ट्रम्पको आदेशबाट प्रभावित नेपालीलाई निशुल्क परामर्श : श्री पराजुली


प्रकाशित मिति : फाल्गुन २९, २०७३ आईतबार

 

श्री पराजुली, कानुनी सेवा निर्देशक, मुनगोभन एण्ड एसोसिएट्स

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट प्रभावितहरुलाई न्युयोर्कमा रहेको मुनगोभन एण्ड एसोसिएट्सले निशुल्क परामर्श दिने घोषणा गरेको छ । यसैविषयमा सोही कानुनी फर्मका कानुनी सेवा निर्देशक श्री पराजुलीसँग कुराकानी । पराजुलीले अनुभवका आधारमा केही सुझावहरु दिनुभएको छ । यी कानुनी सल्लाहहरु होइनन् । कानुनी सल्लाहका लागि तपाईले लाईसेन्सप्राप्त कानुन व्यवसायीसँग सम्पर्क गर्नुहोला ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट प्रभावितहरुलाई तपाई कार्यरत मुनगोभन एण्ड एसोसिएट्सले निशुल्क परामर्श दिने घोषणा किन गरेको हो ?

राष्ट्रपतिको कार्यकारी आदेशपछि नेपाली समुदायमा यो आदेशबाट प्रभावित व्यक्तिहरु केही संख्यामा रहेको हामीलाई पनि अनुभव भयो । तीमध्ये अध्यागमन अदालतबाट आफ्ना मुद्दाहरु हारिसकेकाहरु अधिकांश छन् । अध्यागमन अदालतबाट मुद्दा हारेर पनि अमेरिकाभित्रै बसिरहेकाहरु यो कार्यकारी आदेशबाट प्रभावित छन् । त्यसपछि हामीले के सोंच्यौं भने व्यक्ति लामो समय बस्दै गर्दा उनीहरुको अवस्थामा परिवर्तन आएको हुनसक्छ । त्यो परिवर्तन अनुशार कुनै कानुनी रुपबाट अमेरिकामा बस्न पाउनेगरी सुविधा पाउने सम्भावना पनि रहनसक्छ ।

कतिपयको सन्दर्भमा त्यस्तो सम्भावना नरहन पनि सक्छ । त्यस्ता व्यक्ति भएको खण्डमा उनीहरुलाई कार्यालयमा सम्पर्क गर्न हामीले आब्हान गरेका छौं । उहाँहरु आइसकेपछि उहाँहरुको इमिग्रेशन अवस्था के थियो, के कारणले मुद्दा हारियो, अहिलेको अवस्था के छ लगायतका विषयमा छलफल गरिसकेपछि यदि उहाँलाई बदलिएको परिस्थीतिका कारण कुनै कानुनी उपचारबाट अमेरिकामा बस्न पाउने कानुनी अधिकार दिलाउन सकिने अवस्था रहेको खण्डमा उहाँहरुलाई सहयोग गर्नका लागि यो घोषणा गरेका हौं । त्यस्ता खालका केही व्यक्तिले फोन पनि गर्नुभएको छ । मुख्यरुपमा हामी पहिले उहाँहरुसँग प्रत्यक्ष नबसी, उहाँहरुको केसको अवस्था के थियो र के अवस्थामा छ भन्ने नबुझीकन सुविधाबारे भन्न नसकिने भएकाले छलफलपछि सुविधा उपलब्ध हुने भएमा हामी सहयोग गर्न तत्पर छौं ।

निशुल्क रुपमा नै कानुनी परामर्श गर्दा तपाईहरुलाई के फाइदा हुन्छ नि ?

हामीले आजसम्म हाम्रो कार्यालयमा अध्यागमन सम्बन्धि परामर्श लिन आउने व्यक्तिलाई शुल्क लिने गरेका छैनौं । निशुल्क नै परामर्श गर्दै आएका थियौं । यदि केस लड्नु परेमा भने त्यसको शुल्क अवश्य लिन्छौं । तर परामर्शका लागि हामीले कुनै पनि शुल्क लिएका छैनौं । तर अहिलेको कार्यकारी आदेशपछि केही जटिलताहरु देखिएका छन् । कैयन व्यक्तिले कैयन बर्ष अमेरिकामा बिताएका छन् । उनीहरुका छोराछोरीहरु अमेरिकामा जन्मिएका छन् । उनीहरुको कागजपत्र नभएपनि अमेरिकामा लगानी हुन्छ । करहरु तिरेको हुनुहुन्छ ।

यी सबै कुराहरु हुँदाहुँदै पनि कानुनी रुपमा अमेरिकामा बस्ने अधिकार रहेन, देशनिकालाका आदेश आएभने उहाँहरुलाई सल्लाह, सुझाव र परामर्श दिनेछौं । केही कानुनी आधारमा कागजपत्र पाउने सम्भावना रहेमा वा मुद्दा लड्नुपर्ने अवस्थामा आएमा चलनचल्तीको शुल्क लिनेछौं । पराशर्म भने विगतमा पनि निशुल्क दिएका छौं र आगामी दिनमा पनि निशुल्क नै दिनेछौं । कैयन व्यक्तिलाई अप्ठ्यारो परेको र कैयन व्यक्ति डराएको अवस्था रहेकाले मानवीय हिसाबले निशुल्क परामर्शको घोषणा गरेका हौं ।

न्युयोर्क बाहिर रहेकाहरुले कसरी परामर्श लिने ?

हामीले त्यस्ता व्यक्तिलाई फोनमार्फत परामर्श दिनेछौं । हाम्रा कार्यालयका प्रमुख कानुनविद थोमस मुनगोभनको मोबाइल नम्बर पनि हामीले उपलब्ध गराएका छौं । त्यसमा फोन गर्न सक्नुहुनेछ । फोन उठ्न नसकेको खण्डमा भ्वाइस मेल पनि छोड्न सकिनेछ । भ्वाइसमेल पाइसकेपछि थोमसजीले कलब्याक गर्नुहुनेछ । त्यो बाहेक हाम्रो कार्यालयको फोनमा पनि कार्यालय समयमा सम्पर्क गर्न सकिनेछ । हाम्रो कार्यालयमा तीनजना कानुनविद् हुनुहुन्छ । उहाँहरुले कानुनी सुझावहरु दिनसक्नुहुनेछ ।

तपाईहरुको कानुनी कार्यालयमा तीनजना नै कानुनविदहरु नेपाली बोल्न जान्नुहुन्न । यो अवस्थामा अँग्रेजी बोल्न नजान्ने नेपालीलाई कसरी परामर्श दिने ?

अँग्रेजी बोल्न नजान्नेहरुका लागि पनि व्यवस्था छ । अँगेजी र नेपाली दुबै बोल्ने कर्मचारीहरु भएकाले नेपाली भाषामा अनुवाद गरेर हामीले परामर्श दिनेछौं ।

राष्ट्रपतिको कार्यकारी आदेशपछि कस्तो व्यक्ति कानुनी परामर्शका लागि आएका छन् ?

जिज्ञासा र प्रश्नहरु विभिन्न खालका व्यक्तिबाट आएका छन् । ग्रिनकार्ड लिएका, नागरिकता लिएका वा एसाइलम लिएकाहरुबाट विभिन्न प्रश्नहरु आउने गर्छन् । एसाइलम पेन्डिंग रहेका वा अन्य स्टेटसमा रहेकाहरुले पनि विभिन्न प्रश्नहरु लिएर आएका हुन्छन् । राष्ट्रपतिको आदेश अनुशार देशनिकालाको सुचीमा रहेकाहरुले पनि अहिले परामर्शका लागि सम्पर्क गर्न थाल्नुभएको छ ।

न्युयोर्क र आसपासमा हुनेहरुलाई हामीले अफिसमा बोलाएर पनि परामर्श दिइरहेका छौं । अदालतले देशनिकालाको आदेश दिएका, कैयन बर्ष अमेरिकामा बसिसकेका, बाबुआमा कागजपत्र नभएका तर छोराछोरी अमेरिकी नागरिक भएका, कैयन बर्ष अमेरिकी सरकारलाई कर तिरेकाहरुले परामर्शका लागि सम्पर्क गर्नुभएको छ । देशनिकालाको आदेश पाइसकेकाहरु र टीपीएसमा बस्नुभएकाहरुले पनि स्थायी प्रकारको सुविधाका लागि सम्भावना भए नभएकोबारे बुझ्न अप्वाइन्टमेन्ट लिइरहनुभएको छ ।

राष्ट्रपति ट्रम्पको आदेशपछि कानुन व्यवसायी र कानुनी कार्यालयले त्रासको वातावरण सृजना गरेर पैसा कमाउन खोजेको आरोप पनि लाग्ने गरेको छ नि ?

कानुन व्यवसायीको आफ्नै दायीत्व र अनुशासन हुन्छ । कानुनी प्रावधानहरु हुन्छन् । उहाँहरुले अध्यागमन कानुनको अध्ययन गर्नुभएको हुन्छ । त्यसैले उहाँहरुको आफ्नै जिम्मेवारी हुन्छ । सुचना प्रवाह गर्ने क्रममा सामाजिक सञ्जालहरुबाट, फोनबाट, भिडियोबाट कहिलेकाँही कडा रुपमा आएका राष्ट्रपतिका आदेशलाई कडा रुपमा नै प्रस्तुत गर्दा र जानकारी दिंदा सामान्य व्यक्तिलाई त्रास उत्पन्न भएको हुनसक्छ । प्रस्तुतीमा केही फरक रहेहोला तर कुनै पनि कानुन व्यवसायीको नेपालीलाई त्राहीमाम बनाउने आशयका साथ केही बोल्नुभएको छैन । जिम्मेबारी बोध छ उहाँहरुलाई । नेपाली कानुन व्यवसायीहरु सबै आदरणीय हुनुहुन्छ । उहाँहरुले बोलेका कुरा र दिएका अन्तरवार्ताहरुमा त्राहिमाम बताउने वातावरण मैले देखेको छैन ।

समाजमा विभिन्न खालका व्यक्ति हुन्छन्, कसैलाई कसैको आलोचना गर्न मनलाग्न सक्छ । तर जिम्मेबार नेपाली कानुन व्यवसायीबाट त्यस्तो भएको छैन । उहाँहरुले गर्नुहुन्न पनि । केही व्यक्तिले विरोधका लागि गरेको विरोधमात्र हो । कानुन व्यवसायीबाट सही सुचना प्रवाह गर्ने क्रममा यसबाट त्रसित भएका कारण यस्तो माहौल सृजना भएको हो । राष्ट्रपतिका आदेशहरु निकै कडा कडा छन् । अमेरिकी संचारमाध्यमहरुदेखि नेपाली संचारमाध्यमहरुसम्म यसबारे समाचारहरु आइरहेका छन् । सामाजिक सञ्जालहरुमा मात्र आएका अफवाहका पछि लाग्नुभएन । जिम्मेबार संचारमाध्यमहरु र सरकारी श्रोतहरुबाट आएका कुराहरुलाईमात्र विश्वास गर्नुपर्छ । अमेरिकी सरकारका आधिकारिक डकुमेन्टहरु पनि पढ्न सकिन्छ । कुनै कन्फ्युज भएमा कानुन व्यवसायीलाई सम्पर्क गर्नुपर्छ ।

कस्ता खालका नेपालीहरु ट्रम्पको कार्यकारी आदेशबाट प्रभावित भएका छन् तपाईहरुको अनुभवमा ?

कानुनी कागजपत्र नभएका, भिसा सकिएर अमेरिकामा बसिरहेकाहरु, अदालतबाट देशनिकालाको आदेश पाएर पनि अमेरिकामा बसिरहेकाहरु, आपराधिक कृयाकलापमा संलग्नहरुलाईमात्र समस्या छ । कसैको एसाइलम अदालतमा पेन्डिंग छ भने समस्या छैन । भिसा अद्यावधिक हुनेलाई पनि समस्या छैन । विद्यार्थी भिसामा पढिरहेकाहरुलाई पनि समस्या छैन । टीपीएस हुनेहरुलाई पनि समस्या छैन । एचवान भिसा हुनेहरुलाई पनि समस्या छैन ।

मात्र त्यो व्यक्तिलाई समस्या छ, जसलाई अदालतले विगतका दिनहरुमा अमेरिकाबाट देशनिकालाको आदेश दिएको छ र त्यसको अपिल वा पुनरावेदन गरिएको छैन । देशनिकालाको आदेश अन्तिम आदेश भइसकेको अवस्थामा त्यसलाई अहिलेको प्रशासनले कार्यान्वयन गर्न खोजिरहेको छ । कानुनी रुपमा अमेरिकामा बस्न पाउने कुनै कागजात छैन भने एकपटक छलफल गरौं । तपाईका सम्पूर्ण स्थीतिहरु, इतिहासदेखि अहिलेसम्मका गतिविधिहरु, सबै कुराको छलफलपछि समस्याको समाधान निस्कन सकेमा त्यही आधारमा हामी कानुनी रुपमा सहयोग गर्न चाहन्छौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com