नेपालीसहित झण्डै ७ लाखको फुड स्ट्याम्प खारेज हुने भएपछि डिसी र न्युयोर्कबाट मुद्दा दायर


प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार

आगामी अप्रिल १ देखि अमेरिकी सरकारले वेरोजगारहरुलाई खाद्य सुविधाका लागि दिने फुड स्ट्याम्प कार्यक्रममा नयाँ नियम ल्याउन लागेकोमा न्युयोर्क र वासिंटन डिसीसहित १३ राज्यले त्यसका बिरुद्ध मुद्दा दायर गरेका छन् । अमेरिकी सरकारको कृषि मन्त्रालयले फुड स्ट्याम्पका लागि योग्य हुनका लागि नयाँ मापदण्ड तय गरेको मा त्यसका बिरुद्ध मुद्दा दायर गरिएको हो ।

नयाँ नियमबाट १८ देखि ४९ बर्षबीचका व्यक्तिहरु प्रभावित हुनेछन् । उनीहरु अब फुडस्ट्याम्पका लागि योग्य हुन विगत ३६ महिनाको अवधिमा तीन महिनाभन्दा बढी समय हप्तामा २० घण्टाभन्दा बढी काम गरेको हुनुपर्नेछ । तर उच्च वेरोजगार दर भएको क्षेत्रमा रहेकाहरुले भने छुट पाउन सक्नेछन् ।

अमेरिकी सरकारको कृषि मन्त्रालयका अनुशार नयाँ नियम लागु भएपछि झण्डै ६ लाख ८० हजारको फुड स्ट्याम्प सुविधा खारेज हुनेछ । तर नयाँ नियमबाट झण्डै साढे ७ लाख प्रभावित हुने अनुमान गरिएको छ ।

नयाँ नियमले अमेरिकी सरकारको बार्षिक साढे ५ बिलियन डलर बचत हुने अनुमान गरिएको छ । नयाँ नियमपछि न्युयोर्कमामात्र ८४ हजारले यो सुविधा गुमाउने अनुमान गरिएको छ ।

नयाँ नियमका कारण क्यालिफोर्नियामा झण्डै ३ लाखले, इलिनोयमा झण्डै १ लाख ७८ हजारले, टेनेसीमा ६९ हजारले, मिसिगनमा ७ हजारले सुविधा गुमाउने अनुमान गरिएको छ । अमेरिकामा कैयनले कामै नगरी सरकारी खाद्य सुविधा लिने वा कतिपयले नगदमा काम गरेर वेरोजगार रहेको देखाउदै यो सुविधा लिने क्रम बढेपछि सरकारले नयाँ नियम ल्याएको हो ।

अमेरिकामा कैयन नेपालीहरुले यो सुविधा लिदै आएका छन् । फुड स्ट्याम्प लिनेमा अमेरिकामा नेपालबाट ल्याइएका भुटानी शरणार्थीहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com