गाडीको ठक्करबाट १० बर्षे बालकको निधनपछि न्युयोर्कको नेपाली समाज स्तब्ध


प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार

न्युयोर्कको कोरोनामा सरकारी गाडीको ठक्करबाट १० बर्षका नेपाली बालक श्रीजल पन्थीको मृत्युपछि न्युयोर्कको नेपाली समाज स्तब्ध भएको छ । मंगलबार विहान स्कुल जाँदै गर्दा बालक श्रीजल र आमा मिना पन्थीलाई फोहोर फ्याक्ने ट्रकले ठक्कर दिएको थियो ।

ठक्करपछि घाइते आमाछोरालाई एल्मस्र्ट अस्पतालमा उपचारका लागि लगिएकोमा १० बर्षका छोराको उपचारका क्रममा निधन भएको छ । ५७ एभिन्यु र ९७ स्ट्रीटको बीचमा विहान ७ बजे दुर्घटना भएको हो ।

न्युयोर्कका सामाजिक व्यक्तित्व पुरुषोत्तम पन्थीका पुत्र श्रीजलको निधन भएकोमा न्युयोर्कमा रहेका नेपालीहरुले सामाजिक सञ्जालमार्फत र प्रत्यक्ष भेटेर मृतकको आत्माको चीर शान्तिको कामना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

विहान आफू बच्चा पुराउन जाँदै गर्दा ट्रकको ठक्कर आमा र बच्चा भूईमा लडिरहेको दृश्य देखेको र नजिकै पुगेर हेर्दा उनीहरु नेपाली रहेको थाहा भएको लेफ्राक सिटीमा नै बस्दै आएका प्रकाशधर तुलाधरले जानकारी दिनुभयो । आफू पुग्दा प्रहरी र एम्बुलेन्स घटनास्थलमा नै आइसकेको बताउँदै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

त्यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले भन्नुभएको छ – ‘न्युयोर्क नेपाली समाजमा निकै सकृय र मिलनसार मित्र पुरुषोत्तम पन्थीजी को छोरा र श्रीमती बिहान छोरालाई स्कुल छोड्न जादा सेनिटेसन ट्रकले ठक्कर दिदा १० बर्षका छोराको दुखद निधन भएको र धर्म पत्नी घाईते हुनुभएको दुखद घडीमा दिवंगत आत्माको चीरशान्ती र भाउजुको शीघ्र स्वास्थ्यलाभका लागि प्राथना गर्दछु ।’

त्यस्तै सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियाले बालकको निधनप्रति दुख व्यक्त गर्दै आत्माको चीर शान्तिको कामना गर्नुभएको छ । साथै उहाँले शोकाकुल परिवारप्रति समावेदनासमेत व्यक्त गर्नुभएको छ ।

त्यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बांगले भन्नुभएको छ – ‘यो घटनाले हामी सबैलाई स्तव्ध र मर्माहत बनाएको छ । दुखद दुर्घटनामा ज्यान गुमाएका १० बर्षको बावुको आत्माको चिरशान्तिको कामना गर्दै, मित्र पुरुषोत्तमजी लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु र भाउजुको शिघ्र स्वास्थ्यलाभको कामना ।’

त्यस्तै दुर्घटनामा बालकको मृत्यु भएकोमा न्युयोर्कमा मेयर बिल डे ब्लाजिओले दूख व्यक्त गर्नुभएको छ । उहाँले बालकको मृत्यु भएकोमा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

यसैबीच न्युयोर्क सिटी काउन्सिल स्पीकर कोरी जोन्सनले ट्वीटमार्फत मृतकका परिवारप्रति समवेदना व्यक्त गनुभएको छ । उहाँले यो घटना निकै दर्दनाक रहेको र न्युयोर्कका सडकहरु सुरक्षित नभएको प्रमाण भएको बताउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com