संकलित समाचारकोे हेडलाईन “ ईन्जिनियर घुस सहित पक्राउ,” “देशमा राजनीतिक भ्रष्टाचार मौलाउदै, ” वलात्कृत अभियोगी सन्त भागे, ६ वर्षे वालिका वलात्कृत, कन्सट्रक्स्न कम्पनीको तेस्रो पटक म्याद थप, चिकित्सा शिक्षा आयोगका उपाध्यक्षद्धारा २० करोड घुस माग, ईत्यादी ईत्यादी समाचारले भरीएको पाउछु ।
देश विकासका दिर्घकालिन योजना अनि योजना कार्यन्वयनमा छलाङ्ग मारेको मेरो देशको समाचार पढ्न आतुर मेरा आँखा अन्यासै निरास हुन्छन् । म भाव विह्वल हुन्छु, मेरो देशले कहिले काँचुली फेर्ला ?

पुस्पकमल दाहालले भने जस्तै सिंगापुर कहिले वन्ला ? प्रधानमन्त्री ओलीले भनेको समृद्धि कहिले आउला ? के ज्ञानेन्द्र शाहीले भनेजस्तै शिक्षा स्वास्थ्य र रोजगारको अुभुती सजिलै गर्न सकिएला ? २०७४ सालको चुनावपछि नेकपाको २ तिहाई वहुमतको सरकार गठन भएपछि चाही मेरो मनमा निकै आशाहरू पलाएका थिए ।

अब त कसो देश नबन्ला ? नियम कानुन वनाउन देखि त्यसको कार्यन्वयन गर्न अब कस्ले रोक्ला ? नयाँ नयाँ योजना वनाई, वृहत्तर विकासको छलाङ्ग मार्न अब कस्ले छेक्ला ? भ्रष्टाचारलाई जरैबाट निर्मुल पार्नबाट कस्ले तगारो लगाउला ? वलात्कारीलाई जेल कोच्न कस्को ताकतले रोक्ला ? काम नगर्ने कर्मचारी र कन्सट्रक्स्न कम्पनीलाई आवस्यक कारवाही गर्न अब कस्को हात काम्ला ?

अनि शिक्षा, स्वास्थ्य, पर्यटन र जलस्रोतको क्षेत्रमा राष्ट्रिय एवं अन्तराष्ट्रिय कम्पनीहरुलाई संलग्न गराई द्रुत गतिमा विकासको छलाङ्ग लगाउने सपनामा कुठराघात गर्ने हिम्मत उसले गर्ला त ? भन्ने भावनाले म निकै फुरुङ्ग भएको थिए । त्यसै त्यसै मनभित्र धेरै नै हुटहुटी लागेर आउथ्यो । उर्जावान भएको थियो मेरो काया पनि ।

अझ ओली का भाषणले मलाई जुरुक जुरुक पाथ्र्याे । उनका निकै  खरा भाषण सुनेर धेरैजसो पत्रकार गिज्याएर पनि लेख्थे । तर म भित्र भित्रै हर्षित हुन्थे । सोच्थे मानिसले मनभित्रैबाट परिकल्पना गरेका परिदृश्यहरु पुरा हुन धेरै वेर लाग्दैन । स्वच्छ भावना अनि दृढ संकल्पले मानसपटलमा बनेको समृद्धिको चित्र ढिलो चाँडो पुरा भएर छाड्छ भन्ने पढेको थिए । र म यस कुरामा विश्वस्त नै थिए ।

मजाकी पारमा टुक्के बा का नामले परिचित ओलीजी को दिवासपना आज अरिङ्गालको गोलाभित्र दफन भएको छ । पाईपबाटै घरघरमा ग्याँस पुर्याउने, नेपालकै ध्वजावाहक पानी जहाज चढेर सरर यात्रा गर्ने, रेलयात्रा पुर्वपश्चिम चलाउने जस्ता गुलिया भाषणले सोझा सिधा जनताको मनमा विरवलको खिचडी पाक्ने आसा जस्तै भरोसा र विस्वास दिलाएको थियो ।

तर आज ती सबै नेपाली शव्दकोषबाट उधारो लिएर बोलेका विशिष्ट शव्द – जालका नाराहरु स्खलीत भैसकेका छन् । ति सबै जुरमुराउने भाषणहरु ब्यापारिक माफिया, शैक्षिक माफिया, भुमाफिया, एबं तस्करहरुको पैतालामुनी दमित भएका छन् । माफियाहरुले ओलि जी का उर्जावान भाषणहरुलाई अन्त्यष्टि गरेर खरानी पारिसकेका छन् । म लगाएत झण्डै ३ करोड नेपाली जनताको विकासको झिनो आसा र विश्वास, विश्वासघात  परिणत भएको छ ।

सत्ताको बागडोर राजाबाट रैतीमा आएको महसुस नै नगरीकन लाखौ लाख भावनाहरु यस पृथ्वीबाट विलिन हुने छन् । द्धन्दकालमा वेपत्ता पारिएका मानिसहरुका आफन्तहरुको आवाज, निर्मला पन्तको मानविकताको आवाज जस्तै दफनित पारिनेछन् ।

भ्रष्ट र माफियाहरुले नै नेपाल देशको शाषन सत्ता चलाउनेछन् । देशमा भ्रष्ट नेताहरु माफियाहरुको लंगोटभित्र दमित हुनेछन् । यति सबै थाहा हुदाहुदै पनि खै किन हो कुन्नी मेरा हात सिरकभित्रबाट हरेक विहानी सेलफोनको नोटिफिकेसनमा आँखा दौडाउन छाडेका छैनन् ।

अनि मेरो मनभित्र कोरिएको समृद्धिको चित्रको समाचार सेलफोनमा स्क्रोल गरी गरी खोज्न छाडेका छैनन् ।

अर्याल,गणित शास्त्रमा ओहायो युनिभर्सिटी अमेरिका मा पि.एच.डी अध्यनरत हून ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com