डिभी भर्दा प्रयोग भएको पासपोर्ट हराएमा वा म्याद सकिएमा भिसा पाउन समस्या हुनसक्ने


प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार

डिभी लोटरी भरेर मे महिनाको पहिलो साता आउने परिणाम कुरेर बसिरहनुभएको छ ? तपाईहरुले दुईवटा काम अहिले नै गरिहाल्नुहोला । पहिलो कन्फर्मेशन नम्बर प्रिन्ट गरेर सुरक्षित स्थानमा राख्ने, दोश्रो आफ्नो पासपोर्टको फोटोकपी र स्क्यान गरेर सुरक्षित राख्ने ।

यो बर्षदेखि डिभी लोटरीमा सहभागी हुनका लागि अमेरिकी सरकारले पासपोर्ट अनिवार्य बनाएपछि डिभी विजेताहरुमा थप जिम्मेबारी थपिएको छ । यो बर्षदेखि डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्ने व्यवस्था गरिएको थियो ।

डिभी लोटरी भरिसकेपछि भिसाका लागि आवेदन भर्ने बेलासम्म पासपोर्ट हराएमा वा एक्सपायर भएमा भने त्यसको प्रमाण अमेरिकी सरकारलाई बुझाउउनुपर्छ । यदि कुनै कारणवश पासपोर्ट नम्बर परिवर्तन भएमा त्यसको प्रमाण र परिवर्तन हुनुको कारण डिभी अन्तरवार्ता आउनु अगाडि नै केन्टकी सर्भिस सेन्टरलाई बुझाउनुपर्ने अमेरिकी सरकारले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ – ‘तपाईले डिभी लोटरी भर्दा प्रयोग गरेको पासपोर्टको वैध फोटोकपी गरेर तपाईको इन्ट्री नम्बरसहित सुरक्षित स्थानमा राख्नका लागि सुझाव दिन्छौं । फोटोकपी आफैमा वैध पासपोर्ट नम्बर प्रमाणित गर्ने प्रमाण नभएपनि यसले तपाईको अवस्थाको व्याख्या गर्न मद्दत गर्नेछ । अन्तिम निर्धारण कन्सुरल अफिसरले तपाईको डिभी अन्तरवार्ताकै बखत गर्नेछन् ।’

कम्तीमा सन् २०२२ को अप्रिलसम्म म्याद रहेको पासपोर्ट हुनेहरुलाई भने कुनै समस्या हुनेछैन । तर त्यो भन्दा अगाडि नै पासपोर्ट एक्सपायर भएमा वा हराएमा भने समस्या हुनसक्छ । सन् २०२१ को सेप्टेम्बर अन्त्यसम्म भिसा पाउन सकिने र भिसा लिने बेलामा पासपोर्टको म्याद कम्तीमा ८ महिना हुनुपर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com