अमेरिकी कामदार भिसाको आवेदन डिभी लोटरीजस्तै, मार्च १ मा खुल्ने, दर्ता शुल्क १० डलर


प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार

अमेरिकी कामदार भिसाको आवेदन एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गर्नुपर्ने भएको छ । आवेदन आगामी मार्च १ देखि खुल्नेछ भने मार्च २० सम्म भर्न सकिनेछ ।

कामदार भिसा एचवानबीमा दर्ता गर्नका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ । यसरी प्राप्त आवेदनहरुलाई लोटरीको माध्यमबाट छनौट गरिनेछ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप प्रकृया सुरु हुनेछ ।

तर कामदार भिसाका लागि भने रोजगारदाता कम्पनीले आवेदन दिनुपर्छ । डिभी लोटरीमा जस्तो लाभग्राही आफैले आवेदन दिन मिल्दैन ।

यसबारेमा अमेरिकी सरकारको युएससीआईएसले जारी गरेको सुचना यहाँ हेर्नुहोला ।

नयाँ विद्युतीय प्रणालीले पेपरवर्कको काम कम गर्ने र कामदार स्पोन्सर गर्न चाहने रोजगारदाताको समेत रकम बच्ने युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क १० डलर लिने जानकारी दिएको थियो । दर्ता शुल्कका सन्दर्भमा अन्तिम नियम भने डिसेम्बर ९ अर्थात् भोलि सोमबारदेखि लागु हुनेछ ।

यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको हो । विद्युतीय रुपमा दर्ता हुने बाहेक अरु नियम सन् २०१९ देखि नै लागु गरिएको थियो ।

यसैबर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ । तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज बनाएको छ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।

पहिलेको नियम अनुशार ६५ हजार कामदारको कोटामा अमेरिकन डिग्री नभएकाहरुमात्र सहभागी हुन पाउथें । अमेरिकन डिग्री होल्डरहरु त्यसमा मिसिन पाउँदैनथे । तर  नयाँ नियम अनुशार त्यो कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु सहभागी हुन पाउँछन् । यसो हुँदा ६५ हजारको कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु छानिन्छन् । त्यहाँ नछानिएका अमेरिकन डिग्री होल्डरहरुहरुले थप २० हजारको कोटामा पनि सहभागी हुन पाउँछन् ।

नयाँ नियमले अमेरिकन डिग्री नलिएकाहरुको एचवानबी कोटामा पनि अमेरिकन डिग्री होल्डरको अतिक्रमण बढाएको छ । अमेरिकाबाहिर पढ्नेहरुलाई भन्दा अमेरिकन डिग्री लिएकाहरुलाई मौका दिनका लागि नयाँ नियम ल्याइएको हो । अमेरिकामा डिग्री लिएर स्वेदश फर्किसकेको विद्यार्थीले पनि यो कार्यक्रमबाट लाभ लिन सक्छन् । उदाहरणका लागि कुनै नेपाली विद्यार्थी अमेरिकामा डिग्री लिएर नेपाल फर्किसकेको छ भने उसलाई नयाँ नियमले प्राथमिकतामा राख्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com