डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आप्रवासीका सबै विवरण जनगणना ब्यूरोलाई दिने
प्रकाशित मिति : पुस २०, २०७६ आईतबार
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनगणना ब्यूरोलाई आप्रवासीका केही तथ्यांकहरु उपलब्ध गराउन सहमति जनाएको छ । नागरिकताबारेको तथ्यांक तयार पार्न जनगणनालाई सघाउन डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले केही विवरणहरु उपलब्ध गराउन सहमति जनाएको हो ।
सन् २०२० को जनगणनामा नागरिकताबारेको प्रश्न राख्नमा अदालतले रोक लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेश जारी गरेका थिए । अब जनगणनामा नागरिकताबारेको प्रश्न राख्न नपाएपनि अमेरिकी जनगणना ब्यूरोले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीबाट प्राप्त विवरणका आधारमा नागरिकबारेको तथ्यांक तयार गर्ने भएको छ ।
अब अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सन् १९७३ पछि अमेरिकी नागरिकता र ग्रिनकार्ड लिनेका व्यक्तिगत विवरणहरु जनगणना ब्यूरोलाई उपलब्ध गराउने भएको छ । युएससीआईएस, आइस र सीबीपीसँगका विवरणहरु पनि सेन्सस ब्यूरोलाई उपलब्ध गराइनेछ ।
आप्रवासीहरुका नाम, जन्ममिति, ठेगाना, सोसल सेक्युरिटी नम्बर र एलियन दर्ता नम्बर उपलब्ध गराउने जनाइएको छ । त्यस्तै सीबीपीले अमेरिकामा ओभरस्टे हुनेहरु सहित सबै भिजिटरका भ्रमणका इतिहास पनि उपलब्ध गराउने भएको छ ।