१४५ भारतीय र २५ बंगालादेशी कागजपत्रविहिनलाई अमेरिकाबाट चार्टड विमानमा ढाका र दिल्ली


प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार

गैरकानुनी रुपमा अमेरिका छिर्दा अमेरिकाले डिपोर्ट गरेका १४५ जना भारतीय २५ जना बंगालादेशीहरु स्वदेश पुगेका छन् । उनीहरुलाई अमेरिकाको एरिजोनाबाट जहाजमा हालेर पठाइएको थियो ।

दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका १४५ भारतीयहरुमध्ये तीनजना महिला रहेका छन् । उनीहरु २५ देखि ३५ बर्ष उमेर समुहका रहेका छन् । उनीहरुमध्ये अधिकांश अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा पक्राउ परेकाहरु हुन् । केहीभने अमेरिकाभित्र गैरकानुनी रुपमा काम गरिरहेको बेला आइसको छापामा पक्राउ पर्नेहरु छन् ।

डिपोर्ट हुनेहरु कोही इक्वेडर र अन्य दक्षिण अमेरिकी देशहुँदै गएका थिए भने कतिपय ग्रिस, इटली हुँदै युरोपियन मुलुकको बाटोहुँदै गएका थिए । देशनिकालामा परेकाहरुलाई दिल्ली विमानस्थलको टर्मिनल ३ मा उतारिएको थियो । सुरुमा ढाका पुगेर बंगालादेशीहरुलाई उतारेपछि चार्टड विमान दिल्ली पुगेको थियो ।

गत अक्टोबर २३ मा पनि ११७ जना भारतीयलाई यसैगरी देशनिकाला गरिएको थियो । त्यस्तै अक्टोबर १८ मा ३११ जना भारतीयहरुलाई ६० जना अमेरिकन अधिकारीहरुले चाटर्ड गरेको विमानमा दिल्ली लगेर छाडेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com