कम आम्दानी हुनेले मेडिकेड वा फुडस्ट्याम्प पेश गर्दैमा युएससीआईएसले शुल्क मिनाहा नगर्ने


प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार

कम आम्दानी हुने व्यक्तिले अमेरिकी नागरिकता आवेदन लगायत १५ प्रकारका आवेदनमा शुल्क मिनाहाका लागि युएससीआईएससँग अनुरोध गर्नसक्ने प्रावधानमा कडाई गरिएको छ । बायोमेट्रिक लगायत ग्रिनकार्ड पुनस्थापना, वर्क परमिट, टीपीएस, नारिकता लगायतका आवेदनमा शुल्क मिनाहाका लागि आग्रह गर्न सकिने प्रावधान रहेको छ ।

शुल्क मिनाहाका लागि कम आम्दानी हुने परिवारले लिएको सरकारी सुविधा, संघीय गरिबी रुपरेखाको १५० प्रतिशतभन्दा कम पारिवारिक आम्दानी वा अत्यन्तै कडा प्रकारको आर्थिक संकटमध्ये एउटा पुष्टी गर्ने कागजात भएमा शुल्क मिनाहा गरिदै आएकोमा डिसेम्बर २ पछि पहिलो प्रावधान हटाइएको छ । अब मेडिकेड, फुडस्ट्याम्प वा अन्य यस्तै प्रकारको सुविधा लिएको प्रमाण पेश गर्दैमा युएससीआईएसले आवेदनको शुल्क मिनाहा नगर्ने भएको छ ।

यसअगाडि शुल्क मिनाहाका लागि फर्म आई ९१२ का साथमा मेडिकेड, फुडस्ट्याम्प वा अन्य सरकारी सहायता लिएको प्रमाण पेश गरेको खण्डमा युएससीआईएसले शुल्क मिनाहा गर्दै आएको थियो । तर अब त्यस्ता प्रमाणहरुलाई अस्वीकार गरिने भएको छ । अब आवेदकले शुल्क मिनाहाका लागि आई ९१२ फर्मका साथमा ट्याक्स फाइलको कागजात समेत बुझाउनुपर्ने भएको छ ।

डिसेम्बर २ भन्दा अगाडिको पोष्टमार्कसहित शुल्क मिनाहाका लागि दिइएको आवेदनका सन्दर्भमा भने मेडिकेड, फुडस्ट्याम्प लगायतका प्रमाणलाई पनि स्वीकार गरिनेछ । तर डिसेम्बर २ पछि पत्र, मेडिकेड वा फुडस्ट्याम्प जस्ता सरकारी सुविधा लिएको प्रमाण जस्ता कागजातका साथमामात्र प्राप्त आवेदनहरु सिधै अस्वीकार गरिने भएको छ ।

अब शुल्क मिनाहाका लागि आवेदन दिनेले अक्टोबर २४, २०१९ को फर्मको संस्करण प्रयोग गर्नुपर्नेछ । शुल्क मिनाहाका लागि दिइने उक्त आवेदनका लागि भने कुनै शुल्क तिर्नुपर्दैन ।

आर्थिक बर्ष २०१८ मा युएससीआईएसले २९३ मिलियन डलर शुल्क मिनाहा गरेको छ भने सन् २०१७ मा ३६७ मिलियन डलर शुल्क मिनाहा गरेको थियो । आर्थिक बर्ष २०१६ मा भने २४४ मिलिडन डलर शुल्क मिनाहा गरिएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com