अष्ट्रेलियाको जस्तै प्वाइन्टमा आधारित अध्यागमन प्रणाली लागु गर्ने बेलायतको योजना
प्रकाशित मिति : माघ ८, २०७६ बुधबार
बेलायतले अष्ट्रेलियाको जस्तै प्वाइन्टमा आधारित अध्यागमन प्रणाली लागु गर्ने योजना बनाएको छ । तर यो प्रणाली सन् २०२१ को जनवरीसम्म ल्याइने जनाइएको छ । यसबारे आगामी मन्त्रिपरिषदको बैठकमा छलफल हुने भएको छ ।
हालसम्मको नियम अनुशार युरोपियन युनियनभित्रका देशका नागरिकहरुलाई बेलायतमा आएर काम गर्नका लागि वर्क परमिटको आवश्यकता पर्दैन । तर बेलायत युरोपियन युनियनबाट अलग भइसकेपछि भने त्यो छुट हुनेछैन ।
प्रस्तावित दक्षतामा आधारित अध्यागमन प्रणालीको सारसंक्षेप यहाँ पढ्न सक्नुहुनेछ ।
सन् २०२० को डिसेम्बरको अन्त्यसम्म भने युरोपियन युनियनभित्रका देशका नागरिकलाई बेलायतमा विना वर्क परमिट काम गर्न दिइने अपेक्षा गरिएको छ । तर त्यसपछि पनि बेलायतमा नै बस्न चाहने युरोपियन युनियनभित्रका देशका नागरिकले इयु सेटलमेन्ट योजना अन्तरगत आवेदन दिनुपर्नेछ । सन् २०२० को डिसेम्बर अन्त्यसम्म युरोपियन युनियनभित्रका देशका नागरिकलाई बेलायतमा विना वर्क परमिट काम गर्न दिइने भएमा थप बस्नका लागि नयाँ आवेदन सन् २०२१ को जुनसम्म दिनुपर्नेछ ।
अष्ट्रेलियामा गएर कुनै आप्रवासीले काम गर्नका लागि त्यहाँ उच्च माग भएका पेशा छनौट गर्नुपर्छ । शिक्षा, उमेर, दक्षता, अँग्रेजी भाषाको ज्ञान लगायतका आधारमा प्वाइन्ट दिने गरिन्छ । अँग्रेजी जान्नु अनिवार्य भएपनि एकदम राम्रो अँग्रेजी जान्नेले २० प्वाइन्टसम्म प्राप्त गर्नसक्छ । २५ देखि ३३ बर्षभित्रको व्यक्तिले ३० प्वाइन्ट प्राप्त गर्नसक्छ भने कम्तीमा ६५ प्वाइन्ट हुनु जरुरी छ ।
बेलायतमा पनि उपयुक्त तलबसहित कम्पनीले स्पोन्सर गरेको व्यक्तिलाई भाषाको ज्ञानको आधारमा प्वाइन्ट दिने प्रणाली ल्याउन लागिएको हो । बार्षिक २१ हजारलाई प्वाइन्टका आधारमा कामदारभिसा उपलब्ध गराउने योजना बेलायतको रहेको छ ।
वर्तमान सरकारको नीति अनुरुप बेलायत युरोपियन युनियनबाट अलग भइसकेपछि बेलायतको कामदार भिसा पाउनका लागि बार्षिक ३० हजार पाउण्ड तलब भएको र कम्पनीले स्पोन्सर गरेको दक्ष कामदार हुनुपर्नेछ । उसले आफ्ना डिपेन्डेन्टहरुलाई पनि बेलायतमा ल्याउन सक्नेछ, त्यसका लागि संख्याको सिमाबन्दी तोकिने छैन ।
कम दक्ष कामदारका लागि पनि बेलायतले योजना ल्याउन लागेको छ । तर उनीहरुले भने जम्मा १२ महिनाका लागिमात्र कामदार भिसा प्राप्त गर्नेछन् ।






