एक्स्ट्रा अर्डिनरी लगायत आई १४० सँगै ग्रिनकार्ड आवेदन फाइल गर्न नपाइने नियम अप्रिलमा


प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार

अमेरिकी सरकारले एक्स्ट्रा अर्डिनरी लगायतका ग्रिनकार्डका लागि आई १४० सँगै ग्रिनकार्ड आवेदन आई ४८५ सँगै फाइल गर्न नपाइने गरी औपचारिक नियम नै ल्याउने तयारी गरिरहेको छ । उक्त नियम आगामी अप्रिलमा प्रकाशित गर्ने सरकारी योजना रहेको छ ।

अमेरिकाका संघीय अध्यागमन एजेन्सीले सन् २०२० मा गर्ने अध्यागमन परिवर्तनको योजना सार्वजनिक गर्दै अप्रिलमा ग्रिनकार्डका सन्दर्भमा नयाँ नियम प्रकाशन गर्ने तयारी गरेका हुन् । अहिले भिसा बुलेटिनका कारणमात्र आई १४० का साथमा आई ४८५ फाइल गर्न नसकिने अवस्था सृजना भएपनि फाइल गर्न नपाइने नियम नै भने छैन ।

यो डसेम्बरमा आई १४० का साथमा आई ४८५ फाइल गर्न सकिने अवस्था सृजना भएको छ । तर उक्त अवस्था आगामी महिनाहरुमा पनि कायम रहन्छ वा पहिलेजस्तै आई १४० फाइल गरेर भिसा करेन्ट हुन्जेल महिनौं कुनुपर्ने अवस्था आउनेछ त्यो भने अहिले पनि भन्न सकिने अवस्था छैन ।

आई १४० फाइल गरेर आई ४८५ का लागि महिनौं कुर्ने अवस्था आउँदा अमेरिकामा भिजिटर भिसामा आएर एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्न असम्भव बनेको थियो । या त अमेरिकामा आएर फाइल गरेर स्वदेश फर्केपछि कन्सुलर प्रकृयामा जानुपर्ने अवस्था थियो या त अमेरिकामा भिजिटरबाट कुनै लामो प्रकारका भिसामा स्टाटस परिर्तन गर्नुपर्ने अवस्था थियो ।

तर अप्रिलमा प्रकाशन गर्ने योजना बनाइएको नयाँ नियमले भने भिजिटर भिसामा अमेरिकामा आएर एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्न सकिने पुरानो लुपहोललाई पूर्णरुपमा बन्द गर्नेछ । अर्थात् भिजिटर भिसामा आएर अमेरिकामा ग्रिनकार्ड फाइल गर्न लगभग असम्भव हुनेछ । यो नियम रोजगारमा आधारित पहिलो श्रेणीका लागिमात्र नभई सबै श्रेणीका लागि लागु हुनेछ । तर नियमको विस्तारित रुप भने सार्वजनिक भइसकेको छैन ।

१५ महिनापछि डिसेम्बरमा भिसा करेन्ट

१५ महिनाको अन्तरालपछि अमेरिकामा रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डको आवेदन करेन्ट भएको छ । अर्थात् एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिन चाहने व्यक्तिले डिसेम्बरमा ग्रिनकार्ड आवेदन अर्थात् आई ४८५ समेत एकसाथ फाइल गर्न पाउनेछन् ।

तर त्यसका लागि अमेरिकी सरकारको युएससीआईएसले विदेशमन्त्रालयले जारी गरेको भिसा बुलेटिन अनुशार नै आवेदन लिनेकुरालाई स्वीकार्नुपर्छ । युएससीआईएसले विदेशमन्त्रालयले जारी गरेको भिसा बुलेटिन अनुशार नै डिसेम्बरमा आवेदन लिने नलिने कुरा अझै सार्वजनिक गरिसकेको छैन ।

रोजगारमा आधारित अन्य श्रेणीको ग्रिनकार्डको आवेदन मिति पनि डिसेम्बरमा करेन्ट रहेको छ । अन्य श्रेणीको ग्रिनकार्डका लागि फाइनल एक्सन मितिसमेत करेन्ट भएका कारण त्यसका लागि कुनै समस्या नहुने देखिन्छ । किनभने युएससीआईएसले फाइनल एक्सन मितिलाई नै आवेदन मिति मानेपछि आवेदकले आई १४० का साथमा एकसाथ आई ४८५ फाइल गर्न पाउनेछन् ।

युएससीआईएसले भिसा बुलेटिनको मितिलाई मान्यता दिएमा विगतमा एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिएका र आवेदन पेन्डिङ अवस्थामा रहेकाहरुले पनि डिसेम्बरमा ग्रिनकार्ड आवेदन अर्थात् आई ४८५ फाइल गरेर वर्क परमिट लिएर काम गर्न वा एड्भान्स परोल लिएर यात्रा गर्न पाउनेछन् ।

पहिलो श्रेणीमा एक्स्ट्रा अर्डिनरी क्षमता भएकाहरु, अतिदक्ष प्रोफेसर र रिसर्चरहरु, बहु राष्ट्रिय म्यानजर र कार्यकारीहरु पर्छन् । त्यसमध्ये एक्स्ट्राअर्डिनरी क्षमताको ग्रिनकार्डका लागि आवेदक आफैले वा वकिलको सहायतामा आवेदन दिन पाउँछन् भने अरुका लागि रोजगारदाता कम्पनीले आवेदन दिनुपर्छ । एक्स्ट्रा अर्डिनरी ग्रिनकार्डका लागि रोजगारदाताको आवश्यकता हुँदैन ।

एक्स्ट्राअर्डिनरी ग्रिनकार्डको ब्याकलग के थियो ?

सन् २०१८ को अगस्त भन्दा अगाडि अमेरिकामा भिजिटर भिसामा आउनेहरुले समेत एक्स्ट्राअर्डिनरी ग्रिनकार्डका लागि आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउँथे । सामान्यतया गैरआप्रवासी भिसामा अमेरिका आएको व्यक्तिले ९० दिनभित्र आप्रवासी भिसाका लागि आवेदन दिएमा वा स्टाटस परिवर्तन गर्न खोजेमा त्यसलाई गैरकानुनी मानिन्छ । अमेरिकी सरकारले गैरआप्रवासी भिसाका नियम उल्लंघन हुन नदिन यो नियम बनाएको हो ।

त्यसैले भिजिटर भिसामा अमेरिका आउने व्यक्तिले सामान्यतया ६ महिनाका लागि अमेरिका बस्ने अनुमति पाउने हुनाले भिजिटर भिसामा नै आएको बखत ३ महिना नाघेपछि एक्स्ट्राअर्डिनरी ग्रिनकार्डका लागि आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर वर्क परमिट र यात्राका लागि एड्भान्स परोल प्राप्त गर्दै आएका थिए ।

तर सन् २०१८ को अगस्तमा अमेरिकी सरकारको भिसा बुलेटिनमा यो श्रेणीको ग्रिनकार्डका लागि फाइनल एक्सन डेट १ मे २०१६ तोकियो । युएससीआईएसले भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेटलाई नै फाइलिङ मितिका रुपमा स्वीकार गरेपछि आई १४० फाइल गर्नेहरुले सन् २०१८ को अगस्तमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नका लागि झण्डै २ बर्ष ४ महिना कुर्नुपर्ने अवस्था सृजना भयो । नयाँ आवेदन दिनेहरुले आई १४० का साथमा आई ४८५ फाइल गर्न पाएनन् ।

त्यसपछि सेप्टेम्बरमा पनि युएससीआईएसले भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेटलाई नै फाइलिङ मितिका रुपमा स्वीकार गरेपछि त्यतीबेला नयाँ आवेदन दिनेहरुले आई १४० का साथमा आई ४८५ फाइल गर्न पाएनन् । आवेदन पेन्डिंग अवस्थामा रहेका वा आई १४० स्वीकृत भइसकेका तर ग्रिनकार्ड आवेदन नदिएकाहरुलाई पनि समस्या उत्पन्न भयो । सन् २०१८ को सेप्टेम्बरमा जुन १ , २०१६ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र आई ४८५ फाइल गर्न पाउने भए ।

सन् २०१८ को अक्टोबरमा युएससीआईएसले भिसा बुलेटिनकै फाइलिङ मितिलाई मान्यता दिएको थियो । त्यो क्रम सन् २०१९ को जनवरीसम्म चलेको थियो । तर पनि झण्डै ७ महिना कुर्नुपर्ने अवस्था भने विद्यमान नै थियो । भिजिटर भिसामा आएर स्टाटस परिवर्तन नगरी फाएल गर्न सम्भव थिएन । सन् २०१९ को फरबरीमा युएससीआईएसले पुन भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई नै फाइल गर्ने मितिका रुपमा मान्यता दिएको थियो, जसका कारण पुन १४ महिनाभन्दा लामो समय कुर्नुपर्ने अवस्था आएको थियो ।

त्यसपछि गत अक्टोबरदेखि युएससीआईएसले भिसा बुलेटिनको फाइलिङ मितिलाई नै मान्यता दिदै आएपनि झण्डै तीनमहिना कुर्नुपर्ने अवस्था भने कायमै थियो । डिसेम्बरमा पनि युएससीआईएसले भिसा बुलेटिनको फाइलिङ मितिलाई नै मान्यता दिएमा एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड आवेदकका लागि खुशीको खबर हुनेछ ।

खासगरी अमेरिका आइसकेको तीनमहिना पूरा भइसकेकाहरु र एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्न चाहनेहरुका लागि यो खबर सुखद हुनेछ । उनीहरु कन्सुलर प्रकृयाका लागि फर्केर जानुपर्ने बाध्यता हुनेछैन । त्यस्तै अमेरिका आएर एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गरिसकेर पेन्डिंग अवस्थामा रहेका वा स्वीकृत भइसकेका तर आई ४८५ फाइल गर्न कुरेर बसेकाहरुका लागि पनि यो सुखद खबर हुनेछ । अमेरिका बाहिर रहेका एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड आवेदकका सन्दर्भमा भने नेशनल भिसा सेन्टरले प्रकृया अगाडि बढाउनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com