राजनीतिमा ‘धुपौरे संस्कार’

प्रकाशित मिति : फाल्गुन २९, २०७३ आईतबार

टेकेन्द्र जोशी / राजनीतिक पार्टीहरुमा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने बहस एउटा कुनाबाट सुरु भएको छ । पुस्ताहस्तान्तरणका लागि सुरु भएको त्यही बहस पनि नेतृत्व व्यावस्थापन गर्ने बाटो हिड्न थालेको आभास हुन्छ ।  पहिलो पुस्ताले देशमा पहिला प्रजातन्त्र र पछि गणतन्त्र ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेको साँचो हो, यसलाई दोस्रो पुस्ताले स्वीकार र सम्मान गर्नुपर्छ ।

सम्मान गर्ने नाममा पुरानो पुस्ता लामो समय नेतृत्वमा बसिरहँदा,नयाँ नेतृत्व विकास हुन सकेको छैन । जसको प्रत्यक्ष असर देश विकासमा देखिएको छ भन्ने कुरा भावनात्मक रुपमा होइन, परिणाममा हेर्न र बुझ्न जरुरी छ । जति धेरै नविन सोच भएको नेतृत्व हुन्छ, त्यति नै २१ औं शताब्दीको आवश्कयता पुरा गर्ने बाटोमा राजनीति र देश अगाडि बढ्छ ।  झट् हेर्दा पार्टीहरुमा १६ देखि ६९ वर्ष उमेर समूहका नेता/कार्यकर्ता देख्न पाइन्छ । एउटा समयकाल राजनीतिमा बेतित गरेपछि राजनीतिबाट सन्यास लिनुपर्छ भन्ने सोच नेतृत्वमा बस्नेहरुको कहिल्यै पाइएन । समान्य हिड्डुल गर्न र बोल्नसक्दासम्म मुख्य नेतृत्व हातमा लिने सोच नै नेपाली राजनीतिको मुख्य समस्या बनेर आएको छ ।

राजनीतिलाई सेवाभन्दा पेशाको रुपमा लिँदा यस्तो समस्या देखिएको हो । यो संस्कारको अन्त्य गर्न हामीले सोचे जस्तो सजिलो पनि छैन । यसलाई विस्तार रै परिवर्तन गरेर लैजानु पर्छ । राजनीतिमा रहेको पहिलो पुस्तालाई कसरी सम्मानजनक स्थान दिने भन्ने प्रश्न सबैभन्दा चुनौतिपूर्ण देखिन्छ । तर, यो हलै गर्न नसकिने विषय चाहिँ होइन्, मात्र इश्छा शक्तिको खाँचो हो ।

यस्तो अवस्थामा पहिलो पुस्ताले युवा पुस्तालाई राजनीतिक नेतृत्व सुम्पिदिने आँट गर्नुपर्छ । बरु आफूले हासिल गरेका अनुभवबारे युवा नेतृत्वलाई  सुझावका रुपमा दिन सकिन्छ । युवा नेतृत्वको विकास गर्नका लागि यो भन्दा उपयुक्त विकल्प अरु हुन सक्दैन । अर्को, जब कुनै व्यक्ति पार्टीसत्ता वा राज्यसत्ताको उपरिसंरचनामा पुग्दछ, उसले बढीमा दुई कार्यकालसम्म मात्रै त्यो भूमिका निर्वाह गर्न पाउने वैधानिक व्यवस्था गरियो भने युवा पुस्ता नेतृत्वमा आउने ढोका खुल्दछ । त्यैगरी राजनीतिक नेतृत्वमा युवापुस्तालाई पु-याउनका लागि तलैबाट नेतृत्वमा आउने प्रणालीको विकास गर्नु अत्यावश्यक भैसकेको छ । युवा पुस्ता आफैंले पनि नीति र नेतृत्व विकासमा भूमिका खेल्नुपर्छ । र, पार्टीका नीतिहरुमा हस्तक्षेप गर्दै अगाडि बढने सोच युवा आफैले राख्नुपर्छ ।

आजसम्म पनि राजनीति पार्टीमा व्यावहारमै लागू नहुँने सिद्धान्तका बारेमा युवालाई प्रशिक्षित गरेको पाइन्छ । यहाँनेर युवापुस्ताले प्रश्न गर्न सक्नुपर्छ कि व्यवहारमै लागू नहुने सिद्धान्त पार्टीले किन बोकेर हिँड्ने ? धेरैवर्ष अगाडि, अरु कसैले, अरु कुनै देशमा विकास गरिदिएको विचारमा आश्रित भएर, त्यहीँ विचार ठीक हो, भन्ने मान्यता समयकाल अनुसार तोड्नुपर्छ । हाम्रो समाज र देशको आवश्यकतालाई परिपूर्ति गर्ने खालको राजनीतिक सोंच, विचार र मोडल आफैंले विकास गर्नुपर्छ ।

राज्य सञ्चालन गर्ने राजनीतिले नै हो । सरकारी आँकडा अनुसार कुल जनसंख्यामा ४०.० प्रतिशत जनसंख्या युवारहेको छ । यो युवा शक्तिलाई नीति र नेताले चिन्न सके समृद्ध नेपाल निर्माण गर्नेसक्ने सामाथ्र्य राख्दछ । अर्को कुरा, जुन राजनीतिक पार्टीमा युवा क्रियाशिल छन् त्यो पार्टी सबै क्षेत्रमा बलियो देखिन्छ तर, त्यो शक्तिलाई राजनीतिक दलहरुले सही सदुपयोग गरेको पाइदैन । जसको कारण अहिले युवाहरु राजनीतिलाई फोहोरी खेल भन्न रुचाउँछन् । तर,राजनीति दोषी होइन । जो व्यक्तिहरु राजनीतिको बागडोर समालेका छन् जसलाई हामी राजनीतिज्ञ भन्छौं,उनीहरुमा राजनीतिज्ञमा हुनुपर्ने चरित्र, गुण र देशको चिन्ता कम देखिएकाले आलोचना भैरहेको छ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।

युवावर्गको श्रम–पसिनाले नै देश निर्माण हुन्छ । संसारभरका जतिपनि देशहरुले विकासमा फड्को मारेका छन्, ती देशमा युवावर्गको ज्ञान, सिप,श्रम र पसिनाको महत्वपूर्ण भूमिका छ । राजनीतिमा आउने युवा पुस्ता राम्रो अध्ययन गरेर मात्र लाग्नु पर्छ । राजनीतिमा आउनका लागि केही न केही प्राविधिक ज्ञान हुनैपर्छ । भोलीका दिनमा कुनै पदमा पुग्दा त्यो पदले मागेको कौशल र शीप ऊसँग भएन भने जिम्मेवारी पूरा गर्न गाह«ो हुन्छ । शीप भएको ,राष्ट्रप्रति जिम्मेवार र जनतालाई सेवा गर्ने भावना भएकोे पुस्ता अब आउन सक्यो भने राजनीति संस्कार सुधार हुन्छ ।

हामीले पछिल्लो पटक विकशितमुलुक अमेरिका र बेलायतमा हेरौँ भने युवाले नै राज्यको बागडोर समालेको पाउँछौँ । जुनकुरा हामीले प्रेरणाको रुपमा लिनसक्छौँ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुँदा बाराका ओबामा ४७ वर्षका थिए भने बेलायती प्रधानमन्त्री पदमा निर्वाचित हुँदा डेभिड क्यामरुन ४२ वर्षका थिए । भारतको सवैभन्दा ठूलो र धेरै जनसख्या भएको राज्य उत्तरप्रदेशमा ४० बर्ष नपुग्दै अखलेश यादव मुख्य मन्त्री भए । कार्यकाल समिन लागेको छ र दोस्रो पटक मुख्यमन्त्रीका लागि चुनावी तयारीमा छन् । ४८ बर्षका अरविन्द केजरीवाल भारतको राजधानी दिल्लीका मुख्यमन्त्री छन् ।

तर,नेपालमा भने भिन्न परिस्थिति छ । यहाँको राजनीतिक केन्द्रमा युवावर्गको उपस्थिति हुन सकेको छैन । नेपाली राजनीतिमा युवा वर्गलाई प्रयोग मात्रै गरिँदै आएको छ । आफै नेतृत्व गर्नुपर्ने युवाहरु यात नेताकापछि लाग्न बाध्य छन् या त विदेश पलायन भएका छन ।
राजनीतिमा लागेका युवा पुस्तामा पनि ‘धुपौरे संस्कार’ हावी छ । पहिलो पुस्तालाई सम्मान गर्नुपर्छ तर, धुपौरे संकारलाई अंगिकार गरेर होइन । ‘धुपौरे संस्कार’ युवापुस्ताले त्याग गरेनौँ भनेपुरानो पुस्तामा रहेको एउटा ठूलो भ्रम ‘आफू हुँदा ढुंगा पनि हिरा आफू नहुँदा हिरा पनि ढुंगा’ भन्ने सोच कायम रहन्छ । जुन कुरा  नेतृत्व हस्तान्तरणमा बाधक बन्नेछ ।

राजनीति परिवर्तनका लागि पहिलो पुस्ताले ठूलो भूमिका खेलेको छ । इतिहासलाई फर्केर हेर्ने हो भने विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, पुष्पलाल, मदन भण्डारी, पुष्पकमल दाहाल, बाबुराम भट्टराई जस्ता नेताहरुले पनि आफूलाई युवा उमेरमै स्थापित गरेका हुन् । र, यही क्रममा उनीहरुले नेपाली समाजको रुपान्तरणमा योगदान पु-याएका हुन् ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा योगदान पु-याएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा युवा उमेरमै देशको प्रधानमन्त्री बन्न सफल भए । नेपाली वामपन्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका एमाले अध्यक्ष केपी ओली झापा आन्दोलनका कमान्डर नै हुन् । दुई दशककै उमेरमा झापा आन्दोलनको अगुवाई गरेका निवर्तमान प्रधानमन्त्री ओली अहिले प्रमुख प्रतिपक्षी दलका नेता समेत छन् ।
त्यसैगरी राजतन्त्रविरुद्ध हतियार उठाएर सशस्त्र जनयुद्धको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यतिबेला देशका प्रधानमन्त्री छन् । उनले पनि ४० वर्षको हाराहारी उमेरमै सशस्त्र जनयुद्धको नेतृत्व गरेका हुन् । नेपालको राजनीतिमा एउटा पुस्ता, जसले राजनीतिक आन्दोलनको नेतृत्व ग¥यो– त्यो पुस्ताले युवा अवस्थामै आन्दोलन वा पार्टीको नेतृत्व गरेको हो । वर्तमान अवस्थामा भने नेपालमा युवा नेतृत्वको अभाव खड्किएको छ ।

यतिबेला नेपालका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत सबैजसो राजनीतिक दलको मूल नेतृत्वमा युवा पंक्तिको अभाव छ । एक कालखण्डमा महत्वपूर्ण भूमिका खेलेका युवापुस्ता आज जीवनकै उत्तरार्धमा छन । त्यही पुस्ता जसले राजनीतिबाट विश्राम लिनुपर्ने बेलामा पार्टी र राज्यसत्तामा हैकम जमाइरहेका छन् ।

आज हामी प्रजातान्त्रिक र वाम  आन्दोलनमा वीपी र पुष्पलालका योगदानको चर्चा गर्छौं । प्रजातान्त्रिक आन्दोलनको मात्रै कुरा गर्दा वीपी कोइरालालाई आदर्श मान्ने गरिन्छ । वाम आन्दोलनको मात्रै कुरा गर्ने हो भने पुष्पलाललाई आदर्श मान्ने गरिएको छ । वीपी र पुष्पलाल दुवैले युवा अवस्थामै आन्दोलनको मात्रै होइन, विचारकै नेतृत्व गरेका थिए । तर, पछिल्लो कालखण्ड नेपालमा युवा पुस्ता पार्टी सत्ता वा राज्यसत्ताको उपरीसंरचनामा छैन ।

विकास निर्माणमा युवावर्गको भूमिका भएजस्तै राजनीतिक नेतृत्व निर्माणमा समेत युवावर्गकै भूमिका रहन्छ । समुन्नत राष्ट्रहरुमध्ये धेरैजसो देशका राजनीतिक परिवर्तनको नेतृत्व समेत युवावर्गले नै गरेका छन् । नेपालको लोकतान्त्रिक–वामपन्थी आन्दोलनको स्थापना, उत्थान र विकासमा युवाहरुकै महत्वपूर्ण भूमिका रहेको छ ।

राणाशासनको अन्त्यका लागि गरिएको आन्दोलनमा सहिद बनेका गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री सबै युवा नै थिए । अझ गंगालाल श्रेष्ठ त सहिद हुँदा भर्खर २० वर्षे कलियो युवा नै थिए । वीपी कोइरालाको नेतृत्वमा कांग्रेस पार्टी स्थापना हुँदा होस् वा कम्युनिष्ट पार्टी स्थापना गर्ने पुष्पलाल हुन्, सबैले युवा अवस्थामै पार्टी र आन्दोलनको नेतृत्व गरेका हुन् ।

अनेकानेक विचार, दर्शन र राजनीतिक सिद्धान्तका प्रणेता दार्शनिकहरुले पनि राजनीतिमा युवावर्गको भूमिकालाई महत्वका साथ लिएर सोहीअनुरुप व्याख्या–विश्लेषण गर्दै आएका छन् । उनीहरुले सारतः र अन्नतः राष्ट्रको जिम्मा लिने शक्तिका रुपमा युवावर्गलाई नै उभ्याउने गरेका छन् । तर, नेपाली राजनीतिमा यो पक्ष कमजोर नै देखिँदै आएको छ ।

पार्टी सत्तामा वा सत्तावरिपरि पुगेपछि प्रमुख र पाका नेताहरु मात्रै नेतृत्वमा बसिरहने ‘परम्परा’नै बसेको छ । के युवा पुस्ताको नेतृत्व नभएरै पूरानो पुस्ताले नेपाली राजनीतिको केन्द्रमा हैकम जमाएको हो ? वा दोस्रो पुस्तामा रहेको ‘धुपौरे संस्कार’ले काम गरेको हो ? यसबारेमा युवापुस्ताले गम्भरितापूर्वक सोच्नु पर्ने र बहस चलाउनुपर्ने बेला भएको छ । (जोशी नयाँ शक्ति पार्टी, नेपालको युवा संगठनका केन्द्रीय प्रवक्ता हुन )  

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com