युएससीआईएसले दिनै छाड्यो नेपालीलाई एसाइलम, एकबर्षमा एकसयभन्दा कम


प्रकाशित मिति : माघ ५, २०७६ आईतबार

किशोर पन्थी

विभिन्न भिसामा आएर अमेरिकामा शरण आवेदन दिने नेपालीहरुको एसाइलम युएससीआईएसले पछिल्लो समयमा निकै कममात्र स्वीकृत गरेको खुलासा भएको छ । अमेरिकी सरकारको एउटा रिपोर्ट अनुशार सन् २०१९ मा अमेरिकी सरकारको युएससीआईएसबाट सिधै एसाइलम स्वीकृत हुने नेपालीको संख्या एकसय भन्दा पनि कम रहेको छ ।

विगत १० बर्षको तथ्यांक हेर्दा सन् २०१२ मा इतिहासमा नै सबैभन्दा धेरै नेपालीहरुले युएससीआईएसबाट एसाइलम स्वीकृत पाएका थिए । यो बर्ष युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या ५७३ रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुशार सन् २०१८ मा युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या जम्मा १ सय रहेको छ । त्यो अगाडि सन् २०१७ मा युएससीआईएसबाटै एसाइलम स्वीकृत हुने नेपालीहरु जम्मा १४९ रहेका थिए ।

सन् २०१६ मा २३६, सन् २०१५ मा ३५९, सन् २०१४ मा २५९, सन् २०१३ मा ४७४, सन् २०१२ मा ५७३, सन् २०११ मा ४२१, सन् २०१० मा ४०६ र सन् २००९ मा ४९४ जना नेपालीहरुकोमात्र युएससीआईएसबाट एसाइलम स्वीकृत भएको थियो ।

अमेरिकी सरकारको युएससीआईएसबाट एसाइलम अस्वीकृत भएकाहरु या त पुरानौ भिसामा फर्किन्छन् या त अमेरिकी अध्यागमन अदालतमा जान्छन् । अमेरिकामा भिसा अद्यावधिक रहेकाहरु पूरानै भिसामा फर्किएपनि नभएकाहरुको आवेदन अध्यागमन अदालतमा जान्छ ।

विना भिसा अमेरिकी सिमाक्षेत्रमा पक्राउ परेकाहरु र युएससीआईएसबाट एसाइलम अस्वीकृत भएर अदालतमा जानेहरुको संख्या उल्लेख्य रहेको छ । युएससीआईएसबाट एसाइलम स्वीकृत संख्या घटेपनि अदालतबाट भने बढेको छ ।

सन् २०१९ मा अमेरिकी अध्यागमन अदालतबाट ६२५ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको छ । त्यो अगाडि सन् २०१८ मा ४६८ जना नेपालीहरुको एसाइलम अदालतबाट स्वीकृत भएको छ ।

सन् २०१७ मा २९२, सन् २०१६ मा २६२, सन् २०१५ मा २५२ जना नेपालीहरुको एसाइलम अदालतबाट स्वीकृत भएको छ । सन् २०१४ मा २८२, सन् २०१३ मा ३८५, सन् २०१२ मा ३७९, सन् २०११ मा ३१०, सन् २०१० मा २१७ र सन् २००९ मा १७२ जना नेपालीहरुको एसाइलम अदालतबाट स्वीकृत भएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com