अमेरिकी नागरिकलाई भिसा कडाई गर्ने फिलिपिन्सको चेतावनी, २ सिनेटरलाई भिसा प्रतिबन्ध


प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार

फिलिपिन्सले दुई अमेरिकी सांसदहरूलाई भ्रमण गर्न प्रतिबन्ध लगाएको छ भने अमेरिकी नागरिकहरूलाई फिलिपिन्स प्रवेशमा समेत कडाई गर्ने भएको छ । राष्ट्रपति रोड्रिगो दुतेर्टेले अमेरिकी नागरिकहरूलाई भिसा लिनका लागि नयाँ शर्त लगाउने भएका छन् ।

फिलिपिन्सले अमेरिकी सिनेटरहरु पेट्रिक लेही र रिचार्ड डर्बिनलाई फिलिपिन्स यात्रामा प्रतिबन्ध लगाएको छ भने अन्य अमेरिकी नागरिकलाई पनि फिलिपिन्स यात्रा गर्दा भिसा लिनुपर्ने प्रावधान लागु गर्ने चेतावनी दिएको छ । फिलिपिनो राष्ट्रपतिका मुख्य आलोचकको पक्राउमा संलग्न फिलिपिनो अधिकारीहरुलाई भिसा नदिने अमेरिकी घोषणा लगत्तै फिलिपिन्सका राष्ट्रपतिको यो भनाई आएको हो ।

फिलिपिनो सिनेटर लेइला डे लिमाको समर्थनमा समर्थन गर्ने प्रावधान अमेरिकी बजेटमा आएपछि फिलिपिन्सका राष्ट्रपति आक्रोशित भएका हुन् । फिलिपिनो राष्ट्रपतिको आलोचना गर्दै आएकी सिनेटर लिमालाई फिलिपिन्समा पक्राउ गरेर विभिन्न अभियोगहरु लगाइएको छ ।

राष्ट्रपतिका कडा आलोचक सिनेटर लिला डे लिमाविरुद्ध एक कुख्यात आगुऔषध तस्करबाट पैसा लिएको आरोप लगाएर पिलिपिन्स सरकारले पक्राउ गरेको थियो । तर, लिमाले भने आफूलाई लागेको आरोप अस्वीकार गर्दै आफूलाई बदला स्वरुप पक्राउ गरिएको बताउदै आएकी छिन् ।

सिनेटर लिमाले लागु औषध तस्करविरुद्ध दुतेर्तेलो चलाएको नरसंहारको अभियानको तीव्र बिरोध गर्दै आएकोमा बदला स्वरुप उनलाई पक्राउ गरिएको बताइदै आएको छ । उनीमाथि सन् २०१० देखि २०१६ को अवधिमा फिलिपिन्सको कानुन मन्त्री भएकोबेला तस्करबाट पैसा लिएको आरोप लगाइएको छ ।

सिनेटरलाई पक्राउ गर्ने कदमको अमेरिकाले विरोध गर्दै आएको छ ।

अमेरिकाले फिलिपिन्समा सार्वभौमिकतामा हस्तक्षेप गर्दा आफूहरु चुप लागेर नबस्ने फिलिपिन्सका सरकारका प्रवक्ताले बताएका छन् । फिलिपिन्सले अहिलेसम्म अमेरिकीहरुलाई विना भिसा ३० दिनसम्म यात्रा गर्नका लागि अनुमति दिदै आएको छ । जस अनुशार सन् २०१९ को पहिलो ९ महिनामा ७ लाख ९२ हजार अमेरिकीहरुले फिलिपिन्सको यात्रा गरेका थिए ।

अमेरिका फिलिपिन्सको ठूलो सुरक्षा सहयात्री रहदै आएको छ । दशौं लाख फिलिपिनोका आफन्तहरु अमेरिकी नागरिक रहेका छन् ।

दुतेर्तेविरुद्ध मानवताविरुद्धको अपराधमा छानबिन समेत गरिएको थियो । दुतेर्ते राष्ट्रपति भएपछि थालिएको ‘लागु पदार्थविरुद्ध’को युद्धमा हजारौं व्यक्तिको हत्या भएकाले अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मानवताविरुद्धको अपराधमा दुतेर्तेको संलग्नता सम्बन्धमा छानविन भएको हो ।

फिलिपिन्सका सन् २०१६ को जुलाईदेखि लागु पदार्थ नियन्त्रणका नाममा व्यापक कारबाही सुरु गरिएको थियो । लागु पदार्थविरुद्धको अभियानमा हजारौं फिलिपिनी नागरिक प्रहरीको हातबाट मारिएका छन् । यसलाई अन्तर्राष्ट्रिय तथा राष्टिय मानव अधिकार समुदायले गैरन्यायिक हत्याका रूपमा लिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com