नेपाललाई हाम्रै पालामा विकसित गराउन लालायित छौँः एनआरएनए अध्यक्ष पन्त


प्रकाशित मिति : माघ १५, २०७६ बुधबार

गैरआवासीय नेपाली सङ्घ(एनाआरएनए)का अध्यक्ष कुमार पन्तले नेपालमा लगानी बढाउन, रोजगारी सिर्जना गर्न र नेपाललाई समृद्ध गर्न आफूहरु लागिपरेको बताएका छन् । रासससँगको अन्तवार्ता (मङ्गलबार) मा उनले सङ्घको विशाल सञ्जाललाई नेपाल सरकारले प्रयोग गरी नेपाललाई समृद्ध र विकसित पार्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘गैरआवासीय नेपाली सङ्घ विशाल मञ्च हो, यो विशुद्ध सामाजिक संस्था हो । नेपालको समृद्धिमा मञ्चलाई सरकारले प्रयोग गर्नुपर्छ । हामीले नेपाल र नेपालीका लागि आफ्नै पैसा खर्च गर्ने गरेका छौँ । हामी नाम कमाउने हिसाबले मात्र यसमा लागेका हैनौँ ।’ गैरआवासीय नेपाली सङ्घले आगामी अक्टोबरमा परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग मिलेर काठमाडौँ विश्वविद्यालय धुलिखेलमा दोस्रो ज्ञान सीप र प्रविधि सम्मेलन गर्ने जानकारी पनि उनले दिए । गत वर्ष अक्टोबरमा पनि सङ्घले नेपालमा सोसम्बन्धी सम्मेलन गरेको थियो । नेपालमा भएको पहिलो ज्ञान सम्मेलनबाट पारित श्वेतपत्रको कार्यान्वयनबारे परराष्ट्र मन्त्रालय र योजना आयोगसँग छलफल गरिएको उनले बताए । सङ्घका अध्यक्ष पन्तले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप, प्रविधि र पूँजी नेपालमा हस्तान्तरण र लगानी गराउन सङ्घले वातावरण सिर्जना गर्ने काम गरिरहेको बताए । उनका अनुसार करिब एक हजार गैरआवासीय नेपाली मिलेर कम्पनी स्थापना गरी शुरु गरिएको लमजुङको दोर्दीखोला जलविद्युत् आयोजना आगामी दुई महिनामा पूरा हुने भएको छ । सरकार र गैरआवासीय नेपाली मिलेर संयुक्त लगानीमा अर्को ठूलो आयोजना फेरि शुरु गरिने जानकारी पनि उनले बताए । समग्र सङ्घ आफैँले कुनै लगानी नगरी यसले संयोजनकारी भूमिका खेल्ने तथा लगानीको वातावरण सिर्जना गर्ने बताउँदै उनले गैरआवासीय नेपालीहरुले नेपालमा थुपै्र अस्पताल, बैंक, होटेल र जलविद्युत् आयोजनामा लगानी गरेर लाखौँलाई रोजगारी दिएको जानकारी पनि दिए । सङ्घ र सरकार मिलेर रु दश अर्बको म्युचुयल फण्ड स्थापना गर्ने र त्यसमा सरकारको पाँच प्रतिशत हिस्सा रहने विषयमा पनि उनले नेपाल आएका बखत प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै छलफल गरेका छन् र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको पाएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सङ्घले छुट्टै विशेष समिति बनाएको र विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्हरुले प्रचारप्रसार, गोष्ठी, सभा, समारोह उत्सवका कार्यक्रम आयोजना गरिरहेको बताउँदै उहाँले भ्रमण वर्षको शुरुका चरणमा विश्वका प्रमुख शहरमा झाँकी प्रदर्शन, पर्यटकीय केन्द्रका बस, मेट्रो, रेल र ट्राममा भ्रमण वर्षसम्बन्धी प्रचार सामग्री टाँसी प्रचारप्रसार गरेको जानकारी दिए । अष्ट्रेलियामा पहिले नै भ्रमण वर्षसम्बन्धी कार्यक्रम निश्चित गरिएको र तयारी अन्तिम अवस्थामा भइसकेकाले प्रचार कार्यक्रम गरिएको बताउँदै त्यहाँका नागरिक र अष्ट्रेलिया सरकारले पनि यसलाई सफल बनाउन खोजेको तथा हालैको आगलागीका समयमा त्यस्तो कार्यक्रम आयोजना हुँदा त्यति धेरै नकारात्मक अवस्था नदेखिएको जिकिर उनले गरे । उनका अनुसार नेपाली भाषा, संस्कृति र कलाको सम्बद्र्धन तथा प्रवद्र्धनका लागि सङ्घअन्तर्गत विभाग बनाइएको छ । हरेक देशले समिति बनाएर दोस्रो पुस्तामा नेपाली भाषासंस्कृति लिएर जाने योजना बनाएको छ । नेपाली भाषा अध्ययनअध्यापन गर्नका लागि नेपाली घनत्व बढी भएका ठाउँमा विद्यालय सञ्चालन गरिएको छ । देशदेशका खाद्य तथा सडक उत्सवमा कला, संस्कृति तथा झाँकी प्रदर्शन गर्ने काम भएको छ । नेपाल कला र संस्कृतिमा अत्यन्तै धनी भएको कुरा बुझाउन प्रचारप्रसार भएको छ । गैरआवासीय नेपालीले विदेशीलाई नेपालमा लगानी गर्नका लागि आफूसँगै संलग्न गराउन शुरु गरेको जानकारी दिँदै उनले दोहोरो करको समस्या आएकाले विभिन्न मुलुकसँग बिप्पा सम्झौता गर्नेबारे नेपाल सरकारसँग छलफल हुँदै गरेको र यसमा नेपाल सकारात्मक भएको पाइएको बताए ।

उनका अनुसार नेपालीहरु भारतबाहेक सत्तरी लाख बाहिर रहेकामा आधा खाडी एवं मलेसियामा रोजगारीमा छन् । कामका दौरानमा अङ्गभङ्ग हुने, मृत्यु हुने, कम्पनी र ब्रोकरले ठग्ने समस्या पाइएको बताउँदै अध्यक्ष पन्तले समस्यामा परेका नेपाली श्रमिकका लागि वकिलमार्फत सहयोग गरिदिने, ब्लड मनी सङ्कलन गरेर कारागारबाट छुटाउने र आफैँले रकम सङ्कलन गरेर सहयोग गर्ने गरेको जानकारी दिए । उनले हुण्डीमार्फत आउने रकम निरुत्साहन गर्न नेपाल राष्ट्र बैंकले नेपालका बैकहरुलाई प्रिमियमवापत २६ देखि ३० पैसा दिने गरेकामा त्यसमध्ये दुई पैसा समस्यामा परेका नेपालीको राहतमा खर्च गर्न माग गरे । सङ्घभित्रको राजनीतिबारेको प्रश्नमा उनले भने, ‘बाहिर जाँदैमा नेपालीहरु फरक भइसकेका छैनन् । सङ्घलाई राजनीतीकरण गर्नु दुर्भाग्य हो । मैले म सङ्घको महासचिव हुँदा नै नेताहरु पुष्पकमल दाहाल, झलना खनाल र सुशील कोइरालाहरुका घरघरमा भेटी सङ्घलाई राजनीतीकरण नगर्न आग्रह गरेको थिएँ तर सङ्घको चुनाव आउँदा उनीहरु विशेष सक्रिय हुनुभयो, सङ्घका साथीहरु नै नेताहरुकहाँ गई आआफ्ना समूहका साथीहरुलाई जिताउन आग्रह गर्नुभयो । अब यस्तो प्रवृत्ति रोक्न नेपालमा सङ्घको चुनाव हुँदैन ।’ आफूहरुको बल नेपालको हितमा लगाउन चाहेको स्पष्ट गर्दै उनले एनआरएनले हासिल गरेको ज्ञान, पूँजी र प्रविधिबारे भने नेपालमा छलफल गरिने जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूहरुले विदेशस्थित नेपालका राजदूतावाससँग सम्बन्ध र समन्वय राखेर नै गतिविधि गरेको र नेपालको कूटनीतिक नियोग नभएका ठाउँमा पनि सरकारको अघोषित प्रतिनिधिका रुपमा काम गरिरहको बताउँदै उनले नेपालको हित र समृद्धिका लािग नेपालमा लगानी गर्न, भ्रमण गर्न तथा नेपालका सम्भावनाबारे विदेशीहरुलाई आफूहरुलाई बुझाइरहेको जानकारी दिए । नेपालबाट नियुक्त नेपाली सद्भावना दूत र नेपालका लागि नियुक्त विदेशी सद्भावनादूतहरु सबैको काम प्रभावकारी हुन नसकेको पनि उनले औँल्याए । सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीलाई पनि मताधिकार दिन फैसला गरेकामा स्वागत गर्दै उनले यसबारे नेपालको परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगसँग मतदानको व्यावहारिकताबारे छलफल चलाइरहेको जानकारी दिए । सबै ठाउँमा सम्भव नभएकाले अनलाइन भोटिङ वा कुनै क्षेत्रमा मतदान बुथ राख्न सकिने सम्भावना रहेको उनले बताए । उनका अनुसार अहिले दूतावास र नियोगका कर्मचारी र विद्यार्थीबाहेक अन्य नेपाली विदेशमा दुई वर्ष बसेमा मात्र एनआरएन मानिएकामा कतिपय देशमा छ महिना बस्दा नै करदाता बन्ने भएकाले छ महिना बस्ने नेपालीलाई पनि एनआरएन मान्नुपर्ने सङ्घको माग रहेको छ ।

उनका अनुसार हाल काठमाडौँमा रहेका कतिपय शौचालय दुर्गन्धित रहेको,पानी नभएको पाइएकाले सङ्घको पहलमा काठमाडौँ महानगरका मुख्य मुख्य चार चोक कलङ्की, चाबहिल, महाराजगञ्ज र कोटेश्वरमा सुविधासम्पन्न चार वटा शौचालय निर्माण गर्न लागिएको छ । नेपालीले विदेशमा सञ्चालन गरेको नेपाली मौलिक व्यवसायलाई प्रचार गर्ने, अनुभव आदानप्रदान गर्ने तथा ज्ञान र पूँजी मिलाएर लैजानेबारे पनि बेलाबेला छलफल हुने गरेको जानकारी दिँदै उनले विदेशमा चलेका नेपालका व्यवसाय र एनआरएनले नेपालमा चलाएको व्यवसायबारे तथ्याङ्क सङ्कलन गर्न शुरु गरिने बताए । उनका अनुसार अहिले विदेशमा नेपालीका लाखभन्दा बढी व्यवसाय छन् । नेपालीहरु होटेल, रेष्टुँरा आदिबाहेक सूचना प्रविधि, मेडिकल र इञ्जिनीयरिङ क्षेत्रमा पनि संलग्न छन्, लाखौँलाई रोजगारी दिने हैसियत राख्छन् । सङ्घको निर्वाचन पद्धति, विधान, कार्यविभाजन, विभिन्न समिति आदिबारे छलफल गर्न नेपाल आएका उनले सङ्घको आर्थिक र साङ्गठनिक प्रतिवेदन र विधान पारित गर्न विशेष अधिवेशन आयोजना गरिने जानकारी पनि दिए ।

‘जुनसुकै देशको राहदानी भए पनि, जहाँ बसेर भए पनि मुलुकलाई माया गर्न सकिन्छ । नेपालमा लगानी गर्न र नेपालमा बस्न हामीले नेपालीहरुलाई प्रेरित गरिरहेका छौँ । नेपाललाई सुन्दर र समृद्ध बनाउने हामी सबैको एउटै सपना हो । नेपाल जस्तो हिमाल, पहाड र तराई भएको सुन्दर देश संसारमा कमै छ । यसलाई हाम्रै पालामा समृद्ध र विकसित बनाउन हामी एकदमै लालायित छौँ । हामी नेपालको आर्थिक समृद्धिकै लागि पूँजी, ज्ञान, सीप र प्रविधि प्रयोग गर्न र हस्तान्तरण गर्न उत्सुक छौँ’ उनले भने । (रासस)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com